
पदम थापाले अमेरिका स्थित एक कम्पनीमा रोजगारीको लागि आबेदन दिए। आबेदन दिएको २५ दिनपछि उनलाई नेपाल स्थित अमेरिकी दुतावासको ल्याण्ड लाइन नम्बरबाट फोन आयो। नेपाल स्थिति अमेरिकी दुतावासबाट फोन गर्ने व्यक्तिले फलानो कम्पनीमा कामको लागि आबेदन दिनुभएको रहेछ अन्तर्वार्ताको लागि आउनुहोला भनेर थापालाई भने।
लगत्तै कामको लागि आबेदन दिएको कम्पनीबाट पनि अन्तर्वार्ताका लागि नेपाल स्थित अमेरिकी दुतावासले समय दिएको छ त्यसको लागि तयारी गर्नु भनेर थापालाई फोन आयो। र थापाले सोहिअनुसार अन्तर्वार्ताको लागि आवश्यक प्रकृयाका लागि अमेरिका स्थित कम्पनीका प्रतिनिधिले भने बमोजिम कागजात र पैसा बुझाए।
अन्तर्वार्ता सरेको र अन्य कागजात मिलाउनुपर्ने भन्दै थापासँग बिभिन्न शिर्षकमा पटक पटक पैसा मागियो र थापाले पनि पैसा बुझाउदै गए। पटक पटक पैसा बुझाउँदा पनि अन्तर्वार्ताको कुनै ठेगान नभएपछि थापाले अमेरिका स्थित कम्पनीमा सम्पर्कको प्रयास गरे। तर पटक पटकको प्रयासका कारण अमेरिका स्थिति कम्पनीको प्रतिनिधिले थापासंगको सम्पर्क टुटाए।
नियमित सम्पर्कमा रहेको कम्पनीको प्रतिनिधि सम्पर्क टुटाएपछि थापाले आफु ठगिएको महसुस गरे। र नेपाल प्रहरी अपराध अनुसन्धान शाखा, मिनभवनमा सम्पर्क गरे। र प्रारम्भिक अनुसन्धानमा नै थापा आफु लुटिएकोमा यकिन भए।
नेपाल स्थित अमेरिकी दुतावासको ल्याण्डलाइनबाट फोन आएकाले आफुलाई बिश्वास लागेर अन्तर्वार्ता तथा अन्य प्रकृयाको लागि ढुक्क भएर पैसा पठाएको थापाको भनाई छ।
"कामको लागि डकुमेन्ट बुझाएको २५ दिनपछि तपाईले कामको लागि फलानो कम्पनीको लागि आबेदन दिनुभएको रहेछ अब अन्तर्वार्ताको लागि समय लिनुहोला र त्यसको लागि आवश्यक प्रकृया पुरा गर्नुहोला भनेर नेपाल स्थिति अमेरिकी दुतावासबाट फोन आउँदा कसले बिश्वास नगर्ला र ?" थापा भन्छन्, "अहिलेपनि मलाई बिश्वास नै लागेको छैन, नेपाल स्थित अमेरिकी दुतावासको पनि फोन यसरी प्रयोग हुँदो रहेछ भनेर। "
......................................................................................................................................................................................
यो घटना एउटा प्रतिनिधि घटना मात्रै हो। पछिल्लो समय यसरी लुटिएर सम्पर्कमा आउनेको संख्या ७५ पुगेको छ। पदम थापाले झन्डै ६ लाख डुबाउदा अरु पदमहरुले पनि यसरी नै ६ देखि १५-२० लाखसम्म डुबाएका छन्।
अमेरिकी दुतावास देखाएर लुट्ने र लुटिनेको संख्या बढिरहेपनि यसबारे जवाफदेहि बन्नलाई स्वयम अमेरिकी दुतावास तयार देखिदैन। दुतावासको फोन 'स्पुफिंग' भएको दुतावासका प्रतिनिधि सुवास श्रेष्ठको दाबि छ।
कुनै सफ्टवेयर प्रयोग गरेर 'स्पुफिंग' गर्न मिल्ने र यो घटनामा पनि त्यहि भएको उनको दाबी छ। 'स्पुफिंग' भनेको कल रिसिभ गर्नेको कलर आइडीमा आफुले चाहेको नम्बर देखाउन मिल्ने प्रविधि हो।
७५ जना लुटिंदा पनि दुतावासले घटना सार्वजनिक गरेन किन ?
यसरी लुटिएर सम्पर्कमा आउनेको संख्या ७५ पुगेपनि अमेरिकी दुतावास आफैंले यो घटना सार्वजनिक गरेर आम सर्वसाधारणलाई सचेत गर्न किन चाहेन भन्ने आफैंमा ठुलो प्रश्न उब्जिएको छ।
अर्कोतर्फ अमेरिकी दुतावासको ल्याण्डलाइनबाट त्यहाँका प्रतिनिधिले फोन गरेर आफु अमेरिकी दुतावासबाट हो भन्दा त्यसको बिश्वास गर्ने कि नगर्ने भन्ने अर्को प्रश्न उब्जिएको छ।
यस घटनालाई 'स्पुफिंग' कल भनेर अमेरिकी दुतावास जिम्मेवारीबाट भाग्न खोजेपनि यस्तो कल त्यहाँकै प्रतिनिधिले गरेको होइन भन्ने बलियो आधार पनि दुतावासले दिन सकेको छैन।
तर नेपाल स्थिति अमेरिकी दुतावासका प्रतिनिधि सुवास श्रेष्ठले भने यो घटना बर्षदिन अगाडी देखि नै भईरहेको र आफुहरुले यसबारे केन्द्रिय अनुसन्धान ब्युरोलाई जानकारी पनि दिएको बताएका छन्।
के भन्छ केन्द्रिय अनुसन्धान ब्युरो ?
यस बिषयमा केन्द्रिय अनुसन्धान ब्युरोसँग बुझ्दा यस्तै घटना यस अगाडी पनि घटेको र उक्त घटनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ समेत परेको जानकारी दिएको छ।
यस अगाडीको घटनामा पनि उनीहरुले अमेरिकी दुतावासको ल्याण्डलाइन फोन नम्बर प्रयोग गरेर नै नेपालका धेरै मान्छेलाई ठगेको केन्द्रिय अनुसन्धान ब्युरोका सहायक प्रवक्ता एसपी कमल थापाले बिजपाटीलाई जानकारी दिए।
एसपी थापाकाअनुसार यस अगाडी पनि यस्तै शैलीमा केहि नेपालीहरु लुटिएको र यस घटनामा संलन तीन जना पक्राउ परेका छन्। यो पेशेवर र व्यवस्थित ठगि भएकाले यसको गिरोह र संजाल ठुलो भएको उनको भनाई छ।