पृथ्वीबहादुर दाजुभाइको ठगी काण्ड: अमेरिकी बिरामीको पैसा ठगेर नेपाली निमुखालाई यसरी फसाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 06:05:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि ट्राभल, म्यानपावरलगायत २४ कम्पनी खडा गरेर ६४ करोड बढी ठगी गरेका बहुचर्चित ठगी काण्डका नेपाली मुख्य योजनाकार पृथ्वीबहादुर शाहले अमेरिकाका विरामीहरुबाट पैसा ठगेर नेपाली निमुखा तथा निहत्या नागरिकलाई फसाएका छन् ।

उनले आफ्ना भाइ विजयविक्रम शाहलाईसमेत सहभागि गराएर अमेरिकाका क्यान्सर, अल्जाइमरजस्ता रोगबाट पीडित ज्येष्ठ नागरिकहरुको बैंक एकाउण्टसम्म पहुँच पुर्याएर प्रविधिमार्फत करोडौँ लुटेका छन् । त्यसरी ठगेको पैसा विभिन्न च्यानलमार्फत उनले नेपालमा रहेका आफुसँग काम गर्ने सामान्य कामदार, भाँडा माझ्ने, सरसफाइ गर्ने अन्य मजदुरलगायत अबैध गतिविधि भइरहेको छ भन्ने जानकारी नै नभएका व्यक्ति तथा परिवारका अन्य सदस्यलाईसमेत फसाएका छन् । त्यसरी ठगीबाट आर्जित रकम उनले त्यस्ता मजदुर एबं आर्थिक हिसाबले कमजोर व्यक्तिहरुको खातामा जम्मा गर्ने र पछि अनुकुल समय मिलाएर रकमान्तर गर्ने गरेका थिए ।

उक्त ठगी काण्ड बाहिरिएपछि निक्कै लामो अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई राय बुझाएको छ । व्युरोले ठगी, लिखत सम्बन्धी कसूर, सहकारी ठगी र सङ्गठित अपराध गरेको भनी चार वटा कसुरमा  मुद्दा चलाउन सरकारी वकीललाई राय दिएको छ । 

ठगी काण्डमा पृथ्वीबहादुर शाह र उनका भाई विजयविक्रम शाहसहित २० जना नेपालीहरु संलग्न रहेको सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । उनीहरुमध्य सात जना पक्राउ परेका छन् । १३ जना फरार छन् । उनीहरु विरुद्ध २४ वटा उजुरी परेको थियो । ५६ जना पीडत रहेका खुलेको छ । शुरुमा १४ उजुरी परेको र त्यस विषयमा छानविन गर्दै गर्दा यही फागुन १६ गते मंगलबार थप १० वटा उजुरी परेकोले अनुसन्धान जारी नै रहेको व्यूरोले जनाएको छ । 

तर उनी नेपाली मुख्य योजनाकार रहेपछि उनीजस्ता मास्टर माइन्ड भएका व्यक्ति भारत, अमेरिका, थाइल्याण्ड र दुबईमा समेत रहेको प्रहरीको दावी छ । अहिलेसम्म नेपालीलाई मात्रै पक्राउ गरी अनुसन्धान अघि बढाइएकाले उक्त सङ्गठित अपराधका अन्तराष्ट्रिय गिरोहका विषयमा सिआइवीले खुलाएको छैन ।

यस विषयमा विभिन्न मुलुकका प्रहरी तथा अनुसन्धभान विभागहरुसँग निरन्तर छलफल र समन्वय भइरहेकाले अनुसन्धानकै क्रममा रहेको सिआइवीका प्रहरी बरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

यसरी ठग्थे

उनीहरुले एन्टी भाइरस अपडेट, अमेजिनको बिल भुक्तानी, गिक स्क्वाड, कविक बुक्ससमेतको नाममा इमेलमार्फत सम्पर्क स्थापित गरेर अमेरिकी नागरिकहरुको बैंक एकाउण्टमा पहुँच पुर्याएका थिए । त्यसपछि अमेरिकी नागरिकको बैंक एकाउन्ट उनीहरु आफैँले फेक स्टेटमेन्ट तयार पारी नक्कली रकम जम्मा भएको देखाइ सोही रकम फिर्ता गर्न लगाई ठगी गर्थे ।

पीडितहरुलाई सम्पति सुद्धिकरण निवारण युनिटले कारबाही गर्छ र कानूनी उल्झनमा परिन्छ भनि त्रास देखाएर कानूनी प्रक्रियामा नजान धम्की पनि दिने गरेका थिए । उनीहरुले रिमोट एक्सेसबाट पिडितहरुको डिभाइजमार्फत बैंक खातामा पहुँच पुर्याई, निजहरुको बैंकमा रहेको मौज्दात रकम नेपाल, भारत र थाइल्याण्डमासमेत पठाउने गरेका थिए । 

अमेरिकासहित उनीहरुका एजेण्ट ति देशहरुमा रहेको भेटिएको छ । त्यो समूहले पिडितको खाताबाट विभिन्न बैंकहरु हुँदै रकम ट्रान्सफर भई आउँदा आवश्यकता बमोजिम बैंकहरुलाई खातावाल (पिडित) को तर्फबाट आफैँले इमेल लेखी पठाउने गरेको पनि पाइएको छ ।

उनीहरु पिडितलाई फोन सम्पर्क गरी निजहरुको गतिविधिमाथि नियमित निगरानीसमेत गर्ने गर्दथे ता की उनीहरु प्रहरीमा नजाओस् भन्ने सोच राखेको पाइएको छ । प्रहरीका अनुसार उक्त गिरोहले अन्तर्राष्ट्रिय सिष्टम भएकाले रिमोट एक्सेस दिनुपर्छ भनि पिडितलाई विश्वास दिलाउने गरेको र नियमित जसो नै डिभाइजमा नक्कली बैंक स्टेटमेन्ट पठाउने गरेका थिए । समस्या परेको खण्डमा यसले समाधान गर्छ भन्दै सन्देशहरु पठाएर पीडितलाई पुनः आफ्नै अर्काे गिरोहसँग कनेन्सन गराउँथे । 

सोही प्रक्रियाबाट विदेशी नागरिकहरुलाई ठगी गरी कम्पनी तथा व्यक्तिगत खातामा ४५ लाख ४६ हजार ६ सय ३९ अमेरिकी डलर, २२ हजार पाउण्ड स्टरलिङ, तथा ३ लाख ४० हजार क्यानेडियन डलर बराबरको रकम ठगी गरेको खुलेको छ । नेपाली रुपैयाँम यो रकम ६३ करोड ९३ लाख हुन आउँछ । हाल उनको रु एक करोड २८ लाख ९३ हजार रोक्का रहेको छ । 

अमेरिकी नम्बर देखाउने फोन कलको ह्याण्डिल वेष्ट बङ्गालबाट 

सिआइवीका अनुसार अमेरिकाबा टफोन कल आएको मोबाइलमा देखाउने गरेको र उक्त नेटवर्कको ह्याण्डिल भने भारतको वेष्ट बङ्गालबाट गरेको पाइएको छ । मोबाइलमा भने अमेरिकाबाट कल आएको डिस्प्ले हुने गरेको हुन्थ्यो ।

यो गिरोहले पीडितलाई भने प्रत्यष भेट गर्देनथयो । प्रविधिलाई उच्चतम रुपमा दुरुपयोग गरी मेल वा सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पुर्याएर विभिन्न सन्देशहरु र चेतावनीहरु दिने र समस्या परेमा फलानो ठाएँमा सम्पर्क गर्न भन िआफ्नै समूहका ठेगाना दिने गरेका थिए । 

पृथ्वीबहादुरले ठगीको रकमबाट २२ करोडको जग्गा जोडे

उनले यसरी ठगी गरेको रकम मध्ये २२ करोडको जग्गा खरिद गरेको फेला परेको छ । काठमाडौँ महानगर ७ मा रहेको कित्ता नम्बर २३२ खरिद गर्दा लिखत मूल्य कम देखाइ राजस्व र लाभकर छलेको भेटिएको छ । 

कम्पनी रजिष्टारको कार्यालयमा यु क्यास सर्भिस प्रालि दर्ता गर्दा भगवत सुवेदीको किर्ते औँठा छाप लगाइ दर्ता गरेको पाइएको छ ।

किर्ते विवरणसहित दर्ता भएको उक्त कम्पनी नामसारी हुँदै रुक्मागत काफ्लेबाट हाल अनुप खड्काको नाममा सञ्चालनमा रहेको तर आर्थिक कारोबार भने शाहले नै गर्दै आएका थिए । विदेशमा खातामा रकम जम्मा गर्न किर्ते कागजात तयार गरी पेश गर्ने गरेकोसमेत खुलेको छ ।  

जग्गाका साथै उनले यसरी कमाएको रकम घर निर्माण, शेयर, सुन खरिद, कम्पनी दर्ता र बीमालगायतमा लगानी गरेको समेत भेटिएको छ ।

अहिलेसम्म ५६ जना ठगिए 

उनीहरुबाट अहिलेसम्म ५६ जना पिडित भएको खुलेको छ । त्यसमध्य २४ जनाले २८ लाख ९२ हजार अमेरिकी डलर ठगी भएको भन्दै जाहेरी दिएका छन् । जाहेरी दिने सबै अमेरिकी नागरिक हुन् ।

नेपालको सिआइवीले अमेरिकाको फाइनान्सियल क्राइम इनफोर्समेन्ट नेटवर्क र फेडेरल व्यूरो अफ इनभेष्टिगेसन (एफविआइ)सँगको समन्वयमा अमेरिकी नागरिकको उजुरी लिएको थियो । उनीहरुको बयान पनि प्रविधिकै आधारमा गरिएको र कतिपयले एफविआइमार्फत समन्वय गरेर जानकारी गराएका थिए । जाहेरी दिने अमेरिकनमात्रै भए पनि क्यानेडियन तथा बेलायती नागरिक पनि ठगीमा परेको प्रहरीले बताएको छ ।

यस्तो हुने छ कानूनी कारवाही

उनीहरु विरुद्द ठगी, लिखत सम्बन्धी कसूर, सहकारी ठगी र सङ्गठित अपराध गरी ४ वटा मुद्दा दायर गर्नुपर्ने प्रहरीको राय छ । मुलूकी अपराध संहिता, २०७४ को दफा २४९ (ठगी सम्बन्धमा) को उपदफा ३ (ग) को कसुरमा सोही संहिताको दफा २४९ को उपदफा ३ (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने र दफा २५४ बमोजिम विगो खुलेकोमा विगो असूल गरी पिडितलाई दिलाई भराई दिनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

ठगि सम्बन्धमा नै असहाय, निरक्षर र ७५ वर्षभन्दा माथिको व्यक्तिलाई ठगी गरेमा हुने सजायमा १ वर्ष थप सजाय हुने व्यवस्था छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ (लिखत सम्बन्धि कसुर) को उपदफा ३ (ग) बमोजिमको कसूरमा सोही संहिताको दफा २७६ को उपदफा ३ (ग) बमोजिम ७ वर्ष सम्म कैद र ७० हजारसम्म जरिवाना हुने र दफा २८२ बमोजिम कसूरदारबाट मनासिव क्षेतिपुर्ति भराई दिनु पर्ने, दफा २७६ को उपदफा ५ बमोजिम किर्ते गरी प्राप्त गरेको सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (छ) बमोजिम झुठ्ठा वा गलत विवरण पेश गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएमा सोही ऐनको दफा १२४ को घ (४) बमोजिम कसूरमा विगो भराइ ४ वर्षदेखि ६ वर्षसम्म कैद हुने कानूनी व्यवस्था रहेको छ । सङ्गठित अपराधअन्तर्गत उल्लेखित सम्बद्ध कसुरमा हुने सजायमा ५०% थप सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved