नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लङ्घन गरेको भन्दै तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। कारबाही स्वरुप केहिलाई सचेत गराइएको छ भने केहीलाई नगद जरिवाना नै तिराइएको राष्ट्र बैंकले जनाएको छ।
निर्देशन उल्लङ्घन गरेर कारबाहीमा पर्नेमा मितेरी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र सिन्धु बिकास बैंक रहेका छन् भने फाइनान्स कम्पनीमा रिलायन्स, प्रोग्रेसिभ, जानकी र गुर्खाज रहेका छन्।
रिलायन्स फाइनान्सलाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै ११ हजार २२७ रुपैयाँ जरिवाना भर्न लगाइएको छ भने अरु तीन विकास बैंक र तीन फाइनान्सलाई सचेत गराइएको छ।
मितेरी ४ दशमलब ६० प्रतिशत ब्याजदर अन्तर कायम गरेकोले तथा सिन्धु र साल्पाले वित्तिय विवरण बुझाउन ढिलाई गरेकोमा कारबाहीमा परेका हुन्। त्यस्तै प्रोग्रेसिभ, जानकीले वित्तिय विवरण बुझाउन ढिला गरेकाले र गुर्खाज फाइनान्सले स्वार्थ बांझिने गरि ग्राहकसंग कारोबार गरेकाले कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ।