अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री पौडेलले धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन) को अध्यक्षको नियुक्ति छिट्टै हुने बताएका छन् ।
उनले महिला आर्थिक पत्रकार संघ (फेजा) सँग भएको छलफलमा यस्तो बताएका हुन्।साथै उनले कानून सम्मत र पारदर्शी ढंगले योग्य व्यक्ति धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त हुने बताउँदै यसका लागि सरकारले छिट्टै प्रक्रिया अगाडि बढाउने पनि बताएका छन् ।
उनले भने, ‘सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया यति जटिल (कम्प्लिकेटेड) हुनु हुँदैनथ्यो। म अर्थमन्त्री भएर आईपुग्दा यो एउटा अन्योलको अवस्थामा ग्रुज्रिएको थियो। अब कानूनसम्मत र पारदर्शी ढंगले योग्य व्यक्ति बोर्डको अध्यक्षमा नियुक्ति हुन्छ। यत्ति नै समय भन्ने छैन तर छिटोभन्दा छिटो प्रक्रिया अगाडी बढ्छ।’
उनले पूँजीबजार वास्तवमै अर्थतन्त्रको ऐना भएको उल्लेख गर्दै समग्र पूँजीबजारको विकासको सन्दर्भमा सरकारले पारदर्शि र परिपक्व ढंगले काम गर्ने बताए।
यसैगरी, उनले वर्तमान समयमा बजेटको कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी आफूलाई प्राप्त भएको पनि बताए । उनले राजस्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको पनि बताएका छन् ।
‘अहिले बजेटमा जुन राजस्वको लक्ष्य निर्धारण गरिएको छ, त्यसलाई पुरा गर्न कडा मेहनतको आवश्यकता छ। यहाँ सबै प्रकारका त्रुटिहरु, कमी कमजोरीहरु छन् र त्यसलाई सच्चाउनुपर्ने छ’,अर्थमन्त्री पौडेलले भने।
विगतमा राजस्वको लक्ष्य पूरा हुन नसकेको अनुभवले आगामी दिनमा नयाँ लक्ष्य प्राप्त गर्न थप मेहनतको आवश्यकता रहेको उनले बताए।
अर्थमन्त्री पौडेलले विगतमा करका दरहरू हेरफेर गर्दा त्यसको प्रभाव राजस्व संकलनमा के कस्तो परेको हो भनी अध्ययन अनुसन्धान गरेर समीक्षा गर्ने योजना रहेको पनि सुनाए। उनले यस्तो योजनाले राजस्व संकलनलाई प्रभावकारी बनाउने र अर्थतन्त्रलाई स्थिर राख्न मद्दत गर्ने बताएका छन् ।