नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रियाअन्तर्गत बुधबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सम्पन्न भएको छ।
सर्टलिस्ट भएका पाँचै उम्मेदवार चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालले अर्थ मन्त्रालय पुगेर अन्तर्वार्ता दिएका छन्। उम्मेदवारहरूले नेप्सेको भावी सञ्चालन, सुधार योजनाहरू, सेयर बजारको प्रवर्द्धन तथा लगानीकर्ताहरूको हित संरक्षण सम्बन्धी आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्।
अब सिफारिस समितिले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणको मूल्यांकन गर्दै तीन जनाको नाम मन्त्रिपरिषद्को अनुमोदनका लागि सिफारिस गर्नेछ। अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ, जसले तीन जनामध्ये एक जनालाई नेप्सेको नयाँ सीईओ नियुक्त गर्नेछ।
नेप्सेको नेतृत्वका लागि यसपटक उच्च प्रतिस्पर्धा देखिएको छ भने लगानीकर्ताहरू नयाँ नेतृत्वको निर्णयलाई प्रतीक्षामा रहेका छन्। सेयर बजारको उतारचढावबीच नयाँ सीईओको नियुक्ति कसरी प्रभाव पार्नेछ भन्ने विषयमा बजारमा चासो बढेको छ। नयाँ नेतृत्वबाट सुधारको अपेक्षा गरिए पनि यसले नेप्सेको भावी नीतिगत दिशा कतातिर मोड्नेछ भन्ने विषय महत्त्वपूर्ण रहनेछ।