सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा सेटिङको पराकाष्ठा देखाएको छ। सरकारले नियुक्तिका लागि तोकिएको सामान्य मापदण्ड समेत नपुगेका व्यक्तिलाई नेप्सेको सीइओ नियुक्त गरेर सेटिङको पराकाष्ठा देखाएको हो।
सीइओ नियुक्तिको लागि 'धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ (क)' को मापदण्ड पुगेको हुनुपर्ने भएपनि सरकारले यो मापदण्डलाई बेवास्ता गरेर नारदकुमार लुइँटेललाई सीइओ नियुक्त गरेको हो।
धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ (क) अनुसार, कार्यकारी प्रमुखको लागि धितोपत्र बजारको कार्यकारी प्रमुख अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य कानून बिषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा वित्तिय क्षेत्र वा व्यवस्थापन सम्बन्धित कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको योग्यता तोकेको छ।
तर सीइओ नियुक्ति भएका लुईटेलसंग तारागाउँ विकास समितिको सदस्य सचिव भएर काम गरेको बाहेकको अनुभव नभएको पाइएको छ। २०७८ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट उनलाई तारागाउँको सदस्य सचिवमा नियुक्ति गरेका थिए । उनी त्यसअघि पनि एक कार्यकाल सदस्य सचिव भइसकेका थिए ।
तर अर्थमन्त्रालय आफैंले सीइओ नियुक्तिको लागि तोकेको मापदण्डको छेउछाउ समेत नपुगेका लुइँटेललाई सरकारले सीइओ नियुक्त गरेर सेटिङको पराकाष्ठा देखाएको छ। लुइँटेलको यस नियुक्तिले उनको योग्यता बिरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने निश्चित जस्तै देखिएको छ। सरकारले गठन गरेको सिफारिस समितिमाथि नै अधिकारको दुरुपयोग गरेको आरोपमा उजुरी पर्न सक्ने धेरै सम्भावना देखिएको छ।
लुइँटेल बिरुद्द पनि बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको झैं उजुरी पर्न सक्ने संकेत समेत देखिएको छ।अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड २०७३ विपरीत हुने गरी नियुक्त गरिएको भन्दै ओझा विरुद्द उजुरी परेको हो। बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि नक्कली प्रमाणपत्र देखाएर नियुक्ति पाएको आरोप छ।
सीईओ छनोटका लागि अन्तिम पाँच जना उम्मेदवारको सूचिमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका थिए।