‘म १० बर्ष अघि धितोपत्र बोर्डको अध्यक्ष हुँदा पनि लगानीकर्ता १५ लाख थिए, अहिले १० बर्ष पछि पनि १५ लाख नै छन, के लगानीकर्ता नबढेका हुन ?’ यो बहालवाला गभर्नर ड़ा चिरिन्जीबी नेपालले संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा बोलेको कुरा हो।
आफुलाई सेयरबजारको बिज्ञ भन्नेदेखि लिएर लगानीकर्ताको हकहितलाई खोलिएका दाबी गर्ने लगानीकर्ता संघहरुले १५ लाख भन्दा बढी लगानीकर्ता रहेको दाबी गर्दै आएका छन् । तर गभर्नर नेपालको जिज्ञासा जस्तै लगानीकर्ता कति छन् भन्ने यकिन छैन । यहाँ लगानीकर्ताको संख्या र ति मध्ये नियमित कारोबार गर्नेको संख्या खोजीनीति गर्ने प्रयास गरिएको छ ।
केन्द्रीय निक्षेप प्रणाली (सिडीएस) को तथ्यांक अनुसार हाल १४ लाख ४२ बजार डिम्याट खाता रहेका छन् । झट्ट सुन्दा त्यति नै संख्यामा लगानीकर्ता होलान भन्ने लाग्न सक्छ । तर यथार्थ त्यस्तो छैन । यी मध्ये धेरैको कम्तिमा २ वटा बढीमा जति पनि डिम्याट खाता छन् । अर्थात व्यक्ति एकै भएपनि उनीहरुको डिम्याटको खाताको संख्या बहु छ | यस हिसाबले जति खोलिएको छ त्यति नै जना लगानीकर्ता छन् भन्नु गलत हुन्छ ।
प्रश्न उठ्न सक्छ, एउटा व्यक्तिलाई १ भन्दा धेरै खाता किन आवश्यक पर्यो वा सिडीएसले बढी भएको खाता किन बन्द गर्दैन । पहिले जति वटा पनि खाता खोल्न मिल्नेमा अहिले २ वटा मात्र राख्न पाइने भन्ने धितोपत्र वोर्डको निर्देशन भए पनि यो प्रभावकारी कार्यान्वयन हुन् सकेको छैन | यसैको लागि सिडीएसले बढी खाता हुनेलाई खाता बन्द गर्न आग्रह गरिरहेको छ । तर यसमा एउटा समस्या देखिएको छ जसबारे के गर्ने भन्नेबारे नियामक अनुत्तरित छन् । खातामा १ कित्ता भन्दा कम शेयर भएका खातालाई बन्द गर्न कठिन भएको सिडिएसको दाबि छ। बोनस घोषणा गर्दा १ कित्ता भन्दा कम अर्थात् दशमलवमा रहेका शेयरहरु खाता मै हुँदा त्यसलाई बन्द गर्न समस्या भएको हो । उदाहरणको लागि कुनै डीम्याट खातामा ०.७० शेयर भएको खाता कसरि बन्द गर्ने । न त त्यो शेयर बेच्न नै मिल्छ !
एकातर्फ एकै व्यक्तिको धेरै खाता हुँदा डिम्याटको संख्या हेरेर लगानीकर्ताको संख्या अन्दाज गर्नु गलत हुन्छ भने अर्को तर्फ डिम्याट नगरिएका शेयर पनि छन् र ति पनि लगानीकर्ता हुन् भन्ने ख्याल गर्नुपर्छ । सिडिएसका अनुसार अझै पनि करिब २० प्रतिशत शेयर डिम्याटमा आएका छैनन् । नेपाल स्टक एक्चेन्जको घरायसी तथा मुत्यु नामसारी शाखामा अझै पनि लाखौ कित्ता शेयर प्रमाणपत्र रहेका छन | ति शेयरका शेयरधनी सम्पर्क बाहिर छन् । र सम्भवतः ति आउने सम्भावना कम नै छ ।
शेयर खरिद गर्ने बितिक्कै लगानीकर्ता भन्न नमिल्ने एकथरि विश्लेषकहरुको भनाई छ । कुनै कम्पनीको प्राथमिक शेयरमा लगानी गर्नेहरु ‘लगानीकर्ता’ नभई ‘शेयरधनी’ मात्र भएको उनीहरु तर्क गर्छन । यस तर्कलाई एकपटक बिर्सेर अब कारोबार गर्ने लगानीकर्ताको संख्या हेरौ । रोचक त् के छ भने दोस्रो बजारबाट शेयर कारोबार गर्ने सख्या एकदमै न्यून छ । केहि साता अगाडीको डाटालाई हेर्दा डिम्याट संख्या १४ लाख ३० हजार हुँदा ८ लाख ७१ हजार डिम्याटमा शेयर नै थिएन । अर्थात् ५ लाख ५८ हजार डिम्याटमा मात्र शेयर थिए । अहिले दोस्रो बजारमा शेयर खरिद बिक्रि गर्न शेयर अनिवार्य डिम्याट गरिएको हुनुपर्छ । यस हिसाबमा ६ लाख भन्दा कमले मात्र दोस्रो बजारबाट शेयर खरिद बिक्रि गरेका छन् । यी मध्ये पनि अधिकांशसँग आईपिओ मार्फत परेको शेयर मात्र डिम्याटमा छ । अर्थात् उनीहरुले दोस्रो बजारबाट शेयर नै खरिद गरेका छैनन् ।
प्रश्न उठ्न सक्छ ८ लाख ७१ हजार डिम्याट कसरि खाली भए ? यी मध्ये अधिकांश संचयकोषका संचयकर्ताका खाता हुन् । संचयकर्ताले अपर तामाकोशी, सान्जेन, रसुवागढी र मध्य भोटेकोशीको शेयर खरिद गर्नको लागि खाता खोलेका थिए । उनीहरुको शेयर ३ बर्षको लकिंग पिरियडमा रहने र त्यो समय पुरा भएपछि मात्र खातामा आउने भएकोले ति खाता खाली भएका हुन | त्यस्तै हाइड्रो कम्पनीहरुले आयोजना प्रभावितलाई जारी गर्ने आईपिओ किनेकाहरुको हकमा यहि लागु हुन्छ । यिनै कारण ठुलो संख्यामा डिम्याट खाता खाली छ ।
नेप्सेले अनलाइन ट्रेडिङ ल्याएपछि हालसम्म ५ हजारभन्दा पनि कमले अनलाइन कारोबारको लागि युजर नेम र पासवर्ड लिएका छन् । यसले पनि दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता एकदम न्यून रहेको देखाउछ । नेप्सेका अनुसार हाल औसतमा दैनिक ४२ देखि ४३ सयले मात्र दोस्रो बजारमा कारोबार गर्दै आएका छन् । हुनत अहिले बजार घट्दो क्रममा रहेकोले बजारप्रति लगानीकर्ताको आकर्षण छैन । तर बजार बुम भएको बेला पनि यो संख्या धेरै थिएन । गत बर्ष असोज १७ गते बजार १६ सय ६० आसपास रहेको बेला सबै भन्दा धेरै अर्थात् ११ हजार २ सयले दोस्रो बजारमा कारोबार गरेका थिए । यसबाट सजिल्यै अनुमान लगाउन सकिन्छ कि दोस्रो बजारमा नियमित कारोबार गर्नेहरु १ लाख भन्दा पनि कम छन् ।