के हो फ्युचर सम्झौता , लगानीकर्तालाई कसरी हुन्छ फाईदा?

नीरव पुडासैनी

नीरव पुडासैनी

Mar 08, 2021 | 03:34:36 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व पुँजी बजारले दशकौंं देखि प्रयोगमा ल्याइरहेको लगानीको फरक तरिका हो सेयर फ्युचर सम्झौता । सेयर बजारको दैनिक उतार चढावको आधारमा प्रत्येक सेयरको अलग—अलग वा सिङ्गो नेप्से परिसुचककै मात्र फ्युचर सम्झौता तयार गरि यसको सूरुवात गर्न सकिन्छ । फ्युचर सम्झौता साधारणतया प्रत्येक सेयरको मूल्यको आधारमा सिर्जना गरिएको हुन्छ ।

यसलाई प्रत्येक त्रैमासिक रुपमा म्याद सकिने गरी करारको व्यवस्था गर्न सकिन्छ । भविश्यको मूल्यको आधारमा कारोबार गरिने भएको कारण साधारण सेयरको तुलनामा यसको मूल्य केही माथि वा अधिक हुन्छ । यस्तो अवस्थालाई कन्ट्याङ्गाे अवस्था भनिन्छ, जुन स्वभाविक अवस्था हो । तर, करारको म्याद नजिकै आउँदा मूल्यको अन्तर क्रमशः कम हुँदै जान्छ । यही कन्ट्याङ्गाे अवस्थाको कारण आजको मूल्य भन्दा भविश्यको मूल्य धेरै हुन्छ । जुन माग र आपूर्तिको सिद्धान्त अनुरुप नै हुन्छ । यसको बिपरितको स्थितिपनि आउन सक्छ । जसलाई ब्याकवार्डेशन अवस्था भनिन्छ । बोर्डले यसको अध्ययन गर्नु पर्छ । तर, यसको अर्थ यस्ता फ्यूचर करारहरु म्याद सकिने मितिमा मात्र कारोबार हुने होइन ।

यस्ता संझौताहरुको थालनी गर्न सकियो भने हाम्रो पुँजी बजारको आकार धेरै ठूलो हुन्छ । फलस्वरुप राज्यले यसबाट धेरै लाभ लिन सक्छ । 

तीन महिना भित्र कुनैपनि दिन कारोबार समयमा यसलाई राफसाफ गर्न सकिन्छ । तर, यसको लागि अलग्गै बजार निर्माताको व्यवस्था हुन जरुरी हुन्छ । जसले बजारमा पर्याप्त मात्रामा तरलता सिर्जना गर्न मद्दत गर्छ ।यसको साथै यस्ता करारहरु डेलिभरी वा ननडेलिभरी दुबै गर्न मिल्ने व्यवस्था हुनु आवश्यक छ । यस्तो सुबिधा प्रयोग गरेर आफूसँग नभएको वा आफ्नो स्वामित्व नभएको सेयरमा समेत फ्यूचर करारको कारोबार गर्न सकिन्छ ।

यस्ता संझौताहरुको थालनी गर्न सकियो भने हाम्रो पुँजी बजारको आकार धेरै ठूलो हुन्छ । फलस्वरुप राज्यले यसबाट धेरै लाभ लिन सक्छ । तरलतादेखि रोजगारी तथा करको आकारमा बृद्धि हुने निश्चित छ । उदाहरणको लागी नेपाल ईन्भेष्टमेन्ट बैंकको फ्युचर सम्झौता सोही बैंकको दैनिक सेयर कारोवार मूल्यको आधारमा तयार गरिन्छ । फ्युचर सम्झौता एउटा निश्चित अवधि भित्र राफसाफ गरिसक्नु पर्छ । चलन चल्तिको आधारमा तिन महिनाको सम्झौता तयार गर्न सकिन्छ । 

सेयर फ्युचर सम्झौताको कारोबार हाल नेप्सेको विध्यमान कारोवारको समय तलिका भन्दा केही बढाएर पनि गर्न सकिन्छ । 

सैद्धान्तिक रुपमा फ्युचर सम्झौताको मूल्य सेयरको बजार मूल्य भन्दा केहि बढि हुन्छ र सम्झौता अवधि नजिकिँदै जाँदा त्यसको अन्तर क्रमशः कम हुन्छ । त्यसको प्रमुख कारण आजको मूल्य भन्दा भोलिको मूल्य धेरै हुनु तथा माग र आपूर्तिको सिद्धान्त अनुरुप नै हो । यसैगरि यस्ता फ्युचर सम्झौता अन्तिम मिति भन्दा अगाडि पनि राफसाफ गर्न सकिन्छ ।

तर चाहिएको डेलिभरी भने सम्झौताको अन्त्यमा मात्र प्राप्त हुन्छ । यदी लगानीकर्तालाई यसको स्वामित्व लिनु छैन भने यसको मूल्य अन्तरमा मात्र पनि कारोवार गर्न सकिन्छ । त्यसकारण पनि आफ्नो स्वामित्व नभएका सेयरकामा समेत फ्यूचर सम्झौताको घट्दो मूल्य अन्तरमा लगानीकर्ताले नाफा कमाउन सक्छन् ।

सेयर फ्युचर सम्झौताको कारोबार हाल नेप्सेको विध्यमान कारोवारको समय तलिका भन्दा केही बढाएर पनि गर्न सकिन्छ । निसन्देह यसले हाम्रो पुँजी बजारको आकारलाई अझ ठूलो बनाइदिन्छ र राज्यले यसबाट धेरै तरलता प्राप्त गर्छ । फ्यूचर सम्झौताको पनि एउटा निश्चित आकार हुन्छ । जस्तै सय कित्ता सेयर बराबर एक सम्झौता । यसको कारोबारको अन्तिम मिति पहिल्यै तोकिएको हुन्छ । यो निश्चित टिक साइजको आधारमा चल्छ जस्तै २ वा ५ को गुणाको आधारमा ।

यि नियमले यस फ्युचर सम्झौतालाई आर्थिकरुपमा अनुशासित गराइदिन्छन् र यसको कारोवार पनि धेरै अनुशासित हुन्छ । फ्यूचर सम्झौताको मूल्य त्यसको सेयर मूल्य भन्दा माथि हुनुको कारण फ्यूचर सम्झौतामा अन्य लागत जस्तै व्याज र कम्पनीले त्यस वर्ष प्रदान गरेको लाभांस पनि जोड्नु पर्छ । यसरी निकालिएको मूल्यको आधारमा फ्युचर कारोवार गरिन्छ ।

उदारणको लागी नेपाल ईन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य एक हजार छ सय रुपैयाँ छ र हाम्रो त्यस बेलाको ब्याजदर ७ प्रतिशतको छ, अब उक्त बैंकको फ्युचर सम्झौताको मूल्य १६२७.६१ को हाराहारीमा पुग्छ । त्यती मात्र होइन यदी त्यस बखत कुनै लाभांस घोषणा गरेको छ भने सो पनि त्यस सम्झौतामा जोडेर त्यस बेलाको फ्युचर मूल्य तोक्नुपर्छ ।

खरिद बिक्रि गरेको केहि समय पछि आफ्नो अनुकूलताको आधारमा राफसाफ गर्न सक्छन् ।

सेयर फ्यूचर को एउटा महत्वपूर्ण पाटो यसले लगानीकर्ताको आर्थिक बोझलाई कम गर्न सघाउँछ । किनभने फ्यूचर सम्झौताको सुरुमै सम्पूर्ण पुँजी लगाउनु पर्दैन । अर्थात कम पुँजीबाट ठूलो कारोवार गर्न सकिन्छ । चलन चल्तिमा ५ देखि २० प्रतिशतको हाराहारीमा प्रारम्भिक मार्जिन रकम जम्मा गरेर गर्न सकिन्छ । र यसमा समेत दोहोरो कारोवारको व्यवस्था गर्न सकिन्छ । जस्तै आफूसँग नभएको सम्झौतालाई मूल्य घट्दो अुनमानको आधारमा पहिला विक्रि गरेर पछि खरिद गरी राफसाफ गर्न सकिन्छ ।

यसको साथै लगानिकर्ताले आफ्नो फ्युचर कारोवारलाई राफसाफ गर्न त्यसको अन्तिम कारोवार दिनको प्रतिक्षा गर्नु पदैन । खरिद बिक्रि गरेको केहि समय पछि आफ्नो अनुकूलताको आधारमा राफसाफ गर्न सक्छन् ।

यसरी फ्युचर कारोवारमा मार्जिनको व्यवस्था हुने हुँदा यसमा जोखिम पनि साधारण सेयरमा भन्दा धेरै हुन्छ । तसर्थ लगानिकर्ता यसमा सजक हुनु पर्छ । किनभने यही मार्जिन सुविधाको कारण सेयर फ्युचर कारोवारमा अन्य साधारण कारोवारको तूलनामा धेरै गुणा बढी कारोवार हुन्छ । फ्युचर कारोवारले सेयर बजारका लगानीकर्तालाई आफ्नो जोखिम न्यूनिकरण गर्न एउटा अवसर प्रदान गर्छ । तर यसको आफ्नै जोखिमलाई भने लगानीकर्ताले विर्सनु हुँदैन ।

यस किसिमका लगानीका अवसरले देशको पुँजी बजारलाई चूस्त गर्नुको साथै पुँजी निर्माणमा कोसेढुङ्गा साबित हुनेछ । 

हाम्रो पुँजी बजार सँग सम्बन्धित नियामक निकायहरुले यसमा ध्यान दिन सके राज्य र लगानीकर्तामाझ धेरै ठूलो अवसर सृजना हुने थियो । यसका लागी एउटा अलग निकाय, जो निजि क्षेत्र पनि हुन सक्छ, लाई केहि अधिकार प्रत्यायोजन गर्न सकिन्छ । जस अनुसार त्यस सँस्थाले प्रत्येक एक सय वा त्यो भन्दा बढी सेयरको एउटा फ्युचर सम्झौता तयार गर्छ र सँगै त्यसको प्रारम्भिक मार्जिन पनि तोक्छ । जस्तै एबिसी कम्पनीको सेयर मूल्य तीन सय रुपैयाँ छ । जस अनुसार एक सय वटाको तीस हजार रुपैयाँ हुन आउँछ । यसको पाँच देखि २० प्रतिशत सम्मको मार्जिन तोकिन्छ र सोहि अनुसार कारोवार गरिन्छ ।

यसरी कारोवार गरेको सम्झौताको खरिद र बिक्रि मूल्य बिचको अन्तरको आधारमा नाफा, घाटा तय गरिन्छ । यस किसिमका लगानीका अवसरले देशको पुँजी बजारलाई चूस्त गर्नुको साथै पुँजी निर्माणमा कोसेढुङ्गा साबित हुनेछ । साथै रोजगारीका नयाँ अवसर पनि खुल्दै जानेछन् । विदेशी लगानीकर्तालाई आकर्षित गर्ने बाटो समेत सहज बन्नेछ । यसका जोखिमहरु केलाएर एबं विदेशका अभ्यासबाट सिकेर मुलुकमा यसको ढोका खोल्न अब नियामक निकायहरुले पछि पर्नु हुँदैन ।

तर, सँगै अन्य मार्जिनकोपनि व्यवस्था गर्नु पर्छ । जसले दुबै बजार निर्माता र लगानीकर्ताको जोखिम कम गर्न मद्दत गरोस् । यसको साथै दोहोरो कारोबारको व्यवस्थापनि गरिनु पर्छ । अर्थात आफूसँग नभएको करारलाई मूल्य घट्ने अनुमानको आधारमा लगानीकर्ताहरुले उक्त करारलाई बिक्री गरेर मूल्य भिन्नतामा नाफा कमाएर राफसाफ गर्न सकून् । 

(लेखक पुडासैनी पुँजीबजार सम्बन्धी जानकार हुन्)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved