किन लगातार घट्दै छ शेयरबजार, अब कुन दिशातर्फ जान्छ ? अम्बिका पौडेलको विश्लेषण

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 26, 2021 | 11:27:31 AM मा प्रकाशित

sarbottam cement

केहि दिनयता नेपालको सेयरबजार लगातार दोहोरो अंकले घट्नेक्रम जारी रहेसंगै  बजारको गिरावटलाई लिएर आ-आफ्नो विश्लेषण भएको छ। कसैले पछिल्लो दिनको सेयरबजारको गिरावटलाई सम्भावित लकडाउनलाई लिएर लगानीकर्ताको तत्कालिन प्रतिकृया भनेका छन् भने केहिले नाफा सुरक्षित गर्न खोज्दा आपूर्तिमा भएको वृद्धि भनिरहेका छन्।

यस बिषयमा नेपालको सेयरबजारका वारेन बफेटको उपमाले चिनिने अम्बिका पौडेलले भने फरक धारणा व्यक्त गरेका छन्। उनकाअनुसार पछिल्लो दिनहरुको सेयरबजारको उतारचढाव हुनुमा धेरै कारणहरु हाबी देखिन्छन्।

विभिन्न कारणहरु मध्ये पहिलो कारण पछिल्लो दिनमा सेयरबजारमा धेरै नयाँ लगानीकर्ता थपिनु र उनीहरु लगायत धेरैसँग सेयरबजारबारे आधारभूत सिद्धान्त नहुनु उनको भनाई छ। त्यस्तै दोस्रो कारणमा सेयरबजारबारे थोरै बुझेका तर धेरै वकालत गर्नेहरुको टिकाटिप्पणी सामाजिक संजाल र केहि मिडियामा प्राथमिकतामा पर्नु रहेको पौडेल बताउँछन्।

त्यस्तै अन्य कारणहरुमा सेयरको दोस्रो बजारमा आउनेहरु आफु लगानीकर्ता हो कि कारोबारी हो भन्ने स्पष्ट नहुनु, गाडी छुटी हाल्यो कि भन्ने मनस्तिथि भएकाहरुको संख्या धेरै हुनु, गन्तब्य पहिचान गर्न नसक्ने अवस्था भएकाहरुको संख्या बढी हुनु, बजारको प्राकृतिक नियम नै घटबढ हो भन्ने कुरा बिर्सिएर नेप्सेको उतारचढावमा विचलित हुनु रहेको पौडेलको भनाई छ।

यो पनि : '३ कारणले घट्यो बजार, तर आत्तिनु पर्ने कारण छैन' : अध्यक्ष रौनियार

सेयरबजारमा आउनेहरु आफु दुध दिने भैंसी पाल्ने किसान हो वा दुध मात्र बिक्रि गर्ने व्यवसायी हो भन्ने कुरा स्पष्ट हुनुपर्ने र सोहि अनुसार निर्णय लिनुपर्ने पौडेलको सुझाव रहेको छ।

केहि दिन लकडाउन हुन्छ भन्दैमा किसानले भैंसी नै बिक्रि गर्ने वा भैंसी काटेर त्यसको मासु बेच्ने काम गर्दैन त्यसैगरि दुध बिक्रि गर्ने व्यवसायीले अब लकडाउन हुन्छ भन्ने आंकलन गरेपछि दुध साँचेर राख्दैन बरु उसले सस्तोमा भएपनि दुध बिक्रि गरेर आफ्नो लागत उठाउने काम गर्छ।

उनी भन्छन्, "यसैगरि सेयरको दोस्रो बजारमा आउनेले पनि आफु को हो भन्ने छुट्याउनुपर्छ र त्यहि अनुसार कम्पनी छनौट गर्ने, कहिले किनबेच गर्ने भन्ने जस्ता बिषयमा निर्णय लिनुपर्दछ।" 

पौडेल अगाडी थप्छन्, 'आफ्नो अवस्था थाहा नभई सेयरबजारमा आउनेलाई संधै पिडा हुन्छ। बजार बढ्दा पनि हिजो नबेचेको भए हुन्थ्यो भन्ने पिडा हुन्छ, घट्दा पनि ठुलै नोक्सानी भयो भन्ने सोचले पिडा हुन्छ, आफु कारोबार कि लगानीकर्ता भन्ने थाहा नहुनेलाई सेयरबजारमा सधै दुख र पिडा मात्र हुन्छ।'

 अबको दिशा

हिजो एक हप्ता अगाडी बजार बढ्नुपर्ने र अहिले घट्नुपर्नेमा त्यस्तो तात्विक भिन्नता नभएको तर अहिले देखिएको अवस्था भनेको लकडाउनलाई लिएर देखाइएको अल्पकालीन प्रतिकृया मात्र भएको पौडेल बताउँछन्।

यदि लकडाउन नै भईहाल्यो भने लगानी तथा व्यवसायका अन्य क्षेत्र ठप्प हुने र संधै व्यवसाय गर्नेहरु दुइ चार दिन शान्त भएपनि त्यसपछि लगानीको लागि अर्को विकल्प खोज्ने बानि भएकाले उनीहरुपनि सेयर बजारमा आउनुको विकल्प नभएकाले भोलिका दिनमा माग बढ्ने पौडेल बताउँछन्। लकडाउनको बेला घरमा नै बसेर सहजै कारोबार गर्न सकिने सजिलो व्यवसाय पुंजीबजार मात्र भएकाले अरु क्षेत्रका लागी लकडाउन सुखद नभएपनि सेयरबजारका लागि सकारात्मक साबित हुने पौडेलको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved