शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३ औँ वर्षमा प्रवेश, यस्तो छ वित्तीय अवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 05:45:29 PM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited १३ औं वर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवको अवसरमा बैंकले बुटवलको कालिकानगरमा नव निर्मित आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको छ । 

बैंकले राष्ट्रियस्तरमा स्तरोन्नति भएपनि लुम्बिनी प्रदेशलाई केन्द्र मानेर बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ । बैंकलाई समुदायको भावना र चाहना अनुसार अगाडि बढाउदै आएको र लुम्बिनी प्रदेशबासीको पहिलो रोजाईको बैंक बनाउन सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले दाबी गरेका छन् । 

बैकका अध्यक्ष थानेश्वर पौडेलले १२ बर्षअघि छ करोड पूँजीबाट सुरु गरिएको बैंकको चुक्ता पुंँजी ३ अर्ब ४० करोड र जगेडा कोष ७२ करोड गरी ४ अर्ब १२ करोड पुगेको जानकारी दिए । बैंकमा हाल ३३ अर्ब १२ करोड निक्षेप र ३० अर्ब ५० करोड कर्जा प्रवाह गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार बैंकको काठमाडौंमा तीनवटा सहित देशभर ७८ वटा शाखा कार्यालय र तीन वटा एक्स्टेन्सन काउण्टर छन् । लुम्बिनी प्रदेशमा शाखा संख्या, निक्षेप संकलन, कर्जा लगानी, ग्राहक संख्या सबै हिसाबले शाइन रेसुंगा बैंक पहिलो नम्बरमा रहेको बैंकको दाबी छ । 

बैंकले यसअघि अनुमति लिदा लुम्बिनीका तीन जिल्लालाई कारोवार र शाखा सञ्चालन गर्ने गरी अनुमति लिएकोमा राष्ट्र बैंकको निर्देशन अनुसार गुल्मीको रेसुंगा बिकास बैंक, प्युठानको गौमुखी विकास बैंक, भैरहवाको पुर्णिमा विकास बैंक र नेपालगन्जको भार्गव बिकास बैंकलाई मर्ज गरी राष्ट्रिय स्तरको बिकास बैंक बनेको अध्यक्ष पौडेलले बताए । 

बैकमा ६०७ कर्मचारी तथा १६७ जना सुरक्षागार्ड गरी ७७४ जनाले रोजगारी प्राप्त गरेका छन् । बैंकको लुम्बिनी प्रदेशका १० जिल्लामा (रोल्पा र रुकुम बाहेक) ६८ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन कार्यालय, वागमती प्रदेशको चितवनमा १, काठमाडौँमा ३, गण्डकी प्रदेशको बाग्लुङ्गमा १ गरी ७३ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन कार्यालय सञ्चालनमा रहेका छन् भने काठमाडौमा २ वटा, पोखरामा १ वटा, सुदुर पश्चिम प्रदेशको धनगढीमा १ र महेन्दनगरमा १ शाखा कार्यालयको भौतिक संरचना निर्माण भईरहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए । 

नेपाल राष्ट्र बैंकले कूल कर्जाको कम्तीमा १६ प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत ब्यवस्था गरेकोमा बैंकले २०७७ पौष मसान्तसम्ममा उत्पादनशील क्षेत्रमा कूल कर्जाको २४.६९ प्रतिशत लगानी गरेको छ भने कृषि लगायत ब्याज अनुदानमा आधारित कर्जा १०.९९ प्रतिशत कर्जा प्रवाह गरेको छ । 

बैंकले लघु, घरेलु तथा साना उद्यम १५ लाखसम्मका उद्यम, व्यापार व्यावसाय कर्जा अन्तर्गत ३०४ जना ऋणीलाई २४ करोड रुपैयाँ ५ प्रतिशत व्याज दरमा प्रदान गरिएको छ । महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम व्यावसाय, प्राकृतिक प्रकोपवाट प्रभावित क्षेत्रमा ६ जना ऋणीलाई ४ करोड १९ लाख ३ प्रतिशत ब्याज दरमा विशेष पुनरकर्जा प्रदान गरिएको छ । साधारण पुनरकर्जा अन्तर्गत ७२ जना ऋणीलाई ६४ करोड ६ लाख ५ प्रतिशत ब्याजदरमा प्रदान गरिएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved