सेयरबजारमा कसरी हुन्छ इन्साईड ट्रेडिङ, रोक्न के गर्नुपर्छ ? : नीरव पुडासैनीको लेख

नीरव पुडासैनी

नीरव पुडासैनी

Feb 25, 2021 | 01:36:35 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बजारमा सुचिकृत कम्पनीहरुका गोप्य सुचनाहरु समय अगावै कम्पनीका कर्मचारी तथा संचालक मार्फत चुहावट गराएर सेयर कारोबार गर्ने प्रयास गरिनु इनसाइड डिलिंङ अथवा इनसाइड ट्रेडिङ हो। यस किसिमका कारोबारका कारण प्रत्यक्ष रुपमा कोहि पिडित बनेको नदेखिने  भएकाले नेपालमा यस्ता किसिमको कारोबारको खासै चर्चा भएको पाइदैन।

अप्रमाणित रुपमा भन्नुपर्दा नेपालमा इनसाइड ट्रेडिङले नीतिगत तहबाट नै प्रसय पाउने गरेको छ। चाहे त्यो सम्बन्धित कम्पनीका सहायक कम्पनी मार्फत भित्रि सूचनाको चुहावट गरेर गरिने कारोबार होस् वा उक्त सूचनाको प्रयोग गरेर पहुँचवाला सट्टेबाजहरुले गर्ने कारोबार दुबैलाई रोक्न सक्ने हैसियतको निर्माण नियामकले गर्न सक्नुपर्छ। हाम्रो सन्दर्भमा बैंक, बीमा, हाइड्रो लगायत कम्पनीहरुको गोप्य सुचनाहरु त्रैमासिक वित्तीय विवरण नयाँ योजनाका पुर्व जानकारी लगानीकर्ताहरुलाई दिईने लाभांश अगाडिको सूचना पहिल्यै चुहावट हुँदा बजारलाई भ्रमित र प्रभावित भईरहेको देखिन्छ।   

हाम्रो सन्दर्भमा बैंक, बीमा, हाइड्रो लगायत कम्पनीहरुको गोप्य सुचनाहरु त्रैमासिक वित्तीय विवरण नयाँ योजनाका पुर्व जानकारी लगानीकर्ताहरुलाई दिईने लाभांश अगाडीको सूचना पहिल्यै चुहावट हुँदा बजारलाई भ्रमित र प्रभावित भईरहेको देखिन्छ

पुँजीबजारको कारोबारमा सुचनाको धेरै ठुलो भूमिका हुन्छ। तसर्थ सबै लगानीकर्ताहरुलाई एकै किसिमको सुचनाको आधारमा कारोबार गर्ने वातावारणको सिर्जना गर्न सक्नुपर्छ। तर इनसाइड ट्रेडिङको कारण सुचनाको पहुँच नहुने लगानीकर्ताको पुँजीमा जोखिम संधैं रहन्छ। तसर्थ सबै लगानीकर्तालाई एकै किसिमको सूचना एकै समयमा प्राप्त हुने वातावरण बनाउन जरुरि छ। सम्पूर्ण लगानीकर्ताको सूचना माथिको अधिकार सुनिस्चित गर्न नियामक निकायले कानुनमा नै व्यवस्था गर्नुपर्छ। 

स्मरण रहोस, संसदमा प्रस्तुत धितोपत्र बजार सम्बन्धित बिधेयकमा पनि इनसाइड ट्रेडिङ सम्बन्धि वा यसलाई रोक्न सक्ने कानुनी अधिकार प्राप्त हुने देखिदैन। यस्तो प्रष्ट कानुन नबनेसम्म नियामकले बजारमा अप्रत्याशित रुपमा हुने मुल्यको चलखेलको सुक्ष्म अध्ययन गर्न आवश्यक हुन्छ। यसको साथै सूचना चुहावट गर्ने बिरुद्ध बिगुल फुक्नेहरुलाई कानुनले पनि संरक्षण दिनुपर्छ। यसरि इनसाइडर डिलिङ बिरुद्ध बिगूल फुक्नेहरुको संरक्षण गर्ने कानुन बनाइनु पर्छ। 

इनसाइड डिलिङ गर्ने मान्छे कम्पनीको कर्मचारी नै हुनु जरुरि छैन। त्यो जो सुकै हुन् सक्छ उसले मात्र कम्पनीको सूचना बिभिन्न माध्यममार्फत बाहिर ल्याएर त्यसका आधारमा बजारमा कारोबार गर्ने गर्छ। यस किसिमको कार्य एक सामाजिक अपराध हो। 

कम्पनीको सूचना बिभिन्न माध्यममार्फत बाहिर ल्याएर त्यसका आधारमा बजारमा कारोबार गर्नु एक सामाजिक अपराध हो

केहि बर्ष अगाडी संसारको अति चर्चित हेजफण्ड बिशेषज्ञ श्रीलंकन मुलका अमेरिकी नागरिक राज राजारत्नलाई यस्तै इनसाइड डिलिंङको अभियोग लगाइयो र जेल सजाय दिईयो। उनलाई कर्मचारी मार्फत बिभिन्न कम्पनीका गोप्य सूचना प्राप्त गरि त्यसबाट अनुचित लाभ लिएको आरोप थियो, जुन पुष्टिसमेत भैसकेको छ। 

भारतीय राजन गुप्ता र अनिल कुमार मार्फत सुचनाको चुहावट गराएर राजले त्यस्ता गोप्य सूचना प्राप्त गरि कारोबार गर्ने गरेको प्रमाणित भईसकेको छ। यस काण्डमा संलग्न सबैलाई अमेरिकी अदालतले दोषी ठहर्याइसकेको छ। 

नेपालको नियामक निकायले यस घटनाबाट धेरै जानकारी लिएर नियमनको खाका तयार गर्न सक्छ। यी र यस्ता इनसाइड डिलिंङ सम्बन्धित धेरै मुद्दाहरुको अध्ययन गरेर यसलाई नियमन गर्न जरुरि देखिन्छ। यसको साथै अमेरिकामा रहेको 'अफिस अफ दी विसल ब्लो पोटेक्सन' प्रोग्रामको पनि अध्ययन गर्न जरुरी छ। 

जस अन्तर्गत सुचनाहरुको चुहावटको बाट कसरी भएको छ र कानुन बिपरित भएका कुरालाई बाहिर ल्याउनेलाई सुरक्षा दिन पनि यस्तो कानुनको आवश्यकता हुन्छ। नेपालमा पनि सूचनाको हक भन्ने कानुनी व्यवस्था छ तर यसलाई सुचना प्राप्तिको खड्किलो रुपमा लिइएको छ। हालैमात्रै सेयर लगानीकर्ताहरुको विवरण यसै कानुन अन्तर्गत बाहिरिय भन्ने कुरा बाहिर आएको छ। तर बुझ्नु के जरुरि छ भने 'विसल ब्लो' सम्बन्धि कानुन र सूचनाको हक सम्बन्धि कानुन नितान्त भिन्न बिषय हुन्। तसर्थ सुचनाको हकको प्रयोग गरेर धितोपत्र बजार र त्यसका आम लगानीकर्ताहरुको सुचनाको चुहावट जुन रुपमा भईरहेको छ त्यसलाई सम्बन्धित निकायले रोक्न पहल गर्न जरुरि छ। 

सेयर बजारमा कारोबार गर्ने सबै कारोबारीहरू तथा लगानीकर्ताहरु यस सम्बन्धि ज्ञानको आधारमा लगानी गर्दछन भन्ने मान्यता राख्नु गलत हुन्छ। बीना कुनै जानकारी सेयर बजारमा धेरै लगानिकर्ताहरु अरुको कमाई देखेर लगानी गर्न हौसियका देखिन्छन। तसर्थ इनसाइड ट्रेडिङ गर्न  खप्पिस कारोबारीहरू यस्तै देखासिकी गर्नेहरुलाई फसाउन माहिर हुन्छन र फसाईरहेका हुन्छन भन्दा अन्यथा नहोला।

इनसाइड ट्रेडिङ गर्न  खप्पिस ठुला कारोबारीहरू यस्तै देखासिकी गर्नेहरुलाई फसाउन माहिर हुन्छन र फसाईरहेका हुन्छन भन्दा अन्यथा नहोला

उदाहरणको लागि कुनै अमुक कम्पनीको सेयर मुल्यमा चलखेल गर्न हल्ला फिजाइँछ। र हल्लैहल्लाका कारण सेयर  मुल्य उच्च बिन्दुमा पुग्छ। यसरी बजार बढेको देखेर कम जानकारी राख्ने तथा देखासिकीमा कारोबार गर्नेहरुले किन्छन। बजार सधै बढ्छ भन्ने हुदैन जब घट्न थाल्छ त्यस्ता लगानीकर्ताहरु पुँजीको अभावको कारण किनेको भन्दा कम मुल्यमा सेयर बेच्न बाध्य हुन्छन। यस्तो अवस्थाको सिर्जना इनसाइड ट्रेडिङ मार्फत हुने गर्छ।

कम्पनीको मुनाफा कसरी आउदैछ र यसले लाभाश कति र कुन रुपमा दिदैछ, मर्जर को कुरा के छ आदि विषयका सुचनाहरु सार्वजनिक हुननु अगाडी नै चुहावट गरेर  कारोबार गर्बे प्रवृतिलाई रोक्न लगाउन जरुरी भैसकेको छ। सामान्य अर्थमा भन्दा म्युचुअल फण्डहरु पनि यस्ता सूचना चुहावट गर्न र यस्तै सूचनाहरुको आधारमा कारोबार गर्न नेपालको सन्दर्भमा अगाडी छन् भन्दा अन्यथा नहोला। त्यस्तै कम्पनीका संचालकहरु तथा उच्च तहका कर्मचारीहरुले कम्पनीको इपिएस, लाभांश कति दिन्छ, मर्जरमा जान्छ कि जादैन भन्नेकुरा पहिले नै लिक गर्छन भन्दा गलत हुदैन। 

 नेपालका म्युचुअल फण्डहरु पनि  सूचना चुहावट गर्न र यस्तै सूचनाहरुको आधारमा कारोबार गर्न नेपालको सन्दर्भमा अगाडी छन् भन्दा अन्यथा नहोला

कानुनको अभावको कारण यस्ता कार्य मार्फत कुनै कम्पनीको सेयर मुल्यमा अस्वाभाविक चलखेल भएको देखियो भने नियामकले उक्त कम्पनीलाई स्पष्टिकरण सोध्ने बाहेक अरु केहि गर्ने हैसियत नराख्नु नै अहिलेको यथार्थ हो। त्यसो त नियामक आफैं यस्ता इनसाइडर ट्रेडिङ गर्न उद्दत छ भनेर बेलाबेलामा समाचारहरु बाहिर नआएका पनि होइनन। तसर्थ इनसाइड ट्रेडिङको 'विसल ब्लो' गर्नु र त्यस सम्बन्धि प्रस्ट व्याख्या कानुनमा हुन आवश्यक देखिन्छ ।      

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved