नेता, प्रहरी र ठूलाबडाको संलग्नतामा नयाँ ठगीधन्दा : कानूनले डामेका 'ठग'हरूले गर्छन् श्रीमतीको प्रयोग

ईश्वर अर्याल/बिजपाटी

ईश्वर अर्याल/बिजपाटी

Dec 07, 2022 | 01:25:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारप्रसाद दाहाल जसको सीएनआइ नम्बर CNI13652 छ, उनी प्रत्यक्ष बिक्रीको आडमा नेटवर्क धन्दा चलाइरहेको केयर नेसन इन्टर्नेशनल (सीएनआई)का ग्राहक र बिक्रेता दुवै हुन् ।

युनिटी लाइफ इन्स्योरेन्स नामक अवैध संस्था खडा गरी ३ लाख व्यक्तिबाट साढे ३ अर्ब ठगेको आरोपमा दर्जनौं मुद्दा खेपिरहेका स्याङ्जाका काशीराम गुरुङले आफ्नो श्रीमतीको नाममा उपभोक्ता ठगी गर्न कानूनको दुरुपयोग गर्दै खडा गरेको अर्को ठगीधन्दाका 'मुर्गा' हुन् दाहाल ।

सीएनआइ वेबसाइटमा उनको प्रोफाइल हेर्दा उनले दायाँ र बाँयातिर एक/एक जना व्यक्ति आफ्नो नेटवर्कमा जोडेका छन् भने ती दुवैले १/१ जना थप व्यक्तिहरू जोड्न सफल भएका छन् ।

उनको नम्बर १३६५२ हुनुले उनीभन्दा अगाडि १३ हजार भन्दा बढी व्यक्ति यस नेटवर्कमा जोडिएको तथ्य पत्ता लाग्छ भने अहिलेसम्म ३० हजार जना प्रत्यक्ष नेटवर्कमा जोडिएको दाबी सीएनआइकै अर्का एक सदस्यले गरेका छन् ।

जबकी वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सीएनआइलाई दिएको इजाजतपत्रमा जम्मा ९ सय ९९ जनालाई बिक्रेता बनाउन पाइने भनिएको छ ।

तीन वर्ष कैद भुक्तान गरेका थिए गुरुङले 

जिल्ला अदालत ललितपुरले २०७० फागुन १७ गते नेटवर्किङ व्यवसाय गरी सर्वसाधारणलाई ठगेको भन्दै गुरुङलगायत अन्य १२ जना युनिटीका सञ्चालकलाई ३ वर्ष कैद र जरिवानाबापत ३ करोड ३० लाख रुपैयाँ तिर्नुपर्ने फैसला सुनाएको थियो ।

गुरुङले ३ वर्ष कैदी जीवनसमेत बिताएका थिए । तर जरिवानाबापत ३ करोड ५० लाख पनि तिरे र जेलमुक्त भए । तर सर्वसाधारणको अर्बौं रकम कहाँ छ, त्यो अहिलेसम्म अत्तोपत्तो छैन ।

ठगीको पैसाले बीएमडब्ल्यू 

भारतीय भोस्टिज कम्पनीको शाखाका रूपमा नेपालमा हेल्दी लिभिङ नेपाल प्रालि नामको नेटवर्किङ धन्दा चलिरहेको छ । यसका सञ्चालक टेम्पा शेर्पा त करोडौं मूल्य पर्ने बीएमडब्ल्यू गाडी चढेर हिंड्ने गर्छन् ।

यसमा पनि पिरामिड शैलीमै वस्तुको प्रत्यक्ष खरिदबिक्री हुने गरेको छ । यसले हेल्थ केयरसँग सम्बन्धित १ सय १५ वटा स्वदेशी सामग्री बेच्ने अनुमति पाएको छ तर गैरकानूनी रूपमा भारतीय कम्पनी भोस्टिजका सामग्रीहरू बेच्ने गरेको तथ्य फेला परेको छ ।

यसका सामान खरिद गर्नुपूर्व अनिवार्य रूपमा सदस्य बन्नैपर्ने हुन्छ, जुन कानूनले कहीं कतै निर्दिष्ट गरेको छैन । नयाँ सदस्य बन्न नागरिकता, बैंक डिटेललगायत अन्य धेरै व्यक्तिगत विवरण पनि बुझाउनुपर्ने हुन्छ ।

नयाँ सदस्य दर्ताका लागि एजेन्टको सदस्यता नम्बर आवश्यक पर्छ । शुरूमा नयाँ सदस्यले थपेको अर्को सदस्यबाट आएको पैसाको ५ प्रतिशत कमिसन बुझाउनुपर्ने हुन्छ भने सदस्य थप गर्दै जाँदा त्यो कमिसन पनि वृद्धि हुँदै जान्छ ।

दायाँ र बायाँ मान्छेहरू थप्दै जान सके क्वालिफाइड डाइरेक्टर, ब्रोन्ज डाइरेक्टर, क्राउन डाइरेक्टर जस्ता पद प्राप्त हुँदै जान्छ । सर्वसाधारण, शिक्षकदेखि राजनीतिक दलका नेतासम्मले हेल्दी लिभिङमा नेटवर्क बनाउने र सामान बेच्ने अनि कमिसन खाने काम गर्छन् ।

सीएनआइ र हेल्दी लिभिङ माथिका दुई उदाहरण मात्र हुन् । आपूर्ति विभागका अनुसार प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ धन्दा चलाउने कम्पनीहरू अहिले नेपालमा १५ वटा छन् ।

ठगहरूलाई चोख्याउन कानून  

सरकारले २०७४ सालमा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन र २०७६ सालमा नियमावली बनाएको थियो । नियमावली बनेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि निजी कम्पनीहरुलाई इजाजत दिन शुरू गरेको थियो ।

नेचरहर्ब्स - ठगीधन्दाको अर्को उत्कृष्ट नमूना 

ठगीधन्दाको अर्को 'उत्कृष्ट' नमूना हो नेचरहर्ब्स । यसका सञ्चालक गितेन्द्रबहादुर राई हुन् विगतमा 'हर्बो'का नाममा हजारौं सर्वसाधारणलाई अर्बौं ठगी गरेपछि बन्द भएको यो व्यवसायको नाम परिवर्तन गरेर नेचरहर्ब्स राखियो विभागबाट अनुमति लिएर प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ शुरू गरिएको हो ।

नेचरहर्ब्स राईकी श्रीमती निशा बम्जन राईको नाममा दर्ता भएको छ । नेचर हर्ब्सका अर्का हर्ताकर्ता अनन्तबाबु राई हर्बोमा बोर्ड डाइरेक्टर थिए, उनी जीबीका जेठा दाइ हुन् । नेचर हर्ब्सका नेत्रपाणि बास्तोला हर्बोका बोर्ड डाइरेक्टर थिए । अर्का हर्ताकर्ता कुमार रम्तेल हर्बोका ट्रेनर थिए ।

बिटक्वाइनका नाममा ठगीधन्दा गरेको आरोपमा अदालतमा मुद्दा खेपेका माधव खनाल नेचर हर्ब्सका बजार विभाग प्रमुख हुन् । हर्बोका कतिपय ठगहरूले अहिले आइबोस नामक अर्को कम्पनी खोलेर कानूनको आडमा थप ठगी धन्दा चलाइरहेका छन् । हर्बो र नेचरहर्ब्सबीच सामान बिक्री गर्ने संरचनामा कुनै फेरबदल छैन ।

नेचरहर्ब्सको उपाध्यक्षमा त नेपाल प्रहरीका पूर्व डीआइजी छवि जोशी पनि छन् । मन्त्रीसमेत भएका कतिपय राजनीतिकर्मीहरू यसमा प्रत्यक्ष र अप्रत्यक्ष जोडिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्जाल रहेको नेचरहर्ब्सले विदेशी मुद्रा अपचलनसमेत गर्ने गरेको छ । राजश्व अनुसन्धान विभागका अनुसार मुद्रा अपचलनका केही फाइलहरू अनुसन्धानकै क्रममा रहेका छन् ।

ठगहरूको एसोसियसन 

यस्ता गैर-कानूनी धन्दा चलाउनेहरूले पछिल्लो समय आफ्नो छुट्टै एसोसियसन पनि बनाएका छन् । पूर्व डीआइजी जोशी नेपाल डाइरेक्ट सेलिङ एसोसियसनका अध्यक्ष पनि हुन् ।

स्रोतका अनुसार उक्त एसोसियसनले वाणिज्य विभागमा पत्रसमेत पठाएर आफूहरूलाई नेटवर्किङ व्यवसाय चलाउन सहजीकरण गरिदिनुपर्ने मागसमेत गरेको छ । यसबारे वाणिज्य विभागका एक कर्मचारीले आफूलाई थाहा नभएको प्रतिकृया दिए ।

छापा मारिन्छ अनि राजनीतिक आडमा कारवाही हुँदैन 

गतवर्षको भदौमा वस्तुको प्रत्यक्ष बिक्रीका नाममा इजाजत लिएका ९ कम्पनीहरूमा वाणिज्य विभागले छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।

नेचर हर्ब्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि, ग्लोबल ओरियन्स प्रालि, आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, केयर मार्ट्स इन्टरप्राइजेज प्रालि, यु टर्न इन्टरनेसनल प्रालि, अपी लाइफ इन्टरनेसनल प्रालि र केयर नेसन इन्टरनेसनल प्रालिको कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएपछि विभागका तत्कालीन महानिर्देशक प्रकाश पौडेलले गैर-कानूनी काम भइरहेको पुष्टि भएको बताएका थिए ।

तर त्यसपछि उनीहरूलाई कस्तो कारवाही भयो खुलाइएको छैन । तर त्यतिबेला महानिर्देशक पौडेलले दोषी भएका भनिएका कम्पनीहरू झन् बौरिएर आएको अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, 'उनीहरूले आफ्नो काम रोकेका छैनन् न त नेटवर्किङ शैली नै छोडेका छन् ।'

ठगहरूलाई राजनीतिक संरक्षण 

आम जनता ठग्नेहरूसँग भरपुर राजनीतिक संरक्षण रहेको वाणिज्य विभागकै एक कर्मचारीको भनाइ छ । ती कर्मचारीले भने – 'अनुगमन पनि हुन्छ, गैर-कानूनी काम गर्नेहरू समातिइन्छन् पनि, उनीहरूबाट बयान पनि लिइन्छ तर अन्तिममा राजनीतिक संरक्षणकै आधारमा बिना कुनै कारवाही छाडिन्छ ।'

गैर-कानूनी काम नियन्त्रण गर्छौं - महानिर्देशक भट्टराई 

विभागका हालका महानिर्देशक महेश भट्टराईले भने कसैले नेटवर्किङ र पिरामिडशैलीको व्यापार दर्ता पनि गर्न नपाउने र दर्ताबिनै त्यस्तो व्यवसाय गर्छ भने कारवाही गर्ने भन्ने ऐनमा प्रष्ट रहेको बताए ।

'नेटवर्किङ भनेको पनि एकप्रकारको प्रत्यक्ष बिक्री नै हो,' भट्टराईले बिजपाटीसँग भने, 'प्रत्यक्ष बिक्रीका विभिन्न तरिका छन्त्यो मध्ये एउटा उत्पादक आफैं घरघर गएर बेच्ने हो । अर्को एक तहको वितरक राखेर उपभोक्ताकहाँ पुर्याउने हो भने अर्को नेटवर्किङ हो । तीमध्ये नेटवर्किङलाई कानूनले गैर-कानूनी भनेको छ ।'

उनले प्रत्यक्ष बिक्रीको आवरणमा नेटवर्किङ शैलीमा काम गरेकाहरू कारवाहीको भागीदार हुने बताए । 'त्यसको अनुगमका लागि बजारमा भएको नेटवर्किङ बिजनेशको सूचना चाहियोअर्को त्यसलाई आइडेन्टीफाइ गर्न सक्ने एक्स्पर्ट चाहियो । अहिले हामी हरेक दिनजसो यसबारेमा सूचना जुटाउने कोशिस गरिरहेका छौं । आज पनि एक जनाको बयान लिइरहेका छौं,' भट्टराईले भने ।

हिजोकै ठगहरूले आजपनि व्यवसाय चलाउँदा पनि किन चुप भन्ने प्रश्नमा भट्टराईले भने - 'हिजो गलत गरेको थियो भने आज पनि गलत गरेको छ भनेर किटानी गर्न सकिन्नतर अनुमान गर्न सकिन्छ । कालो सूचीमा परेको व्यक्ति छ भने र त्यसले यस्तो व्यवसाय दर्ता गरेको छ भने स्वतः खारेज हुन्छ । अलिकति कानूनको छिद्र प्रयोग गरेर अर्कै मान्छेको नाममा व्यवसाय दर्ता गरेर खराब मान्छेले काम गरिरहेको छ भने त्यसलाई थप निगरानी गर्नुपर्छ ।'

पढ्नुहोस् यो पनि - 

वाणिज्य विभागका महानिर्देशकलाई प्रश्न – बजारअनुगमनपछि दोषीलाई कारवाही किन हुँदैन ?

सम्पादकीय : सार्वजनिक निकायलाई उत्तरदायी बनाउन 'खोजीसुशासनको' अभियानमा बिजपाटी 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved