

मिथिला लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुन: सत्यदेव राउत नियुक्त भएका छन् । कम्पनीको जेठ २ गते सोमवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा पुनः सत्यदेव राउतलाई नियुक्त गरेको हो । यो संगै राउतको कार्यकाल पुनः ४ बर्षको लागि थपिएको छ ।
मिथिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राउतले विगत ४ बर्षमा मधेश प्रदेशका सबै जिल्लामा शाखा सञ्जाल पु¥याई ४४ वटा शाखा मार्फत ३२ हजार ग्राहक सदस्यलाई आर्थिक रुपमा मात्र नभई सामाजिक तथा स्वास्थ्य क्षेत्रमा समेत सेवा गर्दे आएको बताए । जनताको लागि घरदैलोमा गई वित्तीय सेवा प्रवाह गर्नुको साथ साथै समय समयमा स्वास्थ्य शिविर, आँखा शिविर, तरकारी खेती जस्ता कार्यमा विशेष सहयोग पु¥याउँदै आएकोमा हाल नेपाल सरकारका सम्वन्धीत निकायसँग समन्वय गरी आफ्ना १०,००० ग्राहक सदस्यहरुलाई बैकल्पीक उर्जा कार्यक्रम अन्तर्गत विधुतिय चुलो वितरण गर्ने काम गरिरहेको र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ब्यबसाय गर्न चाहने युवा ग्राहकहरुलाई व्यवसाय गर्न सुलभ व्याजदरमा कर्जा प्रवाह गरिरहेको जानकारी दिए ।
उनले आगामी कार्यकालमा नेपाल सरकारसँग समन्वय गरी विभिन्न किसिमका सामाजिक तथा उत्पादन मुलक कार्यक्रमहरु गरि संस्थामा आवद्ध भएका विपन्न बर्गका मानिसलाई आर्थिक रुपले सक्षम बनाउन सहयोगि भुमिका खेल्ने र मिथिला लघुवित्त वित्तीय संस्थालाई देशकै उत्कृष्ट वित्तीय संस्थाको रुपमा पहिचान दिलाउने लक्ष्य रहेको जानकारी गराए ।
वि.सं. २०६६ सालमा स्थापना भएको वित्तीय संस्थाले २ अर्व ८ करोड लगानी रहेको छ भने ६४ करोड बचत परिचालन गरि मधेश प्रदेशको सबै भन्दा अव्वल प्रादेशिक स्तरको वित्तीय संस्थाको पहिचान राखेको छ ।