
ज्योति विकास बैंकले रेशम राज रेग्मीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ। माघ २३ गते बसेको ५०९ औं सञ्चालक समिति बैठकले रेग्मीलाई बैंकको स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल माघ २३ गतेदेखि लागू हुनेछ।
वरिष्ठ अधिवक्ता रेग्मीलाई बैंकिङ तथा कानूनी क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव छ। उनले नेपाल राष्ट्र बैंकमा विभिन्न जिम्मेवारी सम्हाल्नुका साथै नेपाल सरकारका विभिन्न निकायहरूमा कानूनी सल्लाहकारका रूपमा योगदान दिएका छन्। कानून विषयमा स्नातकोत्तर गरेका रेग्मी नेपाल मध्यस्ता परिषदको आजीवन सदस्य हुन् तथा संस्थागत सुशासन, एएमएल (Anti-Money Laundering) र समग्र बैंकिङ क्षेत्रका विषयमा विशेषज्ञता राख्छन्।
रेग्मीले बैंकिङ कानून र संस्थागत सुशासन सम्बन्धी पुस्तकहरू प्रकाशन गर्नुका साथै विभिन्न जर्नल तथा रिसर्च पेपरमा आलेख प्रकाशित गरेका छन्। बैंकले उनको दीर्घकालीन अनुभव तथा विशेषज्ञताले संस्थालाई थप सबल बनाउने विश्वास व्यक्त गरेको छ।
संस्थागत सुशासनलाई प्राथमिकता दिँदै, ज्योति विकास बैंकले समाजप्रति उत्तरदायी भूमिका निर्वाह गरिरहेको छ। बैंकले अन्य वित्तीय संस्थाहरूको तुलनामा ५०% बढी सामाजिक उत्तरदायित्वको लागि बजेट छुट्याउँदै आएको छ।
विशेष गरी, बैंकले नवजात शिशुहरूको अकाल मृत्यु रोक्न ‘न्यानो नानी’ अभियानमार्फत ५१ वटा न्यानो नानी केन्द्र सञ्चालन गरी प्रत्येक वर्ष १,८८७ भन्दा बढी नेपाली शिशुको जीवन रक्षा गरिरहेको छ।
हाल ज्योति विकास बैंकले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत देशभर वित्तीय सेवा प्रदान गरिरहेको छ। बैंकले भविष्यमा पनि नवीनतम सेवाहरू सहित दिगो वित्तीय समावेशीकरणमा योगदान दिने प्रतिवद्धता जनाएको छ।