फुलमालाले मात्र शहिदप्रति सम्मान हुँदैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2021 | 09:34:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सुजन दाहाल

जो मरेर पनि सदाको लागि र सवैको लागि अमर रहन्छ त्यो शहिद हो । हरेक व्यक्ति सहिदको नाम सुन्दा मात्र पनि नतमस्तक हुने गर्छ र हुनु पर्छ । सहिदका सन्तानले आफ्नो पुर्खा सहिद भएकोमा गौरव गर्न पाउनु पर्छ । मातृभूमीको निमित्त वलिदानी दिएको थोपा थोपा रगतको मुल्यलाई अमुल्य ठानी उनीहरुलाई जीवन पर्यन्त्त सम्मान गर्नु पर्दछ ।

हरेक बर्ष माघ १६ गते शहिद दिवस आउने गर्छ । उक्त एक दिन राज्य संचालकहरु राजनैतिक दलका नेताहरु लगायतले शहिदका शालिकमा फूलमाला चढाउने गर्छन् । फुलमाला चढाएर फरक्क पिछाडी फर्किए पछि बाँकी ३६४ दिन शहिदलाई सम्झदा पनि सम्झदैनन् र शहिदले देखाएको बाटोमा हिडदा पनि हिडदैनन् । यो दुभाग्य र विडम्बनाको कुरो हो । 

 आज सहिदको रगत र परिवारको आशुसंग खेलवाड गर्ने काम भएको छ । शहिदका सपनाहरुलाई कुल्चिएर हिड्ने काम भएको छ । शहिद भन्ने वित्तिकै सवैले सम्झने धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथचन्दलाई हो जसको नाम लिने वित्तिकै सवै नेपालीको शिर झुकाउछन् । जहानिया राणा शासनको विरोध गर्ने क्रममा हांसी हांसी जीवन वलिदान गर्ने उहाहरुको सपना अनुसारको नेपाल अहिले सम्म बन्न सकेको छैन ।  

समयक्रमसंगै शहिदहरुको संख्या पनि थपिदै गयो । देशमा विभिन्न आन्दोलनहरु हुदै गए । सात साल, छयालिस साल, ०६२÷०६३ र तराई आन्दोलन लगायत जनयुद्धमा समेत धेरैले ज्यान गुमाए । र आज हजारौ व्यक्ति शहिदमा दर्ज भए । मुलुक परिवर्तनका निमित्त विनासर्त प्राण आहुति गर्ने जति सुकै सख्यामा भए पनि सवै शहिद हुन् । जसकोे कुनै स्वार्थ थिएन, थियो त केवल देश र जनताको भलाइको चाहना  । 

देशको स्वाधिनता, राष्ट्रियता, लोकतन्त्र, सुखी र समृद्ध नेपाल र नेपाली बनाउनका लागि तातो गोली खाएर हासी हासी मरेका थिए । तर जनआन्दोलन पश्चात देश जसको हातमा पुग्यो र देशको जुन दुर्गती अहिले भई रहेको छ त्यसले शहिदको सम्मान होइन अपमान भएको छ । 

आफ्नो मातृभूमी, समुदाय, जाती वा संस्कृतिको अस्तित्व र आर्दशको संरक्षणार्थ कुनै किसिमको सम्झौता नगरी लोक हितमा लाग्दा प्राण आहुति गर्ने शहिदको सपनालाई कुल्चिएर राज्य संचालकले आफ्नो व्यक्तिगत स्वार्थमा देशलाई सौदावाजी गर्दा समग्र शहिदको अपमान त भयो नै समग्र नेपालीजनलाई नै दुःखी बनाएको छ । 

पछिल्लो समय शहिद घोषणामा पनि विचलनता आयो । सहिद त सवैको साझा हुन्छन् । समुच्च देशको नीधि हुन्छ । कसैको पेवा वा नीजि हुदैन । तर सत्ता र शक्तिको आडमा जो सुकैलाई पनि शहिद घोषणा गर्दै जाने प्रवृत्तिले गर्दा वास्तविक शहिदप्रतिको सम्मान ओझेलमा कता कता ओझेलमा परेको अनुभुती भएको छ । 

आज नेपालमा शहिदको सूचीमा हजारौ व्यक्तिहरु छन् । जो सुकै ‘आक्खुम, बाक्खुम, चाक्खुम, आठे लौरे पड्के धजे सवैलाई सहिद घोषणा गर्नाले वास्तविक शहिदप्रति न्याय भएको छैन । देशमा धेरै शहिदहरु हुन सक्छन तर जो सुकै जुनसुकै उदेश्यले मर्ने व्यक्ति चाँही शहिद हुन सक्दैनन् । 

शहिदको त्यो पोखिएको रगतको मुल्य आज चराको प्वाख सरी हलुको भएको छ । लोकतन्त्र र गणतन्त्रको स्थापना पश्चात त शहिद हूनेहरुको वाढी आयो । देशमा अहिले कति शहिद छन् सरकारलाई नै थाहा नहुने अवस्था छ । 

वीर शहिदहरु देश र जनताका लागि लडे र मरे । उनीहरु नेपालीकोे मुहार हसिलो वनाउन, खुसी र सुखका लागि मरे । राष्ट्र, राष्ट्रियता, सावभौमसत्ता, अखण्डता र नेपालीकोे स्वतन्त्रताका लागि लडे र मरे । आज ती मर्ने शहिदहरुको रगत र शहिद परिवारको आशुको सम्मान गर्न सकिएको अवस्था देखिदैन । शहिदको योगदानलाई अवमूल्यन गर्दै तान्डब नृत्य मात्र देखाउने काम भै रहेको छ । 

राजनैतिक दलहरुले शहिदको सपनालाई उपेक्षा गरेका छन् । देशलाई ठिक ढंगबाट चलाएका छैेनन् । जताततै भ्रष्टाचार, बेरोजगारी, अशान्त्ती, अराजकता, माफियातन्त्र मात्र छ । सरकारसंग देश बनाउने भिजन पनि छैन र इच्छा चाहना पनि छैन । राजनैतिक दलहरु सत्ताका लागि लुछाचुढी मात्र गरिरहेका छन् । आज कयौ गरिवहरु खान, लाउन र उपचार गर्न नसकेर मरिरहेका छन् ।  

आज पनि देशमा नागरिकलाई हनुमान, लठेत र बेबकुफ बनाईदैछ । गरिवीले दुई पत्र छाला गएका नागरिकहरु माथी राज्य संचालकले र राजनितिक दलहरुले न्याय गरेनन् । जनता सधै प्रयोग मात्र भए । करीब असी बर्षदेखीको देशको आन्दोलन अहिले सम्म पूर्ण हुन सकेकोे छैन । चार पुस्ता सकिन लागि सक्यो तर देशको आन्दोलन सकिएको छैन । 

अव देशले यो भन्दा बढी शहिदको भारी बोक्न सक्दैन, आन्दोलन पनि थेग्न सक्दैन र शहिद बन्न पनि हुदैन । नागरिकले पनि बुझनु पर्छ अव यो देशमा शहिद चाहिएको छैन । हरेकले आन्दोलनमा झण्डा हैन हातमा कुटो कोदालो बोक्नु पर्छ । रोडमा नाराबाजी होइन खेतमा सिचाइ गर्नु पर्छ । यो देशलाई विकास चाहिएको छ, सम्पन्नता चाहिएको छ, शिक्षा, स्वास्य र रोजगार चाहिएको छ । 

  शहिदहरुको रगतले देशको इतिहास लेखिन्छ, आउदो पुस्ताको भविष्य कोरिन्छ, राष्ट्र, राष्ट्रियता र स्वाभिमानको अटल अदम्य भावना स्थापित हुन्छ । त्यस्ता महान शहिदहरुप्रति उनीहरुलाई बर्षमा एक दिन देखावटी रुपमा फुलमालाको चर्तिकला देखाएर होईन । जस जसले देश बनाउने जिम्मेवारी पाएका छन् उनीहरुले इमान्दार निष्ठापूर्वक देश र नागरिकको हितमा काम गर्ने हो भने शहिदहरुप्रति सधै सम्मान हुन्छ । लामो इतिहास, सास्कृतिक विविधता, प्राकृतिक सम्पन्नताले भरीपूर्ण देशलाई ठिक ढंगबाट व्यवस्थापन र संचालन गर्ने हो भने शहिदको शालिकमा फुलमाला चढाएर चेब्रो पार्नु पर्दैन । 

सवै नेपालीमा शहिद दिवसको शुभकामना । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved