
नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय खुमलटारमा बुधबार पुँजी बजारका तीन प्रमुख नियामक निकायका नेतृत्वबीच समन्वयात्मक छलफल सम्पन्न भएक्ँे छ। भेटवार्तामा सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रबन्ध सञ्चालक प्रविन पण्डा सहभागी भएका थिए।
छलफलमा नेपालमा पुँजी बजारको दिगो विकास, प्रणालीहरूको आधुनिकीकरण, लगानीकर्ताको संरक्षण तथा बजारको पारदर्शितासम्बन्धी विभिन्न पक्षमा गहन विचार–विमर्श भएको थियो। सहभागी तीनै निकायका प्रमुखहरूले साझा प्रयास र दीर्घकालीन रणनीतिका माध्यमबाट बजार सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
भेटवार्तामा आगामी दिनमा यस्ता समन्वयात्मक छलफललाई नियमित रुपमा अघि बढाउने र तीनवटै संस्थाबीच स्पष्ट कार्य विभाजनका साथ सहकार्यलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। छलफलमा सेबोनको नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठ र सुपरिवेक्षण विभाग प्रमुख रूपेश के.सी. को पनि सहभागिता थियो।