'पार्टनरले नै अपहरण गरेर करङ भाँचिदिए, फिरौतीबापत १५ लाखको चेक दिएर उम्किएँ'

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 07, 2022 | 12:33:17 PM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगरका एक उद्योगीले आफूलाई आफ्नै पार्टनरले बन्धक बनाएर फिरौती लिएको भन्दै कानूनी कारवाहीका लागि अघि बढेका छन् ।

विराटनगरका प्रतिष्ठित उद्योगी अरुणकुमार राठीले आफूसमेत सञ्चालक रहेको नेपाल टाइम्स मिडिया प्रा.लि.का सञ्चालक साझेदार शहेन शाह भनिने अब्दुल खताबले आफूलाई अपहरणको शैलीमा बन्धक बनाएर ३० लाख फिरौती लिएको गुनासो गरेका हुन् ।

सिराह–४ स्थायी घर भई विराटनगर–६ बस्ने खताबले राठीलाई मंगलबार साँझ फोन गरेका थिए । नेकपा एमालेबाट प्रदेश नम्बर १ को समानुपातिक प्रदेश सांसदको बन्दसूचीमा मधेशी अल्पसंख्यकमा पहिलो नम्बरमा नाम भएकाले प्रदेश सांसद बन्ने पक्का भएको र अब आफ्ना योजना र भिजन सहितको भिडियो बनाउनुपर्ने भन्दै खताबले प्रस्ताव गरे । आफ्नै पार्टनरबाट प्रस्ताव आएको भन्दै राठीले पनि स्वीकार गरे ।

मंसिर १४ गते बुधबार बिहान भिडियो खिच्ने समय तय भयो ।

बुधबार बिहान राठी आफ्नै गाडीमा नेपाल टाइम्सको कार्यालयमा जाने तयारी गर्दै थिए । उनका अनुसार ठिक त्यसै समयमा खताब स्कुटर लिएर घरमै आइपुगे । राठीको भनाइ अनुसार घरमै स्कुटरमा आइपुगेका उनले गाडी लैजान नपर्ने र आफ्नै स्कुटरमा हिड्न अनुरोध गरे । त्यसपछि राठी खताबको स्कुटरमा बसे ।

खताबले राठीलाई नेपाल टाइम्सको मिडियाको नयाँ घरमा पु¥याए । त्यहाँ राठीको भिडियो सुटिङ भयो । राठीलाई खताबले नै यो यो कुराहरु बोल्नु भनेर सिकाए ।

त्यसपछि सूर्योदयको सिनमा अर्को फुटेज खिच्ने भन्दै विराटनगरको सरौचियास्थित नेपाल टाइम्सको पुरानो कार्यालयमा लिएर गए । त्यहाँ पनि भिडियो खिचियो ।

त्यसपछि बाहिरको आवाज नआउने ‘साउण्ड प्रुफ रुम’मा अर्को भिडियो खिच्ने भन्दै खताबले आफूलाई माथिल्लो तलामा लगेको दाबी राठीको छ । साउण्ड प्रुफ रुममा खताबका अर्का एक सहयोगी रहेछन् । जसलाई राठीले आफूले नचिनेको र अहिले थाहा पाउँदा उसको ड्राइभर भएको पत्ता लागेको बताएका छन् ।

उक्त कोठाको सोफामा राखेर राठीको अर्को पनि भिडियो खिचियो ।

तर, भिडियो खिचे लगत्तै खताबले अर्का मान्छेलाई केही इशारा गरेर २ जना मिलेर आफ्नो हातमा तारले बाँध्न लागेको दाबी राठीको छ ।

‘छेउमा जेआइ वायर पनि राखेको रहेछ, त्यसैले २ जना मिलेर बाँध्न थाले’ राठीले बिजपाटीसँग भने, ‘मैले प्रतिकार गर्न खोजेँ, तर खुट्टा पनि बाँध्न थाले । हल्ला गरे गोली हान्दिन्छु भने । सोफामा हात र खुट्टा बाँधेपछि मेरो काम सकियो, अब थर्ड पार्टीलाई जिम्मा लगाइदिन्छु भने ।’

राठीले प्रतिकार गर्न खोज्दा आफ्नो छाती सोफामा बजारिएर आफू ढलेको गुनासो पोखेका छन् ।

त्यसपछि खताब बाहिर निस्किएर अर्को व्यक्तिसँग कुरा गर्न थाले ।

‘नेपालीमै कुरा गरे’ राठी भन्छन्, ‘उसले क्यामेरा ब्याग भुइमा नराखेको हुनाले यो मान्छेसँग गोली हुन सक्छ भन्ने लाग्यो । त्यसपछि मैले प्रतिकार पनि नगर्ने र अर्को व्यक्तिलाई जिम्मा लगाउने कुरा पनि नगर, तिम्रो डिमाण्ड के हो म पूरा गर्दिन्छु भनेँ बाँच्नको लागि ।’

उनले आफू सुगरको बिरामी भएकाले सुगर डाउन हुन लागेको जनाएपछि खताबले बिस्कुट र पानी मगाएर खुवाएको पनि बताए ।

‘मैले पटक पटक पैसा दिएकै थिएँ, सुरुमा ५ लाख रुपैयाँ सापटीको नाममा दिएको थिएँ’ राठीले बिजपाटीसँग भने, ‘त्यसपछि अर्को ५ लाख पनि दिएको छु, दशैँको बेलामा तलब खुवाउने पैसा भएन भनेपछि मैले डेढ लाख पनि दिएको थिएँ । यसरी पटक पटक पैसा दिएकै छु, तिमी किन यसो गर्छौ भनेर सोधेँ ।’

राठीका अनुसार खताबले कम्पनीको नाममा गाडी किन्न खोजेका थिए । तर, अहिले पैसा नभएको भन्दै राठीले अस्वीकार गरेका थिए ।

‘उसले तेस्रो व्यक्तिको जिम्मा लगाइदिन्छु भनेपछि मैले म नेपाल टाइम्स जाँदैछु भनेर घरमा भनेर आएको छु, मलाई केही भयो भने तिमी पनि त फस्छौ नि भनेपछि उ नेगोसियसनमा आयो’ राठी थप्छन्, ‘उसले सुरु नै १ करोडबाट गर्यो ।’

राठीले १ करोड दिन नसक्ने बताएपछि बार्गेनिङ चलेको र अन्तिममा ३० लाखमा कुरा मिलाएपछि आफूलाई खताबले हात र खुट्टा खोलिदिएको बताए । ३० लाखमध्ये १५ लाख सोही दिन (बुधबार) दिने र बाँकी १५ लाख अर्को हप्ता दिने तर, यो घटनाक्रम कतै सार्वजनिक नगर्ने मौखिक सहमति भयो ।

त्यहाँबाट खताबले नै राठीलाई पनि नयाँ अफिसमा लगे । त्यहाँ पुर्याएर खताबले चेक मगाउन भने । लगत्तै राठीले आफ्ना चालक डिल्लीप्रसाद घिमिरेलाई फोन गरेर चेक मगाए । गाडीमै बसेर राठीले चेक काट्न खोजेपछि खताबले चेक व्यक्तिको नाममा नभई नेपाल टाइम्स मिडियाको नाममा काट्न भने । राठीले पनि खताबकै अनुरोधमा मिडियाकै नाममा चेक काटेर दिए ।

‘ग्लोबल आईएमई बैंकमा रहेको मेरो पर्सनल एकाण्टकै चेक दिएँ, त्यो चेक बुधबार बिहान साढे ११ बजेतिरै साटिएको म्यासेज आयो’ राठीले भने ।

‘करङ भाँचिएछ’

राठी त्यहाँबाट फुत्किएपछि घर गए । उनले ३ दिनसम्म कसैलाई केही कुरा गरेनन्, मोबाइल अफ गरेर बसे । विराट हस्पिटलमा गएर परीक्षण गराए, करङ भाँचिएको पत्ता लाग्यो । डाक्टरले २१ दिनसम्म आराम गर्न सुझाएको उनको भनाई छ ।

अरुणका भाइ श्याम राठी कामको लाग भारत गएका थिए । भाइ फर्किएपछि उनले यो घटना सबै भाइलाई सुनाए । भाइले घटनाबारे उजुरी दिनुपर्ने सुझाएपछि परिवारमा छलफल भयो । पारिवारिक छलफलपछि आइतबार प्रहरीसमक्ष किटानी जाहेरी दिए ।

व्यापारिक संगठन एकमत

राठीले प्रहरीसमक्ष किटानी जाहेरीसँगै उद्योगी व्यवसायीका संघसंगठनमा पनि यसबारे जानकारी गराएका छन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ लाई राठीले पत्र पठाएरै आफू पीडित भएको गुनासो गरेका छन् ।

‘उहाँले पत्र पठाउनु भएको छ, हामीले उहाँले किटानी जाहेरी दिएको विषयमा अविलम्ब कारबाही अगाडी बढाउन प्रमुख जिल्ला अधिकारी काशिराज दाहालसमक्ष माग गरेका छौँ’ नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ का अध्यक्ष भिम घिमिरेले बिजपाटीसँग भने, ‘हाम्रो सदस्यले म पीडामा परेँ, ममाथि अन्याय भयो भनेर आएपछि हामीले अनुसन्धान गर भनेका हौँ ।’

राठीले खताबकै आग्रहकमा २ वर्ष अगाडी नेपाल टाइम्स मिडिया प्रा.ली.को २० प्रतिशत शेयर २० लाख रुपैयाँमा खरिद गरेका थिए ।

घटनाबारे आरोपित शहेन शाह भनिने अब्दुल खताबसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ रहेको पाइयो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved