
 2mb (1).gif)
महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले 'चोरबाटो' बाट बैंकमा आफ्नो सेयर हिस्सा बढाएको पाइएको छ। कुनै पनि बैंक वित्तीय सँस्थाको अध्यक्ष तथा तोकिएका पदमा बहाल रहेको अवस्थामा आफु वा तोकिएका व्यक्तिहरुको नाममा सम्बन्धित सँस्थाको सेयर खरिद गर्न नपाइने कानुनी व्यवस्था भएकाले अध्यक्ष उपाध्यायले बिभिन्न प्रकृयाबाट आफु निकट आफन्तहरुको नाममा सेयर किनेर बैंकमा आफ्नो हिस्सा बढाएका हुन्।
बिजपाटीलाई प्राप्त कागजातअनुसार उनले बिभिन्न समयमा आफन्तहरुको नाममा सेयर खरिद गरेर झन्डै १६ लाख कित्ता पुर्याएका छन्। महालक्ष्मी विकास बैंकको अध्यक्ष बन्नु अगाडी ६० हजार कित्ता रहेकोमा अहिले उनीसंग झन्डै १६ लाख कित्ता सेयर रहेको छ। महालक्ष्मी विकास बैंकसँग मर्ज गर्दा उनि एति डेभलपमेन्ट बैंकका अध्यक्ष थिए।
उपाध्यायले नातामा सासु पर्ने सिता शर्मा, भाई पर्ने दिपेन्द्र शर्मा र बबी शर्मा, बहिनि पर्ने रेखा उपाध्याय, बैंकमा आफ्नो गुटका बिश्वासपात्र कर्मचारी, व्यवसायिक साझेदार तथा एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लव वन्त लगायतको आफन्तको नाममा बिभिन्न समयमा संस्थापक सेयर खरीद गरेका छन्।
उपाध्यायले बिभिन्न समयमा गरेर आफन्तहरुको नाममा मात्रै झन्डै ११ लाख कित्ता सेयर खरिद गरेका छन् भने बैंक भित्रैका आफु निकटका अन्य कर्मचारी तथा उनका आफन्तको नाममा समेत सेयर खरिद गरेका छन्।
उनले व्यवसायिक साझेदार तथा एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तको नाममा २०७२ साल भदौ १५ गते डेढ लाख कित्ता संस्थापक सेयर किनेका छन्। यो सेयर भवानी थापाको नामबाट सुनिल बल्लभ पन्तको नाममा खरिद गरिएको हो।
त्यस्तै उपाध्यायले २०७२ साल कात्तिक १३ गते पन्तको नाममा थप २५ हजार कित्ता संस्थापक सेयर खरिद गरेका छन्। प्रकाश आचार्यको नाममा रहेको संस्थापक सेयर पन्तको नामबाट खरिद गरिएको हो।
नेपाल राष्ट्र बैंकको कानुनी व्यवस्थाअनुसार कुनै पनि संचालकले आफु पदमा रहंदा एकाघर सदस्यको नाममा सोहि सँस्थाको सेयर खरिद गर्न नपाउने व्यवस्था रहेको छ। बैंक वित्तीय सँस्थालाई नियमन गर्न बनेको बैंक वित्तीय सँस्था सम्बन्धित ऐन २०७३, 'बाफिया' को दफा १२ मा यसबारे उल्लेख छ। एकाघर सदस्यको नाममा सेयर खरिद गर्दा कानुन आकर्षित हुने डरले उपाध्यायले आफ्नो ससुराली तर्फ तथा अन्य निकट आफन्तको नाममा सेयर खरिद गरेका हुन्।
अध्यक्ष पदमा बहाल रहंदारहँदै कानुन बिपरित आफन्तको नाममा संस्थापक सेयर खरिद गरेको बिषयबारे उपाध्यायसँग बिभिन्न माध्यम मार्फत पटक पटक सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेको छैन।
बाफियाको दफा १२ मा भनिएको छ, 'बैड्ढ वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा बैड्ढ वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित बैड्ढ वा वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै पनि व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन, हस्तान्तरण गर्न वा लेनदेन गर्न हुदैन।"
यस व्यवस्थामा बैड्ढ वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा बैड्ढ वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले अन्य कुनै पनि व्यक्ति वा अन्य व्यक्तिलाई खरिद बिक्रि गर्न र गराउन नपाइनेबारे स्पष्ट व्यवस्था छ।
कसैले यो कानुनी व्यवस्था विपरीत कुनै काम गरेमा त्यस्तो धितोपत्र सम्बन्धित बैड्ढ वा वित्तीय संस्थाले जफत गरी राष्ट्र बैड्ढले तोके बमोजिम बिक्रीवितरण गर्नु पर्ने बाफियाको दफा १२ को उपदफा २ मा उल्लेख छ।
बैंकको अध्यक्ष जस्तो व्यक्तिले आफन्तको नाममा यसरी सेयर खरिद गरेको बिषय निरीक्षणको क्रममा पत्ता लाग्नु पर्ने बताउदै नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव ढकालले त्यस्तो पाइएमा कानुनअनुसार कारबाही हुने बिजपाटीलाई बताए।
'यसरी सेयर खरिद गर्न पाइदैन भनेर कानुनले स्पष्ट रुपमा बोलेको छ, कसैले यसरी आफ्नो वा आफन्तको नाममा सेयर खरिद गरेको छ भने त्यसलाई कानुन अनुसार कारबाही हुन्छ' ढकालले बताए।
यस्तै प्रकृतिको घटनासँग जोडिएकाले भिष्म ढुंगानालाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदबाट सरकारले निलम्बन गरेको थियो भने नेपाल स्टक एक्सचेन्जको सीईओ पदबाट चन्द्र सिंह साउदले राजिनामा दिनुपरेको थियो। बुक बिल्डिङ प्रकृया मार्फत प्रिमियम मुल्यमा आइपीओ बिक्रि गर्ने तयारीमा रहेको संस्थापक सेयर पदमा बहाल रहेकै बेला ढुंगानाले आफ्नो छोरिको नाममा खरिद गरेका थिए भने साउदले आफ्नो श्रीमतीको नाममा खरिद गरेका थिए।
कानुनी व्यवस्थाअनुसार उनीहरुले यसरी सेयर खरिद गर्न पाउने भएपनि नैतिकताको आधारमा पदमै रहेका बेला यसरी सेयर खरिद गर्नु गलत भएको भन्दै नियामक तथा सर्वसाधारणले उनीहरुको राजिनामा मागेका थिए।