
 2mb (1).gif)
विकास बैंकहरुले ब्याजदरबारे भद्र सहमति गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारीहरुको छलफलले ब्याजदरको सिलिङ तोक्ने सहमति गरेको हो।
जस अनुसार राष्ट्रिय स्तरका विकास बैंकले मुद्दती निक्षेपको ब्याजदर अधिकतम १०.२५ प्रतिशतसम्म र साधारण बचतको न्युनतम ब्याज ५.२५ प्रतिशतसम्म कायम गर्ने सहमति भएको स्रोतले जनाएको छ । त्यस्तै क्षेत्रिय स्तरका विकास बैंकहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.३० प्रतिशत र साधारण बचतको न्युनतम ब्याज ५.३० प्रतिशतसम्म कायम गर्ने सहमति भएको बताईएको छ ।
राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई अघिल्लो महिनामा रहेको सोहि वर्गका बैंकहरुको औसत ब्याजदरमा १० प्रतिशतसम्म मात्र बढाउँन सक्ने गरि निर्देशन जारी गरेको थियो ।
विकास बैंकहरुले ब्याजदरमा सहमति गरेपनि निक्षेपको ब्याजदर एकल अंकमा राख्ने वाणिज्य बैंकहरुको प्रयास भने असफल भएको छ। बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले अधिकतम ब्याजदर एकल अंक मै राख्नको लागि आज दिनभर जस्तो छलफल गरे पनि सो प्रयास अफल भएको हो।
सीइओहरुबीच मुद्दतीको निक्षेपको ब्याजदर एकल अंकमा राख्ने प्रयास असफल भएसंगै अब अधिकांश बैंकहरुले नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशन अनुसार नै औसत ब्याजदरमा १० प्रतिशत बढाएर ब्याजदर कायम गर्ने छन् । जस अनुसार अधिकांश वाणिज्य बैंकहरुले भोलि मंगलबार मङ्सिर महिनाको लागि डबल अंकको ब्याजदर प्रकाशन गर्ने एक सीईओले बताए। उनका अनुसार अधिकांश बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १०.०५ प्रतिशत, संस्थागत निक्षेपमा अधिकतम ९.०५ प्रतिशत र साधारण वचतमा न्युनतम ५.०५ प्रतिशत कायम गरिएको सूचना प्रकाशन गर्ने सम्भावना छ ।
बैंकहरुबीच अधिकतम ब्याजदर ९.७५ प्रतिशतसम्म कायम गर्नको छलफल भएको थियो । तर बैंकहरुले एकल अंकको ब्याजदर राख्दा विकास बैंक र वाणिज्य बैंकको ब्याजदरको अन्तर धेरै हुने र त्यसो हुँदा वाणिज्य बैंकको निक्षेप विकास बैंकमा जान सक्ने भएकोले दोहोरो अंक कै ब्याजदरमा जाने सहमति बैंकहरुले गरेको बताईएको छ।