नक्कली कागजात बनाइदिने समूहलाई पाँच लाख तिरेर तिब्बती शरणार्थीले लिए नेपाली नागरिकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2023 | 04:40:21 PM मा प्रकाशित

laxmi  sunrise bank

किर्ते कागजात बनाइदिने समूहलाई ठुलो रकम दिएर तिब्बती शरणार्थीले नेपाली नागरिकता बनाएका छन् । अहिलेसम्म ती नक्कली कागजात बनाउने गिरोहले यसरी झण्डै ५०० जनालाई नक्कली कागजात पेश गराएर सक्कली नागरिकता दिलाएको पाइएको छ । 

उनीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाटै नागरिकता दिलाउने कार्यमा सक्रिय थिए । त्यसको समन्वयकारी काम भने प्रशासन कार्यालयका क्यान्टिन सञ्चालक विजय लामाले गर्ने गरेका खुलेको छ ।

उनीहरुले सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारीस तयार गरी गैरनेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता समेत बनाइदिने गरेका थिए । उक्त कार्य भएको पुष्टी भएपछि कृष्णबहादुर कटवालसहितका पाँच व्यक्ति पक्राउ परेका छन् । 

उनीहरुको साथबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु, किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरुको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकता फेला पारिएको छ ।

उनीहरु माथि  नागरिकता ऐन तथा लिखत सम्बन्धी कसुरमा आवाश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जनकारी दिए । 

यी हुन् पक्राउ पर्ने आरोपी

पक्राउ पर्नेमा झापाको कचनाकबल गाउँपालिका ३ घर भइ हाल ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोल  बस्ने ४७ वर्षका कृष्णबहादुर कटुवाल, काठमाडौँको बबरमहल बस्ने भक्तपुर मध्यपुर ठिमीका ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ घर भई ललितपुरको धोबीघाट बस्ने हिरालाल शिवाकोटी रहेका छन् । 

यस्तै तनहुँ शुक्लागण्डकी नगरपालिका ८ दुलेगौँडा स्थित तिब्बती शरणार्थी क्याम्प बस्ने लोब्साङ ठिन्ले, जिल्ला प्रशासन कार्यालय काठाडौँको क्यान्टिनमा काम गर्ने विजय लामालाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।  

यसरी किर्ते गरेर नागरिकता दिलाए

-पक्राउ परेका कृष्ण बहादुर कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएका ।

-निजले पक्राउ परेका अर्का व्यक्ति हिरालाल सिवाकोटी समेतको सहयोगमा विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, बिभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण कागजात, छाप तथा दस्तखत किर्ते गर्दै आएको ।

-निज कटवालले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट गैरनेपाली विशेषगरि तिब्बतियन शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा बिभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको ।

-पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठलाई पक्राउ परेका कृष्ण कटवाल समेतले मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई दिई प्रति पटक रु. १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उपस्थित गराई सनाखत गर्ने गराउने गरेको ।

-निज न्युल्केश श्रेष्ठले हाल सम्म गैरनेपाली तिब्बतियन व्यक्तिहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनि सहयोग गरेको खुलेको ।

-पक्राउ परेका कृष्ण कटवालले त्यसरी किर्ते कागजात तयार गरि गैर नेपाली सक्कली नेपाली नागरिकता दिलाउन प्रति व्यक्ति रु ३ देखि ५ लाखसम्म रकम लिने गरेको खुलेको ।

-पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बेतियन शरणार्थी क्याम्पमा बस्दै आएका र निजले मिति २०७९।११।३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना का.म.न.पा. १७ राखी ना.प्र.प.नं. २७–०१–७९–१५९०१ को नेपाली नागरिकता लिएको देखिएको । 

-यस्तै गरी नागरिकता लिएका अन्य २५÷३० जनाको सक्कलै नागरिकता प्राप्त भई ो उपर थप अनुसन्धान भइरहेको ।

-पक्राउ परेका अर्का व्यक्ति विजय लामा विगत ९ वर्ष देखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको र जिल्ला प्रशासन कार्यालय काठमाडौँ भित्र मिलाउनु पर्ने सबै कामको जिम्मा लिने गरेको ।

-निज विजय लामाले भित्र मिलाउनुपर्छ भनि पक्राउ परेका कृष्ण कटवालसँग प्रति नागरिकता रु १ लाख ५० हजार सम्म लिई नागरिकता प्राप्त गर्ने कार्यमा सहजिकरण गरेको खुल्न आएको ।

-पक्राउ परेका कृष्ण बहादुर कटवालले मात्रै ५÷६ वर्षको अवधिमा झण्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र यस्तो कार्यमा निज कटवाल जस्तै अन्य ४÷५ जना व्यक्ति पनि सक्रिय रहेको भन्ने बुझिन आएको हुदाँ अन्य त्यस्ता शंकित व्यक्तिहरुको समेत खोजतलास एवं अनुसन्धान कार्य भैरहेको ।

-यसरी गैरनेपाली तिब्बेतियन शरणार्थी लगायतलाई सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा सक्रिय गिरोहलाई प्रलोभनमा परी सहज तवरले नागरिकता उपलब्ध गराएको आशंकामा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरु उपरसमेत आवाश्यक अनुसन्धान कार्य भइरहेको ।

-पक्राउ परेका कृष्ण बहादुर कटवाल यस अघि पनि किर्ते र ठगी मुद्दामा सजाय पाइसकेको व्यक्ति भएको खुलेको  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved