ग्लोबल आइएमई बैंकको सीईओ रेग्मीद्वारा पदबहाली, करिब ३० वर्ष लामो अनुभव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2024 | 04:12:02 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पद बहाली गरेका छन् ।

पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले  कम्पनीको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका थिए ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव छ । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ्ग करिअर शुरु गरेका रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

कम्पनीमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।

नवनियुक्त रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।शपथ कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष ढकालले लामो समय बैंकिङ्ग क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सृदृढ हुने विश्वास व्यक्त गरे ।

उनले नयाँ प्रमुख कार्यकारी अधिकृत रेग्मीको नेतृत्वमा बैंकको सेवालाई समयसापेक्ष बनाउँदै आम सेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ्ग प्रदान हुने बताए ।

पद बहाली गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महशुस भएको बताए ।

उनले आफ्नो कार्यकालमा बैंकको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरु, नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ्ग सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा बैंकको सम्मानजनक उपस्थितीलाई अझ बलियो बनाउँदै लैजाने बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved