महालक्ष्मी विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रवर्द्धनका लागि सञ्चालन गरेको “नेपाल दसैं अभियान २०२४” अन्तर्गत विजेताहरूको घोषणा गरेको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै दशैंको अवसरमा आफ्ना भिसा कार्डधनी ग्राहकहरूबीच उक्त अभियान सञ्चालन गरेको थियो।
उक्त अभियान अन्तर्गत विजेताका रूपमा नारायण कार्की र सन्तोष ध्वज कार्की चयन भएका छन्। यी दुई विजेताले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये एक गन्तव्यको विशेष अन्तर्राष्ट्रिय भ्रमण अवसर प्राप्त गर्नेछन्।
बैंकका अनुसार नेपालभरबाट ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको यस अभियानले डिजिटल भुक्तानीप्रति ग्राहकको रुचि र प्रयोग प्रवृत्तिमा सकारात्मक प्रभाव पारेको छ। बैंकले नविनतम प्रविधिको प्रयोगमा जोड दिँदै यस्ता अभियानहरू भविष्यमा पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
साथै, बैंकले हालै आफ्ना डिजिटल सेवाहरूलाई थप परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ। यो एप्लिकेसनमार्फत ग्राहकले सुरक्षित, सहज र आधुनिक बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन्।