
सुनको गहनामा जर्ती नलिने विवादले झन् झन् उग्र रुप लिने अवस्था सृजना भएको छ ।अहिलेसम्म सामाजिक सञ्जाल र प्रेसविज्ञप्तिमा सीमित यस्तो विवाद अब भने सतहमै आउने देखिएको छ ।
सुनचाँदी व्यवसायमा आवद्ध केहि व्यवसायीहरुले विरोध र्याली गर्ने तयारी गरेपछि यो विवादले उग्ररुप लिने निश्चित भएको हो ।ऋद्धि सिद्धि ज्वेलरीले सुनचाँदी व्यवसायी तथा श्रमजीवी कालिगढको पेटमा ‘लात’ हान्ने काम गरेको तथा व्यवसायी नरेन्द्रकुमार गुप्ताको सम्पतिको समेत छानबिन हुनुपर्ने भन्दै बृहद पदयात्रा तथा र्याली गर्ने निर्णय भएको सुनचाँदी व्यवसायी तथा कालिगढ बचाउ अभियानले जनाएको छ।
गहनामा जर्ती नलिने घोषणा आत्मघाती भएको भन्दै आफुहरु विरोधमा उत्रिनुपरेको र्याली घोषणा गरिएको बताउनेहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
विरोध र्यालीमा रत्न व्यवसायी संघ नेपाल, नेपाल सुनचाँदी कला व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रे, ललितपुर सुनचाँदी शिल्प व्यवसायी संघ, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च, काठमाडौं सुनचाँदी व्यवसायी संघ, नेपाल रत्न तथा आभूषण संघ र भक्तपुर सुनचाँदी व्यवसायी संघ आबद्द रहेको सुनचाँदी व्यवसायी तथा कालिगढ बचाउ अभियानले बताएको छ।
बुधबार बिहान काठमाडौंको न्यूरोड गेट नजिकैको आरएनएसी भवन नजिकबाट विरोध र्याली शुरु हुने बताइए पनि यो कसको संयोजकत्वमा आयोजना हुने हो भन्ने कुरा कहिं कतै खुलाइएको छैन।
विरोध र्याली घोषणा गरेको समूहले वाणिज्य विभाग, राजस्व अनुसन्धान विभाग, सीआईबी र सम्पति शुद्दीकरण अनुसन्धान विभागमा गुप्ता र उनको व्यापारिक फर्म ऋद्धि सिद्धि ज्वेलरीको कारोबार छानविन गर्न उजुरीसमेत दिएको छ।
त्यस्तै, उजुरीमा ऋद्धि सिद्धिले आफुसँग भएको मौज्दात सिध्याएर पलायन हुने, अवैध सुन छानबिन हुने दरले आत्मघाती कदम चालेको आरोपसमेत उल्लेख छ।
अन्तरराष्ट्रिय अभ्यास र नियमलाई पछ्याउने उदेश्यले गहनामा जर्ती नलिने घोषणा गरिएको नेपाल रत्न तथा आभूषण संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष तथा श्री ऋद्धि सिद्धि ज्वेलरीका सञ्चालक नरेन्द्र गुप्ताले बिजपाटीलाई बताएका छन्।
‘अहिले मेरो सम्पती छानविन हुनुपर्ने भन्दै आन्दोलनको घोषणा गरिएको छ’, गुप्ताले भने, ‘यो आन्दोलनले मसहित २० हजार सुनचाँदी व्यवसायीको सम्पती छानविन गर्ने बाटो खुलेको छ, त्यसैले यो आन्दोलनमा मेरो पनि सहमति छ।’
सुनको आयातमा कोटा प्रणाली हटाउने र सिन्डिकेट खारेज गर्ने आफ्नो वर्षौदेखिको अभियान सफल हुने बाटोमा अघि बढेको समेत गुप्ताले बताए । उनले भने, ‘२० हजार सुनचाँदी व्यवसायीलाई दैनिक २० किलो सुन सरकारले कारोबारको लागि कोटा तोकिएको छ, २० ग्राम सुनको कारोबारले कसरि २० हजार सुनचाँदी व्यवसायी अहिलेसम्म टिकिरहेका छन् भन्ने कुरा अबको अनुसन्धानले पक्कै देखाउनेछ।’
गहनामा जर्ती नलिने घोषणा गर्दै असार १५ गतेसम्मको लागि श्री ऋद्धि सिद्धि ज्वेलर्सबाट एक तोला गहनामा ७ प्रतिशत शुल्क लिने तर जर्ती र ज्याला बापत अन्य शुल्क नलिने घोषणा केहि दिन अघि उनले बिजपाटीसँगको अन्तरवार्तामा बताएका थिए ।
त्यसयता जर्ती र ज्याला बापत एक तोला गहनामा १५ प्रतिशतसम्म शुल्क लिंदै आएका अधिकांश सुनचाँदी व्यवसायीहरुले गुप्ताको कडा आलोचना गर्दै आएका छन् । यतिमात्र नभएर सुनचाँदी व्यवसायीसँग आबद्द नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल हस्तकला महासंघले संयुक्त प्रेस बिज्ञप्ति निकालेर गुप्ताको कदमप्रति विरोध जनाएका छन्।
उता नेपाल सुनचांदी व्यवसायी संघ चितवनले पनि तोलामा १० देखि १५ प्रतिशतसम्म शुल्क लिएर केहि बढी नाफा लिनु स्वाभाविक भएकाले ७ प्रतिशत शुल्क लिने निर्णय फिर्ता लिन बिज्ञप्तिमार्फत आग्रह गरेको छ ।