उदयपुर सिमेन्टका महाप्रबन्धक गोपी न्यौपानेले पदभार सम्हाले, यस्ता छन् आगामी योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2021 | 10:42:46 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपी न्यौपानेले पदभार सम्हालेका छन्। यससँगै उदयपुर सिमेन्टले दुई बर्षपछि नयाँ महाप्रबन्धक पाएको छ। 

महाप्रबन्धकको पदभार सम्हाल्दै न्यौपानेले सबैभन्दा पहिला कच्चापदार्थ, पेकिंग मेटेरियल्स, मर्मतसम्भार लगायतका कुराहरुमा ध्यान दिई पूर्ण क्षमतामा उद्योग संचालन गर्ने, थप क्षमता वृद्धिको लागि अध्ययन गराउने, बजार ब्यबस्थापन र ब्राण्डिङ्गमा जोड दिने, लागत कम गर्ने उपायहरुको खोजी गरि अन्य उद्योगहरुसंग प्रतिष्पर्धी बनाउने मूख्य योजना रहेको जनाएका छन्।  

यस बाहेक बैकल्पिक उर्जा, उद्योगको नाममा रहेको जग्गाको संरक्षण र अधिकतम उपयोग गर्ने तर्फ पनि योजना बनाएको उनले जनाएका छन । वातावरण प्रदूषण हुन नदिन कोइलामा बायोमास प्लेटहरुको मिश्रण गर्न सकिने तर्फ पनि अध्ययन  गरि लागतको आधारमा उपयुक्त देखिएमा प्रयोग गर्न सकिनेगरी संभाव्यता अध्ययन गराईने योजना रहेको उनको भनाई छ। 

यस बाहेक उद्योगका कामदार र कर्मचारीहरुलाई उत्प्रेणात्मक सीप अभिवृद्धिमुखी तालीम संचालन गर्ने, नयाँ प्रविधिमैत्री जनशक्ति तयार गर्ने लगायतका कामहरू गर्ने योजना रहेको उनले जानकारी दिए। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदको बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो। मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपाने सहित तीनजनालाई सिफारिस गरेकोमा न्यौपाने नियुक्त भएका हुन्।  समितिमा पूर्वसचिवहरु कृष्णहरि बास्कोटा, रामेश्वर खनाल, नारायण विडारी समेत थिए।  

यसपटक उद्योग मन्त्रालयले महाप्रबन्धक पदको लागि परेका दरखास्तहरुको मुल्यांकन गर्नका लागि पेस भएका कार्ययोजनालाई कोडिङ्ग डिकोडिङ्ग गरि लोकसेवा आयोग मार्फत जाँच गरेको थियो। व्यवसायिक कार्य योजनाको प्रस्तुतीकरण गराउंदा विज्ञको रुपमा रामेश्वर खनाल लगायत पूर्व सचिवहरुलाई समेत मुल्यांकनकर्ताको रुपमा राखिएको थियो । 

त्यसैगरी पदाधिकारी नियुक्ति सम्बन्धि निर्देशिका अनुसार अनुभव र थप शैक्षिक योग्यताको समेत अंक दिंदा उत्कृष्ट ठहर भएका तीन जनाको नाम मन्त्रीपरिषदमा सिफारिस हुंदा न्यौपानेको नाम एक नंबरमा थियो। 

माछापुच्छ्रे बैंकका संचालक रहेका न्यौपानेसँग संचालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ। न्यौपानेसँग चौधरी ग्रुप जस्तो प्रतिष्ठित संस्थामा महाप्रबन्धकको रुपमा दुई दशक लामो समय काम गरेको अनुभव छ। 

नेपाल चार्टड एकाउन्टेन्ट संघका सदस्य समेत रहेका न्यौपाने नेपाल बार एसोसिएसनका सदस्य समेत हुन्। उनी नेपाल अटो मोबाइल्स संघ नाडाका महासचिव समेत भईसकेका छन्।  त्यस्तै न्यौपाने नागरिक ट्रस्ट फन्ड, नागरिक् कम्युनिटी टिचिङ अस्पताल जस्ता सामाजिक संस्थाहरुमा आबद्ध छन्।   उनि शिक्षा स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत व्यवसायिक रुपमा आबद्ध छन्। 

न्यौपाने अर्थ बिज्ञ, लेखापरीक्षक तथा कानुन ब्यबशायी समेत रहेका न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पुर्वान्चल विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्। 

उदयपुर सिमेन्टमा न्यौपानेको कार्यकाल ४ बर्षको रहनेछ।  सुरेन्द्र कुमार पौडेल २०७५ साल पुस २४ गते नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उदयपुर सिमेन्टमा उक्त पद खाली थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved