'दक्षिण कोरिया जस्तै नेपालको प्रगतिको आधार पनि पूर्वाधार विकास नै हो'

सुजित ढुंगेल

सुजित ढुंगेल

Feb 25, 2021 | 02:04:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् ६० को दशकमा गृहयुद्धबाट थलिएको दक्षिण कोरियाले पाँच बर्षे गुरुयोजना मार्फत पूर्वाधार विकासमा ठुलो लगानी गर्यो। यसमा पनि क्युन्ग्बू एक्सप्रेसवेको भूमिका पुरै देशलाई प्रगतिको दिशातर्फ़ उर्जा दिएको इतिहास हामीसामू जगजाहेर छ। 

यहि पूर्वाधार विकास दक्षिण कोरियाको औद्योगीक क्रान्तिको र आर्थिक प्रगतिको जरो बन्न पुग्यो। ७२ सालको भूकम्पले नेपाली जनजीवन साथै अर्थतन्त्र अस्तव्यस्त हुन पुग्यो। त्यो दुखद दिनले धेरैको घर उजाडियो र धेरैले आफन्त गुमाए। नेपालको भौगोलिक अवस्थाले पनि राहत तथा उद्दारमा कठिनाई भएको हो र सिंगो राष्ट्रले नै आपतको घडीमा पूर्वाधारको महत्व महसूस गर्यो। गुणस्तरीय पूर्वाधार विकास गरि भविष्यमा आइपर्न सक्ने संकटको घडीमा राहत तथा उद्दारलाई झन् प्रभावकारी बनाउन सकिन्छ र राष्ट्र निर्माणमा अग्रसर हुन सकिन्छ।

नेपालको अर्थतन्त्र अहिले पनि परम्परागत आर्थिक संरचनाहरुमै रुमल्लिरहेका कारण यहाँ आर्थिक विकासको लागि प्रशस्त ठाउँ छ । विकसित देशहरुको जस्तो ‘स्याचुरेशन पोइन्ट’मा नेपाली अर्थतन्त्र पुगेको छैन । बाघको अगाडी शिकार उपलब्ध भए झैं आर्थिक विकासको प्रशस्त संभावना पनि नभएको होइन । प्राकृतिक साधन स्रोतको पनि उपलब्धता छ । युवा जनशक्ति पनि प्रशस्त छ । तर, आर्थिक विकासले गति लिएको छैन । किनभने त्यसका लागि चाहिने भौतिक पूर्वाधारको चरम अभाव छ।

प्रगतिको अवसर पूर्वाधारको विकास पछि मात्र सिर्जना हुन्छ। गाउँगाउँमा बाटोघाटोजस्तो पूर्वाधार निर्माण गरेर नै पर्यटनको विकास, गाउँका कृषि उत्पादनहरु सहरमा बेच्ने अवसर, साना तथा मझौला उद्योगहरुलाई  बजारसँग जोड्ने कडी, सिँचाइको विकास गर्दै कृषि उत्पादन वृद्धि, मलखाँदको सहज आपूर्ति हुने हो । जलविद्युत जस्ता पूर्वाधारको निर्माण गरेर नै औद्योगिक उत्पादनको लागत घटाएर प्रतिस्पर्धी ढंगले औद्योगिक उत्पादनहरु गर्न सकिने हो । नेपालले आर्थिक खम्बाको रुपमा पनि कृषि, जलविद्युत, पर्यटनजस्ता क्षेत्रहरुलाइ मानेकै छ । दिगो तथा गुणस्तरीय पूर्वाधार विकासले नै नेपाली अर्थतन्त्रलाई चौतर्फी प्रगतिको अवसर प्रदान गर्नसक्छ। नेपाली कृषि उब्जनीलाई बजारको पहुँचकोसाथै उचित सिंचाईबाट किसानहरुको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन सकिन्छ। राष्ट्रको अरबौं रुपियाँ निकासा रोकिनुका साथै ग्रामिण अर्थतन्त्र पनि चलायमान बनाउन सकिन्छ। 

विकेन्द्रित पूर्वाधार विकास नै योजनाबद्ध सहरीकरण तथा औद्योगिकरण जग हो। नेपाल यस्तो देश हो जहाँ राजमार्ग भन्दा पहिले मोटरगाडी श्रमिकहरुको काँध चढेर भित्रियो। साथै समयमै पूर्वाधार विकास हुन नसकेर अव्यवस्थित सहरीकरणले हाम्रा सहरहरु कुरुप बन्न पुगेका छन्। यसको समाधान र योजनाबद्ध सहरीकरण, औद्योगिकरण तथा व्यवस्थित आर्थिक कोरिडोरको सारथी भनेको पूर्वाधार विकास नै हो। राष्ट्रिय राजमार्ग, जलविद्युत परियोजना, संचार क्षेत्रमा लगानी र भौतिक संरचना निर्माणले नेपालको साना र मध्यमस्तरीय उद्योग विकासमा मदत गर्दछ ।

पूर्वाधार परियोजनालाई दिगो बनाउन र समग्र सामाजिक परिवर्तन वहन गर्न समुदायस्तरबाटै सहभागिता आवश्यक पर्दछ। विकास क्षेत्रमा लगानी बढ्दा स्वतः रुपमा स्थानिय जनसहभागिता पनि बढ्न जान्छ र समुदायस्तरमा नै सकारात्मकता संचार हुन्छ। यसरी स्थानीय तहमा पूर्वाधार परियोजना प्रति अपनत्व वृद्धि भएर विकास निर्माणका कार्यहरु दीगो हुन जान्छ। नेपालकै सामुदायिक वनको अवधारणाले जनसहभागिताद्वारा वन संरक्षण कार्यक्रम सफल भएको उदाहरण विश्वसमक्ष छ। 

नेपालले जुन-जुन क्षेत्रलाई आफ्नो आर्थिक विकासको मेरुदण्डको रुपमा लिएको छ, ति सबै क्षेत्रको केन्द्रमा भौतिक पूर्वाधारको विकास नै रहेको छ । पर्यटन, जलविद्युत र साना तथा मझौला व्यवसायहरु नेपाली अर्थतन्त्रका मेरुदण्ड हुन् । यी सबै क्षेत्रको प्रभावकारी विकासको केन्द्रमा भौतिक पूर्वाधारको विकास नै रहेको छ। बाटो, रेल पूर्वाधार, सुखा बन्दरगाह, एयरपोर्ट, जलविद्युत, सिचाँइ आदि क्षेत्रमा पूर्वाधारको विकास गर्न सके आर्थिक वृद्धि तिव्र गतिले गर्न सकिने गरिबीको रेखामुनि रहेका जनसंख्यालाइ मध्यम वर्गमा उकाल्न सकिने विषय अब दोहोर्याइरहनु पर्ने विषय होइन । पर्यटन प्रवर्धनमा पूर्वाधारको भूमिका हेर्न हामीले मुस्ताङ जिल्लाले हजारौं स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरेको उदाहरण हेर्न सक्छौं।

कुनै देशको राष्ट्रिय उत्पादकत्वमा त्यहाँका जनशक्तिको शीप र क्षमताको ठुलो भूमिका हुन्छ। जनशक्तिको शीप र क्षमता बढाउन देशले कदम चाल्न जरुरी देखिन्छ। सुरुका केहि ठुला स्तरका पूर्वाधार विकासमा खटिने वैदेशिक दक्ष जनशक्ति र प्रविधिबाट नेपाली जनशक्तिको क्षमतामा वृद्धि हुनुका साथै भविष्यका राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दा शीप र प्रविधिमा नेपाल बिस्तारै आत्मनिर्भर भई सुनौलो भविष्यको जग राख्न सक्दछ। गत तीन दशकमा पूर्वाधार क्षेत्रमा क्रान्ति ल्याउन सफल मुलुक दक्षिण कोरियाले पनि यहि फर्मुला अपनाएको पाइन्छ।साथै ठुला पूर्वाधार बिकासले रोजगार प्रदानगरि जनशक्ति पलायन हुने क्रम अन्त हुन सक्छ। नेपालबाट रोजगार तथा शिक्षाको अवसर खोज्दै युवाहरु दैनिक हजारौंको संख्यामा विदेशिने क्रम जारी छ। यदि नेपालमा उच्चस्तरिय शिक्षा, रोजगार र जीवनस्तरको अवसर हुने हो भने यो क्रम रोकिन सक्छ। पूर्वाधारको विकासद्वारा नै युवाहरुमा सकारात्मक ऊर्जाको संचार हुनुका साथै आर्थिक क्रियाकलापलाई चलायमान बनाउन सकिन्छ । र अन्ततः युवाहरुमा रहेको उच्चस्तरीय जीवन बाच्ने आकांक्षा पूर्ति हुन्छ।

पूर्वाधार विकासले समग्र अर्थतन्त्र चलायमान बनाउनुका साथै राष्ट्रिय उत्पादन निर्यात गर्न ठुलो भूमिका खेल्छ। अन्तरदेशीय व्यापारको सक्षम्कर्ता भनेको बन्दरगाह, राजमार्गको बिस्तार, भन्सार व्यवस्थापन, विधुत तथा संचार सेवा, र वित्तीय पूर्वाधारहरु हुन्। छिमेकि भारतको गुजरात राज्यले निर्यात मैत्री पूर्वाधारहरु विकासमा जोड दिएर भारतकै निर्यातको केन्द्र बन्नपुगेको छ।  ठुला बन्दरगाह, चौडा राजमार्ग, व्यवस्थित औधोगिक पूर्वाधारले नै गुजरातलाई निर्यात मुखी अर्थतन्त्र बनाएकोछ।  नेपालले पनि गुजरातको सकारात्मक सिको गर्दै पूर्वाधारमा जोड दिने हो भने नेपालको अर्थतन्त्रमा निर्यातको हिस्सा बढाउन सकिन्छ। 

अहिलसम्म भएका पूर्वाधार विकासको केन्द्रमा गुणस्तरको महत्व आउन सकेको छैन। निर्माण सामग्रीको वा निर्माण उपकरणको गुणस्तरमा ध्यान दिने हो भने निर्माण सम्पन्न नै नभएर भत्किने पुल र सडकका समाचार विरलै सुन्न पाइन्छ। यस्तो अभ्यासले राज्यको श्रोतसाधनबाट अधिकतम लाभ उठ्न सक्छ। निर्माण समान र उपकरणको खरिदमा एउटा निश्चित मापदण्ड स्थापित गरि र त्यसको नियमित अनुगमनले गुणस्तरीय पूर्वाधार र त्यसले ल्याउने दिगो विकासलाई सुनिश्चित गर्दछ।

भौतिक पूर्वाधारको विकासका कारण समग्र देशकै आर्थिक विकासले गति लिएको उदाहरण हाम्रो सामु प्रशस्तै छन् । बाटोघाटो, पुल इत्यादीको निर्माणले दोस्रो विश्व युद्धताका गरिब देशको सूचिमा रहेको जापानले गरेको आर्थिक प्रगति हाम्रै सामु छ। अहिले विश्वको आर्थिक महाशक्ति बन्ने बाटोमा लागेको चीन पनि भौतिक पूर्वाधारको निर्माणमा तिव्र गतिमा लागेकै छ । त्यसैले नेपालको निम्ति पनि प्रगतिको अवसर पूर्वाधार विकास नै हो।  

लेखक काठमाडौं विश्वविद्यालयका ब्यबस्थापनका विद्यार्थी हुन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved