
कामना सेवा विकास बैंक र नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) चितवनको सहकार्यमा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम चितवनमा आयोजित भएको थियो, जहाँ करीब ६० भन्दा बढी युवाव्यवसायीको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले गरेको थिए भने, कामना सेवाविकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिएविमनकार्कि र नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष सुर्य भक्त अधिकारीले समेत सम्बोधन गरेका थिए।
कार्यक्रममा एफसिएविमनकार्कि ने बैंक र व्यवसायी बीचको सम्बन्धलाई दृढ बनाउन, प्रचलित कानूनी ढाँचामा कार्य गर्ने महत्त्वलाई प्रकाश पारे। उनले भने, “आर्थिक चक्रका हरेक चरणमा बैंक र व्यवसायी बीच मत भिन्नता हुने सम्भावना छ, तर प्रचलित नियम र कानूनी ढाँचामा व्यवसाय सञ्चालन गर्नुपर्छ।”
नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष सुर्य भक्त अधिकारीले कोरोना महामारीको कारण व्यवसायमा आएको अवरोध र नियमनकारी निकायका नीतिहरूले व्यवसायीलाई थप कठिनाइमा पार्ने चर्चा गरे। उनले भने, “बैंकहरूले साना र मध्यम व्यवसायीहरूको संरक्षण गर्नुपर्ने आवश्यकता छ।”
कार्यक्रममा कामना सेवाविकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले नियमन र वित्तीय अनुशासनलाई सकारात्मक प्रभाव पर्ने भन्दै व्यवसायीहरूलाई दीर्घकालीन फाइदाका लागि सहयोग पुर्याउनुपर्ने बताए।
पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त राज पराजुली र चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र वलीले बैंकहरूको सहयोग र विशेष माया गर्ने आवश्यक्ता भएको कुरा राखे। कार्यक्रममा युवा व्यवसायी अर्जुन रानाभाट र निरञ्जन न्यौपानेले प्रश्नहरू उठाए र वक्ताहरूले ती जिज्ञासाहरूमा जवाफ दिए।
कार्यक्रमको अध्यक्षता नेपाल युवा उद्यमी मञ्च चितवनका प्रथम उपाध्यक्ष निशान पौडेलले गरेका थिए, र यसमा मञ्चका द्वितीय उपाध्यक्ष सन्तोष कडेलले स्वागत मन्तव्य राखे। कामना सेवाविकास बैंकका ब्रान्डिङ विभाग प्रमुख सुशील पौडेलले कार्यक्रममा उद्देश्य प्रस्तुत गरे।
कार्यक्रमको समापनमा, कामना सेवाविकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले बैंक र व्यवसायी बीचको राम्रो सम्वन्धलाई व्यवसायिक सफलता र स्थायित्वका लागि महत्त्वपूर्ण ठहर गर्दै भविष्यमा सहकार्यको वातावरण सृजना गर्ने कुरामा जोड दिए।