बहुचर्चित ठगी काण्डका पृथ्वीबहादुरसहित ६ जना जेल गए, विनिता ५० हजार धरौटीमा छुटिन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 02:16:12 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि ट्राभल, म्यानपावरलगायत २४ कम्पनी खडा गरेर ५६ जनाको ६४ करोड बढी ठगी गरेका बहुचर्चित ठगी काण्डका नेपाली मुख्य योजनाकार पृथ्वीबहादुर र उनका सहोदर भाई विजयविक्रम शाहसहित ६ जनालाई कारागार चलान गरिएको छ ।

उनीहरुमाथि ठगी, लिखत सम्बन्धी कसूर, सहकारी ठगी र सङ्गठित अपराध गरी ४ वटा अभियोग लगाइएको छ । जिल्ला सरकारी वकीलको कार्यालयद्धारा दर्ता अभियोजनमाथिको थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतले शाहसहितका ६ जनालाई पूर्पक्षका लागि कारागार पठाएको हो । पक्राउ परका मध्य भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । 

जिल्ला अदालत काठमाडौँको आदेशले पृथ्वीसहित शाह उनका भाई विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्माङ्गत काफ्ले र रङ्गबहादुर साउद कारागार चलान भएका छन् । घटनामा संलग्न २० मध्ये १३ जना हाल फरार रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।

फरार रहेकामा अछामका देवेन्द्र ढुङ्गाना, रामेछापका सागर आले मगर, रामेछापका विनोद सुन्दार, कैलालीका लक्ष्मण रेग्मी,  काठमाडौँका सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, तरुण शाह, शिवकुमार पाण्डे, देवेन्द्रबहादुर शाह, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी र किशोर सिंह छन् ।

उनीहरुले ५६ जनाको ६४ करोड रकम ठगी गरेको प्रहरी अनुसन्धानमा देखिए पनि २४ जनाले २८ लाख ९२ हजार अमेरिकी डलर (झण्डै ३८ करोड नेपाली) ठगी भएको भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) मा जाहेरी दिएका थिए । जाहेरी दिने सबै अमेरिकी नागरिक हुन् । त्यसपछिको लामो अनुसन्धानमा सिआइवीले अमेरिकाका क्यान्सर, अल्जाइमरजस्ता रोगबाट पीडित ज्येष्ठ नागरिकहरुको बैंक एकाउण्टसम्म पहुँच पुर्याएर प्रविधिमार्फत करोडौँ लुटेका पत्ता लगाएको थियो । 

यसरी ठगिएको रकम विभिन्न च्यानलमार्फत उनले नेपालमा रहेका आफूसँग काम गर्ने सामान्य कामदार, भाँडा माझ्ने, सरसफाइ गर्ने अन्य मजदुरलगायत अवैध गतिविधि भइरहेको छ भन्ने जानकारी नै नभएका व्यक्ति तथा परिवारका अन्य सदस्यलाईसमेत फसाएका पाइएको प्रहरी परीक्षक थापा बताउँछन् । सिआइवीले अनुसन्धान सकेर १४ दिन अघि प्रतिवेदन सरकारी वकीलको कार्यालयलाई बुझाएको थियो । 

उनीहरुले एन्टी भाइरस अपडेट, अमेजिनको बिल भुक्तानी, गिक स्क्वाड, कविक बुक्ससमेतको नाममा इमेलमार्फत सम्पर्क स्थापित गरेर अमेरिकी नागरिकहरुको बैंक एकाउण्टमा पहुँच पुर्याएर ठगी गर्ने गरेका थिए । यो गिरोहले अमेरिकी नागरिकको बैंक एकाउन्ट उनीहरु आफैँले फेक स्टेटमेन्ट तयार पारी नक्कली रकम जम्मा भएको देखाइ सोही रकम फिर्ता गर्न लगाई ठगी गथ्र्याे ।

पीडितहरुलाई सम्पति सुद्धिकरण निवारण युनिटले कारबाही गर्छ र कानूनी उल्झनमा परिन्छ भनि त्रास देखाएर कानूनी प्रक्रियामा नजान धम्की पनि दिने गरेका थिए । उनीहरुले रिमोट एक्सेसबाट पिडितहरुको डिभाइसमार्फत बैंक खातामा पहुँच पुर्याई, निजहरुको बैंकमा रहेको मौज्दात रकम नेपाल, भारत र थाइल्याण्डमासमेत पठाउने गरेका थिए । 

अमेरिकासहित उनीहरुका एजेण्ट ति देशहरुमा रहेको भेटिएको छ । त्यो समूहले पिडितको खाताबाट विभिन्न बैंकहरु हुँदै रकम ट्रान्सफर भई आउँदा आवश्यकता बमोजिम बैंकहरुलाई खातावाल (पिडित) को तर्फबाट आफैँले इमेल लेखी पठाउने गरेको पनि पाइएको छ ।

उनीहरु पिडितलाई फोन सम्पर्क गरी निजहरुको गतिविधिमाथि नियमित निगरानीसमेत गर्ने गर्दथे ता की उनीहरु प्रहरीमा नजाओस् भन्ने सोच राखेको पाइएको छ । प्रहरीका अनुसार उक्त गिरोहले अन्तर्राष्ट्रिय सिष्टम भएकाले रिमोट एक्सेस दिनुपर्छ भनि पिडितलाई विश्वास दिलाउने गरेको र नियमित जसो नै डिभाइसमा नक्कली बैंक स्टेटमेन्ट पठाउने गरेका थिए । समस्या परेको खण्डमा यसले समाधान गर्छ भन्दै सन्देशहरु पठाएर पीडितलाई पुनः आफ्नै अर्काे गिरोहसँग कनेन्सन गराउँथे । 

सोही प्रक्रियाबाट विदेशी नागरिकहरुलाई ठगी गरी कम्पनी तथा व्यक्तिगत खातामा ४५ लाख ४६ हजार ६ सय ३९ अमेरिकी डलर, २२ हजार पाउण्ड स्टरलिङ, तथा ३ लाख ४० हजार क्यानेडियन डलर बराबरको रकम ठगी गरेको खुलेको छ । नेपाली रुपैयाँम यो रकम ६३ करोड ९३ लाख हुन आउँछ । हाल उनको रु एक करोड २८ लाख ९३ हजार रोक्का रहेको छ । 

सिआइवीका अनुसार अमेरिकाबाट फोन कल आएको मोबाइलमा देखाउने गरेको र उक्त नेटवर्कको ह्याण्डिल भने भारतको वेष्ट बङ्गालबाट गरेको पाइएको थियो । मोबाइलमा भने अमेरिकाबाट कल आएको डिस्प्ले हुने गरेको हुन्थ्यो ।

पृथ्वीबहादुरले यसरी ठगी गरेको रकम मध्ये २२ करोडको जग्गा खरिद गरेको फेला परेको छ । काठमाडौँ महानगर ७ मा रहेको कित्ता नम्बर २३२ खरिद गर्दा लिखत मूल्य कम देखाइ राजस्व र लाभकर छलेको भेटिएको छ । कम्पनी रजिष्टारको कार्यालयमा यु क्यास सर्भिस प्रालि दर्ता गर्दा भगवत सुवेदीको किर्ते औँठा छाप लगाइ दर्ता गरेका थिए । 

किर्ते विवरणसहित दर्ता भएको उक्त कम्पनी नामसारी हुँदै रुक्मागत काफ्लेबाट हाल अनुप खड्काको नाममा सञ्चालनमा रहेको तर आर्थिक कारोबार भने शाहले नै गर्दै आएका थिए । विदेशमा खातामा रकम जम्मा गर्न किर्ते कागजात तयार गरी पेश गर्ने ग।ेका थिए । जग्गाका साथै उनले यसरी कमाएको रकम घर निर्माण, शेयर, सुन खरिद, कम्पनी दर्ता र बीमालगायतमा लगानी गरेको समेत भेटिएको छ ।

उनीहरुमाथि लागेको मुद्दामा मुलूकी अपराध संहिता, २०७४ को दफा २४९ (ठगी सम्बन्धमा) को उपदफा ३ (ग) को कसुरमा सोही संहिताको दफा २४९ को उपदफा ३ (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने र दफा २५४ बमोजिम विगो खुलेकोमा विगो असूल गरी पिडितलाई दिलाई भराई दिनुपर्ने कानूनी व्यवस्था रहेको छ । ठगी सम्बन्धमा नै असहाय, निरक्षर र ७५ वर्षभन्दा माथिको व्यक्तिलाई ठगी गरेमा हुने सजायमा १ वर्ष थप सजाय हुने व्यवस्था छ ।

सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (छ) बमोजिम झुठ्ठा वा गलत विवरण पेश गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएमा सोही ऐनको दफा १२४ को घ (४) बमोजिम कसूरमा विगो भराइ ४ वर्षदेखि ६ वर्षसम्म कैद हुने कानूनी व्यवस्था रहेको छ । सङ्गठित अपराधअन्तर्गत उल्लेखित सम्बद्ध कसुरमा हुने सजायमा ५०% थप सजाय हुने कानूनी व्यवस्था रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved