गभर्नर सिफारिस समितिमा सदस्य नतोकिएको मन्त्री र सचिवको स्पष्टोक्ति, सदस्यलाई छैन खबर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2025 | 09:01:09 PM मा प्रकाशित

गभर्नर सिफारिस समितिमा सदस्य नतोकिएको विषयमा अर्थमन्त्री र अर्थसचिवले स्पष्टोक्ति दिएका छन्। अर्थमन्त्री विष्णु पौडेल र अर्थसचिव घनश्याम उपाध्यायले समितिमा दुई जना सदस्य नतोकिएको बताएका छन्।

अर्थमन्त्री पौडेलले सदस्य तोकिएपछि अर्थ मन्त्रालयका प्रवक्ताद्वारा औपचारिक जानकारी बाहिरिने बताएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि गभर्नर सिफारिस समितिमा दुई सदस्य तोकिएको छैन भन्ने पुष्टि गरेका छन्।

अर्थविद् डा. विश्व पौडेलले समितिमा आफू सदस्य रहेको कुनै आधिकारिक जानकारी नआएको बताएका छन्। केही सञ्चारमाध्यमले पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. पौडेललाई सदस्य नियुक्त गरिएको समाचार प्रकाशित गरे पनि यसको कुनै पुष्टि हुन सकेको छैन।

फागुन २१ को मन्त्रिपरिषद बैठकले गभर्नर सिफारिस समिति गठन गरे पनि अहिलेसम्म सदस्य तोकिन नसक्नुले गभर्नर नियुक्ति प्रक्रिया झनै पेचिलो बनेको छ। बिजपाटीलाई प्राप्त जानकारीअनुसार सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसबीच गभर्नर पदमा कसको दाबी रहने भन्ने विषयमा सहमति जुट्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन।

एमाले नेतृत्वको अर्थ मन्त्रालय रहे पनि नेपाली कांग्रेसले सिफारिस समितिमा आफ्नो उपस्थिति माग गरेपछि समिति गठन भएर पनि दुई सदस्य चयन हुन नसकेको बताइएको छ। एमाले निकट नेताहरू गभर्नर पदमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् भने कांग्रेस नेताहरूले शक्ति बाँडफाँडको आधारमा सहमति हुनुपर्ने माग राखेका छन्।

एमालेले निर्वाचन आयोग आफ्नो भागमा पर्ने भन्दै गभर्नर पद कांग्रेसलाई दिनुपर्ने दबाब कांग्रेसले दिएको स्रोतले जनाएको छ। तर, एमालेले गभर्नर पद आफ्नो भागमा रहनुपर्ने अडान राख्दै आएको छ।

यसैबीच, ‘पावर ब्रोकर’ हरू साझा उम्मेदवार बनाउन सक्रिय रहेको दाबी गरिएको छ। स्रोत भन्छ, "दुवै दलका उच्च नेताहरूको स्वार्थ मिलाउने गरी पावर ब्रोकरहरूले साझा उम्मेदवारको लबिङ गरिरहेका छन्। यदि यस्तो स्थिति कायम रह्यो भने योग्य र अनुभवी व्यक्ति भन्दा सम्झौतापरक उम्मेदवार गभर्नर बन्ने सम्भावना बढेको छ।"

गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २५ गते सकिँदैछ। उनले चैत १० गतेसम्म नियमित कार्यालय आएर चैत २० गतेसम्म विदामा बस्ने र अन्तिम पाँच दिन काम गरेर गभर्नर पदबाट विदा लिने योजना बनाएको बताइएको छ।

यसअघि : 

- पेचिलो बन्दै गभर्नर नियुक्ति प्रक्रिया, शक्ति सन्तुलनको नाममा हाबी हुँदै 'पावर ब्रोकर'

अघि बढ्यो गभर्नर नियुक्ति प्रकृया: अंकमा खेल्ने भन्दा जनभावना बुझ्ने 'अर्थविद' मा सरकारको जोड

गभर्नर नियुक्तिमा अध्यादेशको अन्योल, राष्ट्र बैंक केही समय निलम ढुंगानाको नेतृत्वमा


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved