सट्टेबाजका मास्टर एजेन्ट दिनेशमाथि ६५ करोडको विगो कायम गरी मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2023 | 06:37:51 PM मा प्रकाशित

काठमाडौँ जिल्ला अदालतबाट रु २५ लाख धरौटीमा छुटेका अवैध सट्टेबाजका एक जना मास्टर एजेन्टमाथि ६५ करोड विगो माग दावीसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

पुनः आफ्नो पुरानै अपराध दोहोर्याउँदै थप अपराध गरेका कैलालीका दिनेश खड्का र उनकी श्रीमती अनिता धितालको खाताबाट सट्टेबाजमा लगाइएको ६४ करोड ९४ लाख कारोबार भएको पाइएपछि सोही रकमलाई विगो मान्दै जिल्ला सरकारी वकीलको कार्यालयले आज मुद्दा दर्ता गरेको हो । 

उनले सट्टेबाजमा विभिन्न १२ जना व्यक्तिहरुको नाममा खाता खोलेर डेढ वर्षको अन्तरालमा झण्डै ६५ करोड कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। नेपालमा सट्टेबाज अवैध मानिन्छ । उनीसहितको समुहले ६३ वटा खाता खोलेर सट्टेबाजमा सक्रिय भएका फेला परेको थियो ।

बैंक र डिजिटल वालेटको दुरुपयोग गरी खाता खोलेर उनी क्रिप्टोकरेन्सीको कारोबारका साथै सट्टेबाज खेलाउन सक्रिय रहेका तथ्य फेला परेको थियो । डेढ वर्ष अघि राजश्व अनुसन्धान विभागले बाईनान्समार्फत क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा उनीमाथि काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाएको थियो । त्यस मुद्दामा अदालतले उनलाई २५ लाख धरौटीमा छाडेको थियो । उक्त मुद्दा अहिले पनि विचाराधिन रहेकै बेला उनी फेरि पुरानै लागेको बानी (क्रिप्टोकरेन्सी कारोबार र सट्टेबाज)मा सक्रिय हुँदा प्रहरीको फन्दामा परेका थिए । 

त्यसबेला विभागले मुद्दा चलाउँदा ३७ करोडको विगो दावी गरेएको थियो । त्यसमुद्दामा उनकी दिदी भगवती खड्का, उनका बुबा नरबहादुर खड्का र उनकी साथी (हाल श्रीमती) अनिता धिताल प्रतिवादी थिए । 

पहिले मुद्दा खेपेकी धिताल पनि दिनेशसँगै सट्टेबाजमा सक्रिय रहेको फेला परेकी छिन् । उनीहरु दुबै विरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको अभियोग लगाइएको छ । राष्ट्र बैंकको ऐन अनुसार बिगो जफत गरी बिगो रकमको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था छ । 

यसका साथै मुलुकी अपराध संहिताअनुसार थप सजायँको समेत माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ दफा १२५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग दावी पनि लिइएको छ । यस्तै उनीहरू दुबैविरूद्ध एकीकृत कसुरअन्तरगत थप सजायँको पनि माग गरिएको छ।  

यस अघि : 

अदालतबाट छुटेपछि ६३ खाताबाट ६४ करोड कारोबार, यी हुन् सट्टेबाजका मास्टर एजेन्ट

मास्टर एजेन्ट पक्राउको भोलिपल्ट वान एक्स बेटको प्रमोसन गर्ने चर्चित कलाकार पक्राउ

अदालतबाट छुटेपछि ६३ खाताबाट ६४ करोड कारोबार, यी हुन् सट्टेबाजका मास्टर एजेन्ट 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved