
वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ (NAFEA) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा भुवनसिंह गुरूङ अध्यक्षमा निर्वाचित भएका छन्। लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिएका गुरूङले नरेश गेलाललाई ६१ मतान्तरले पराजित गर्दै ४२८ मत प्राप्त गरे। गेलालले ३६७ मत ल्याएका थिए।
गुरूङ गुरूङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक तथा संघका पूर्व द्वितीय उपाध्यक्ष समेत हुन्। विजयी भएसँगै गुरूङले संघ कुनै व्यक्तिगत वा समूहको स्वार्थमा होइन, सम्पूर्ण व्यवसायीहरूको हितमा क्रियाशील हुने बताए।
गुरूङ नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली, महासचिवमा महेशकुमार बस्नेत, सचिवमा कुन्छा दोर्जे डिमडुङ विजयी भएका छन्। कोषाध्यक्षमा भने विपक्षी प्यानलकी धनमाया सिञ्जाली विजयी भइन्। बस्नेत र गुरूङ दुवैले ६१ मतको अन्तरले चुनाव जिते।
निर्वाचित सदस्यहरूमा रेखा शर्मा (४४७), कृष्ण ढकाल (४४२), भरत सापकोटा (४३५), राज लामा तामाङ (४२७), सुवर्ण लामा (४०९), हिमा गुरूङ (३४९), रमा खड्का (३८८), देवीप्रसाद गिरी (३७७), विद्यालक्ष्मी बज्राचार्य (३५३) र सुमनराज पाण्डे (३४३) रहेका छन्।
निर्वाचन सम्पन्न भएसँगै शनिबार बिहान पद तथा गोपनियताको शपथ गराइएको थियो। नव निर्वाचित अध्यक्ष गुरूङले सबै व्यवसायीलाई समेटेर सहकार्यमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन्। गुरूङ प्यानलले १३ पदमा जित हात पार्दा विपक्षी समूहले ४ पदमा विजय प्राप्त गरेका छन्।