
प्रहरीले वान एक्स बेट मार्फत सट्टेबाजी गराउने ६ जना ब्यक्तिहरुलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले उपत्यकाको लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायतका स्थानबाट वान एक्स बेटको सक्रिय ६ जना एजेन्टहरुलाई पक्राउ गरेको हो ।
प्रकाउ पर्नेमा जुम्ला घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय दिलिप सिंह, जुम्ला घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय भुपाल राजराज न्यौपाने, जुम्ला घर भई हाल भक्तपुर बस्ने १९ वर्षीय नयन राज भण्डारी , सर्लाही घर भई हाल काठमाण्डौ बस्ने २८ वर्षीय वरुण कुमार सिंह, काठमाण्डौका ३२ वर्षीय वासुदेव पाण्डे र काभ्रेपलाञ्चोक घर भई हाल बालुवाटार बस्ने २६ वर्षीय शिवानी तामाङ रहेका छन्।
कार्यालयक सुचना अधिकारी प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरुलाई चैत्र ६ गते पक्राउ गरिएको हो । उनीहरुलाई विभिन्न सेवा प्रदायक कम्पनीहरुको ३४६ वटा सिमकार्ड सहित नियन्त्रणमा लिई मुलुकी अपराध सहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
प्रहरीले उनीहरुसँगबाट ३४६ वटा सिमकार्ड , १० वटा मोबाइल, विभिन्न बैंकको ३ वटा चेकबुक , १४ वटा एटिएम कार्ड, र एउटा ल्यापटप समेत बरामद गरेको छ ।
यस्ता छन् प्रहरीको अनुसन्धानबाट खुल्न आएका तथ्य:
१. पक्राउ परेका व्यक्तिहरु मध्ये दिलिप सिंह कठायतले बिगत १ बर्ष देखि; भुपाल राज न्यौपानेले बिगत ९ महिना देखि; नयनराज भण्डारीले बिगत ६ महिना देखि ; बरुन कुमार सिंहले बिगत ६ महिना देखि ; शिवानी तामाङले आफ्नै नाममा खाता खोली रोसन गुरुङलाई उक्त खाता चलाउन दिई विगत ८ महिनादेखि र वासुदेव पाण्डेले बिगत १ महिना देखि 1X BET मा सट्टाबाजी गर्ने Agent को रुपमा कार्य गर्न थालेको ।
२. रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा बिभिन्न ब्यक्तिहरुको नाममा Digital Wallet/Account खोली कारोबार गर्ने गरेको । सो क्रममा निजहरुले ठूलो मात्रामा बिभिन्न सेवा प्रदायकहरुको सिम कार्ड समेत खरिद गर्ने गरेको ।
'बिभिन्न Wallet बाट संकलन गरेको रकम पक्राउ पपरेका दिलिप सिंह कठायत, भूपालराज न्यौपाने र नयनराज भण्डारीले आफ्नै नाममा रहेको ८ वटा र आफ्नो बहिनीको नामको २ वटा, INFIWAVE नामको नक्कली कम्पनीको खडा गरि उक्त नाममा २ वटा कर्पोरेट खाता गरि जम्मा १२ वटा खाता सञ्चालन गरि बेटिङ कारोबार गरेको । उक्त १२ वटा खाताहरु मध्ये कारोबार विवरण प्राप्त भएको ९ वटा खाता मार्फत् हालसम्म जम्मा रू. ७ करोड ७७ लाख ८७ हजार ३२८ बराबरको बेटिङ कारोबार गरेको देखिएको र बाँकी ३ वटा खाताको विवरण प्राप्त हुने क्रममा रहेको ।
३. पक्राउ परेका दिलिप सिंह कठायतको डेरा कोठाबाट बेटिङको रकन संकलन प्रयोजनका लागि वालेट खोल्न प्रयोग हुने NCELLको सिम ६३ थान, NTC को सिम १९ थान तथा SMART को १ वटा गरि जम्मा ८३ थान सिमकार्ड; भूपालराज न्यौपानेको साथबाट NCELL को ९१ थान, NTC को ४७ थान गरि जम्मा १३८ थान; नयनराज भण्डारीको साथबाट NCELL को ११६ थान, NTC को थान ६ सहित जम्मा १२३ थान ; बरुण कुमार सिंहको साथबाट NCELL को सिमकार्ड थान २ गरि कुल ३४६ थान सिमकार्ड समेत बरामद गरिएको ।
४. पक्राउ परेका बरुण कुमार सिंहले आफ्नै नाममा ४ वटा र बिभिन्न कम्पनीको नाममा खोलिएको अन्य ४ वटा गरि जम्मा ८ वटा बैंक खाता खोली बेटिङ कारोबार गर्ने गरेकोमा कारोबार विवरण प्राप्त भएको १ वटा खातामा जम्मा रु. ८२ लाख ३२ हजार ७७० बराबरको कारोबार देखिएको र अन्य ७ वटा खाताको विवरण प्राप्त हुन बाँकी रहेको ।
५. पक्राउ परेकी अर्का व्यक्ति शिवानी तामाङको जम्मा ३ वटा खातामार्फत् वेटिङ कारोबार हुने गरेकोमा २ वटा खाताको प्राप्त विवरणमा जम्मा रु. ४७ लाख ९३ हजार १० बराबरको रकम कारोबार भएको देखिएको र १ वटा खाताको विवरण प्राप्त हुन बाँकी रहेको ।
६. हाल सम्म अनुसन्धानको क्रममा खुल्न बिभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएको डिजिटल वालेटहरुमा जम्मा रु. ४१ करोड १५ लाख ८९ हजार २७६ बराबरको बेटिङ कारोवार देखिएकोमा सो वालेटहरुको समेत कारोबार रोक्का राखी थप अनुसन्धान कार्य भई रहेको ।
७.अनुसन्धानका क्रममा बिभिन्न १५ जना व्यक्तिको ३४ वटा बैंक खाता मार्फत् जम्मा रु.१२ करोड २५ लाख ३५ हजार ९११ बराबरको रकम बेटिङ कारोबार देखिएकोमा सो बैंक खाताहरु समेत रोक्का राखी थप अनुसन्धान कार्य भैरहेको ।
८. प्राप्त भएका विवरण अनुसार पक्राउ परेका व्यक्तिहरुबाट हालसम्म जम्मा रु. ९ करोड ८ लाख १३ हजार १०८ बराबरको बेटिङ मार्फत् कारोबार भएको देखिएको ।