[Exclusive]कर्णाली डेभलपमेन्ट बैंक मिटरब्याजीको कब्जामा, निक्षेपकर्ताको अर्बौं रकम जोखिममा

Mohammad Ajmat Ali / Niroj Thapa

Mohammad Ajmat Ali / Niroj Thapa

Dec 29, 2022 | 02:33:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंकका रूपमा स्थापित भएको कर्णाली डेभलपमेन्ट बैंकमा डमी ऋणी र कम्पनी खडा गरेर अर्बौं रुपैयाँको अपचलन गरिएको छ ।

बैंककै उच्च व्यवस्थापन, कर्जा विभागका कर्मचारी, मालपोत कार्यालय र व्यवसायी तिलक बिकको गिरोहको मिलोमतोमा नक्कली जग्गाधनी र ऋणी खडा गरी रातारात ऋण प्रवाह गर्ने र पैसा आफैंले अपचलन गर्ने गरेको खुलेको हो ।

बैंकमा कर्जा लिन आउनेको जग्गा हडपेर लेख्न पढ्न नजान्ने, शारीरिक रूपमा अशक्त, बैंकमै काम गर्ने केही सोझासिधा कर्मचारीका नाममा नामसारी गरी महँगो ब्याज (सय कडा ४)मा मिटरब्याजी कर्जा दिने र हडपेको सोही जग्गा बैंकमा राखेर जग्गाको वास्तविक धितो मूल्य भन्दा धेरै ऋण लिने गरेको भेटिएको छ ।

बिजपाटीको अध्ययनमा अहिलेसम्म डेढ अर्ब रकम ऋणको नाममा अपचलन भएको देखिएको छ । तर वास्तविक तथ्यांक त्यो भन्दा बढी हुन सक्ने विभिन्न दस्तावेजहरूले देखाउँछन् ।

जग्गा नामसारी गरी ऋण बोकाउन यो गिरोहले रुकुमदेखि मान्छे सप्लाइ गर्न सक्रिय रहेको तथ्य बिजपाटीले पत्ता लगाएको छ । त्यसरी डमी जग्गाधनी र ऋणी  खडा गरेर बैंकबाट निकालिएको पैसा यही गिरोहले आफू निकटका पात्र मार्फत पुनः मिटरब्याजका लागि प्रयोग गर्ने गरेका छन् । मिटरब्याज लगाउने व्यक्ति बैंक उच्च व्यवस्थापन र संचालकका आफन्तसमेत रहेको बिजपाटीको निरीक्षणमा देखिएको छ ।

अचम्मको कुरा त के भने ऋण बोक्नेहरूलाई आफ्नो नाममा कहाँ कति जग्गा छ र त्यो जग्गा धितो राखेर कति ऋण लिइएको छ भन्ने नै थाहा छैन । ऋण बोकिदिनेहरूलाई बिभिन्न प्रलोभन र धम्की दिएर कागजमा सही गर्न लगाइन्छ ।

यसमा जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका केही कर्मचारीहरूको पनि मिलेमतो रहेको तथ्य बिजपाटीले फेला पारेको छ । जग्गा नामसारी गर्ने र धितो रोक्का गर्ने काम बाँके मालपोत कार्यालयका एक कर्मचारीले सेटिङमा गर्ने गर्छन् । उनले कार्यालय समयभन्दा अतिरिक्त समयमा बिहान र राति पनि कार्यालयमै बसेर जग्गाको सेटिङ मिलाउने गरेका हुन् ।

बैंकबाट ऋण लिएर मिटरब्याजी धन्दा चलाउनकै निम्ति तिलक बिकले २५ भन्दा बढी डमी कम्पनीसमेत खोलेका छन् । नेपालगंजको न्यूरोडस्थित एउटा अफिसबाट नै उनका सबै कम्पनीहरू चलेका छन् । उनले ऋण लिने प्रयोजनकै निम्ति कम्पनी खडा गर्ने गरेका हुन् । ऋण लिएपछि कम्पनी बन्द गरेर अर्को खोलिन्छ ।  

पढ्न लेख्न नजान्नेलाई ऋण बोकाएर त्यो पैसा मिटरब्याजमा लगाएका यो गिरोहले कर्णाली बिकास बैंकका उच्च व्यवस्थापन, संचालक, नेपालगंजमा संचालित अन्य बैंक विकास बैंकका शाखा प्रमुख, मालपोत कार्यालय, प्रहरी प्रशासनको मिलेमतोमा नेपालगंजमा लूटको सञ्जाल नै स्थापित गरेका छन् ।

यस प्रकरणका मुख्य नाइके तिलक बिकले आफ्नो गाडी चलाउने ड्राइभरको नाममा दुई पटक गरेर ९८ लाख ऋण लिएका छन् र अहिलेसम्म उनले यसको ब्याज मात्र तिर्दै आएका छन् । तर विडम्बना, ड्राइभर काम गरे बापतको तलब माग्दा शक्तिको दुरुपयोग गरेर बिकले यिनै ड्राइभरलाई जेल समेत हालेको र अहिलेसम्म एक रुपैयाँ पनि तलब बापतको पैसा नदिएको र रित्तो हात फर्काएको तथ्य बिजपाटीले फेला पारेको छ ।

तिलक विकको कालो कर्तुत यहीं अन्त्य हुदैन । व्यक्तिको जग्गा हडपेर धितो भन्दा बढी कर्जा लिने गरेका तिलकले अन्य व्यक्तिहरूको नाममा कम्पनी नै खडा गरेर पनि मोटो रकम ऋण लिएका छन् ।

बिकले लेखपढ पनि गर्न नजान्ने र आम्दानीको स्रोत पनि नभएको एक व्यक्तिको नाममा कम्पनी खडा गरेर उक्त कम्पनीको नाममा गिरोहकै मिलोमतोमा कर्णाली विकास बैंकबाट १४ करोड ४० लाख ऋण लिएका छन् ।

यी व्यक्तिलाई पनि तिलक बिकले  कम्पनीको मालिक बनाइदिएका छन् र उनको नाममा लिइएको १४ करोड ४० लाख ऋण आफैं प्रयोग गर्ने गरेको बिजपाटीलाई प्राप्त उक्त कम्पनीको बैंक स्टेटमेन्टमा देखिन्छ ।

ति व्यक्तिले आफ्नो नाममा कम्पनी र जग्गा भएको तर कस्तो कम्पनी र जग्गा कहाँ छ भन्ने कुराको कुनै जानकारी नभएको बताएका छन् । धेरै कर्जा लिने २० कम्पनीमध्ये दर्जन भन्दा बढी कम्पनी डमी रहेको बिजपाटीले पत्ता लगाएको छ । कतिपय डमी कम्पनीहरूले पछिल्लो चार वर्षयता ऋणको साँवा भुक्तानी गरेका छैनन् अर्थात ऋण यथावत छ ।    

अचम्मको कुरा त के छ भने यो गिरोहले कम्पनीको नाम, कर्जा स्वीकृत गर्दाको नम्बरमा एकै कोड प्रयोग गर्ने गरेका छन् । बैंकका उच्च व्यवस्थापनमा रहेका व्यक्ति, संचालक समितिमा भएका व्यक्ति र तिलकको नाम मिलाएर कम्पनीको नाम राखिएको छ । यो गिरोह सामेल भएर डमी जग्गाधनी र ऋणी राखेर निकालिएको कर्जाको कोड पनि एकै नम्बर राखिएको छ । बिजपाटीलाई प्राप्त दस्तावेजमा कर्जाको कोड मात्र नभएर व्यक्ति र कम्पनीको नागरिकता नम्बर पनि एउटै राखिएको भेटिएको छ ।

यस विषयमा बैंककै एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, 'यहाँ त्यस्ता दर्जनौ त्यस्ता व्यक्ति छन्, जसलाई डमी जग्गाधनी र ऋणी बनाइएको छ । आफ्ना कामदार र नजिकका सोझा मान्छेको नाममा डमी कम्पनी खडा गरेर कर्जा निकालिएको छ । यो प्रकरणमा तिलक मात्र देखिएपनि बैंकका उच्च व्यवस्थापन, संचालक समिति सदस्य, कर्जा विभाग र मालपोत कार्यालयका व्यक्तिहरु सामेल गिरोहको मिलिभगत छ । यस्तो हत्कण्डा अपनाएर बैंकबाट झिकिएको पैसा यो गिरोहका सबै मिलेर प्रयोग गर्ने गरेका छन् । हामीले निक्षेपकर्ताको पैसा यसरी जोखिममा राख्नु हुन्न भनेर पटक-पटक आवाज उठाउने प्रयास गरेका थियौं तर सफल हुन सकेनौं ।'

यसरी बैंकबाट सेटिङमा लिइएको ऋण प्रयोग गरेर एउटा फर्जी कम्पनी खडा गरेर त्यो कम्पनीको नाममा भक्तपुरको सुर्यविनायकमा ४१ रोपनी जग्गा किनिएको छ । उक्त जग्गा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दाइ राकेश प्रसाईंबाट खरिद गरिएको हो ।

न्यून मूल्यका धितोको मूल्य धेरै देखाउने कर्ममा सामेल भ्यालुएटर नै अहिले कर्णाली विकास बैंकका संचालक भएको समेत बिजपाटीको निरीक्षणको क्रममा भेटिएको छ । उनी संचालक समितिमा आएपछि भ्यालुएटरको काम गर्न अहिले छुट्टै पात्र खडा गरिएको छ ।

यसबारे प्रश्न गर्दा बैंकका सीईओ दिनेश कुमार रावतले केही गल्ती भएको हुनसक्ने भन्दै घुमाउरो ढंगले डमी ऋणी र कम्पनी खडा गरेर ऋण बोकाइएको स्वीकार गरे । 'केही गल्ती भएको हुनसक्छ,' रावतले बिजपाटीसँग भने, 'के कसरी भएको हो, त्यो खोजेर मिलाउने प्रयास गर्दैछु ।'

यो प्रकरणमा पटक-पटक समष्टिगत, विशेष र लक्षित निरीक्षणमा गएको राष्ट्र बैंकका कर्मचारीहरूको समेत मिलिभगतमा भएको हुनसक्ने देखिएको छ । यसअघि निरीक्षणमा गएका एक कर्मचारी भन्छन्, 'प्रदेश तहको विकास बैंक भएकाले त्यहींको अनुकूलतामा चल्ने हुन्छ । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई कमर्शियल बैंकलाई जस्तो कडाइ गरेर निरीक्षण गर्दैन ।'

उनले आफूले निरीक्षण गर्दाको समय कागजपत्रमा सबै ठीकै देखिएकाले त्यहीअनुसारको प्रतिवेदन बनाएर बुझाएको बताए ।

'म यसअघि एकपटक निरीक्षणमा गएको हुँ, तर मैले हेरेको स्याम्पल र गरेको अध्ययनमा कुनै नराम्रो कैफियत देखिएको थिएन । यद्यपि सबै ठीकठाक छ भन्ने पनि दाबी गर्न म सक्दिन । तपाईं मिडियाकर्मीहरूले पनि खोजखाज गरेर कतिपय सूचना बाहिर ल्याएर सहयोग गर्नुपर्छ ।' उनले आफ्नो नाम उल्लेख नगर्न आग्रह गरे ।

बैंकबाट भएका अपचलनहरूको अध्ययन गर्नकै निम्ति बिजपाटीको टीम एक साता भन्दा बढी नेपालगंज बसेको थियो । यस प्रकरणसँग जोडिएका सम्पूर्ण कागजात, पीडितहरुको भनाइ र उनीहरूको बैंक स्टेटमेन्ट, मालपोत कार्यालयमा रहेका जग्गाको लालपूर्जा बिजपाटीसँग सुरक्षित छन् । अनुसन्धानका क्रममा फेला परेका थप तथ्यहरु हामी निरन्तर प्रकाशित गर्दै जानेछौं ।

समाचार प्रकाशित भएपछि  सम्पर्कमा आएका व्यक्तिहरुको भनाईलाई स्थान दीइएको छ। र यस समाचारसँग सम्बन्धित कागजात र अन्य प्रमाण बिजपाटी डटकमसँग सुरक्षित छ। -सम्पादक

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved