समृद्धि केवल शब्दमा मात्र सीमित हुने त होइन ?

केशव सुवेदी/बिजपाटी

केशव सुवेदी/बिजपाटी

Apr 29, 2021 | 01:42:50 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो चार वर्षमा नेपाली जनता र राजनीतिक दलहरुले धेरै प्रयोग गरेको समृद्धि शब्द केवल शब्दमा मात्र सीमित छ । समृद्धि हाम्रो सीमा भित्र आउन चाहे पनि हामी स्वागत गर्न चाहदैनौँ र शब्द रटानमा बढि विश्वास राख्छौँ । हामी सिद्धान्त यति उत्कृष्ट अप्नाउछौँ कि त्यो व्यवहारमा यताकता मात्र प्रयोग हुन्छ । हामी विश्वमा सबै भन्दा राम्रो संविधान बनाउन सक्छौँ तर प्रयोगमा ल्याउँन सक्दैनौँ । संविधान, नियम, कानुन, इमानदारिता, नैतिकता, सुशासन, सेवा सुविधा, जनताको शासन, किसानको भावना आदिलाई हामी पूजा गर्छौँ तर व्यवहारमा लागू गर्न सक्दैनौँ । परिवर्तन आफूबाट गर्नु पर्छ भन्ने भावनालाई यति नजिक बाट नियाल्छौँ कि लाभको पद धारण गर्दा पहिला आफू बन्ने अनि अरुलाई पालो दिने परम्परा विकास भई सकेको छ । देश विश्वकोे गरीब मध्ये एक, त्यही देशका जनप्रतिनिधिले चढ्ने गाडी करोड करोड को अनि कुरा समृद्ध नेपाल सुखी नेपाली को ।

हामीसँग प्राकृतिक र मानव समसाधन यथोचित छ तर त्यसलाई प्रयोग गर्ने नीति तथा नेतृत्त्व छैन । घरको गैरी खेत बाँझो राखेर ५० डिग्री तात्तो मरुभूमिमा काम गर्न जान्छौँ, अरुको नोकर बन्न जान्छौँ तर हामी मालिक भएर बस्न सक्दैनौँ । हामीमा आधुनिक कृषि प्रणालीको ज्ञान छैन, परमपरागत खेतीबारीले उत्पादन दिन सक्दैन र दैनिक प्रयोग गर्ने खाद्यन्य, तरकारी, फलफूल आदि छिमेकी राष्ट्रबाट आयात गर्छौँ । जब सम्म हामी यस्ता साना कुरामा आत्मनिर्भर हुन सक्दैनौँ तब सम्म समृद्ध केवल दिवासपना मात्र हुन्छ ।

हाम्रो अर्को समस्या भएका उद्योगधन्दा बन्द हुनु हो । हाम्रो उत्पादनले बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने र आयातीत सामानले बजार ओगट्ने हुदा हाम्रो पैसा सबै अन्य देशहरुमा जान्छ । त्यसकारण स्वदेशी  उत्पादन मा वृद्धि र आयातलाई कम गर्न सके मात्र गरिबीबाट माथि उठ्न सकिन्छ ।   

राजनीति हाल सेवा नभएर पेशाव्यवसाय बनेको छ । राजनीतिको राम्रो ज्ञान छैन् र नेताको हर किसिमको कार्यलाई समर्थन गर्ने अन्धा कार्यकर्ताको बहुमत हुदा नेतृत्त्व लिएकाहरुलाई जनताप्रति उत्तरदायी हुनु भन्दा आफ्नो अहम् तथा विलासिता पूर्ण गर्ने र नातावाद, कृपावाद, भ्रष्ट्राचार आदिमा रमाउन सहयोग गर्ने प्रवृत्तिका कारण हामी गरीब भएर बस्नु परेको छ । देश बनाउँन पठाएकाहरु स्वयम् आफूमात्र बनेर बस्ने हुदा देश विकास भएन । हाम्रो निर्वाचन प्रणाली खर्चात्मक हुदा जनप्रतिनिधि आफ्नो लगानी उठाउन तथा व्याजको हिसाब गर्न व्यस्त हुने साथै उनीहरुमा इमानदारिता, नैतिकता को खडेरी लाग्नु, आत्मामूल्याङ्कन नगर्ने र सर्वसाधारण किसान जनता चेतनाको अभावमा र शिक्षित वर्ग मौन बस्दा जनता मारमा र जनप्रतिनिधि कारमा भएका छन् ।

सिद्धान्तको चर्को भाषण र व्यवहारमा शून्यता देखाउने हाम्रो नेतृत्त्व सामाजिक हुनु पर्नेमा व्यक्ति केन्दि«त देखिन्छ । हल्लाको पछाडि मिडिया दौडिनु र सत्यताको उत्घाटन नगर्ने बानी हाम्रो मिडियामा देखिन्छ । मिडिया पनि पैसा गन्न मात्र सीमित हुदा शासकलाई स्वतन्त्रता र मिडियालाई पूँजिले खरिद गर्ने देखिन्छ । अन्ततः हाम्रो व्यवहार उद्देश्यलाई प्राप्त गर्नु भन्दा पनि यात्रा गरी रहन रुचाउने खालको हुदा आज नै देशलाई समृद्ध बनाउँदा आउने पिढिले के गर्छन् भन्ने सोच जनप्रतिनिधिमा अप्रत्यक्ष रुपमा देखिन्छ । त्यसैले हामी भोलीको दिनमा विश्वको पहिलो गरीब देश भनेर चिनिने सम्भावना नहोला भन्न सकिन्न ।

प्रकृतिले आफ्नो सुन्दरता देखाए पनि नेपालमा नेतृत्त्व कर्ताले इमानदारिता, नैतिकता  र सुन्दरता अब पनि देखाउन नसके हामी नेपाली केवल गरीब भनेर विश्व सामू चिनिने छौँ, तसर्थ भएका कमीकमजोरीलाई सुधारेर व्यवहारतः समृद्धिको बाटोमा जनप्रतिनिधि भन्दा जनता अगाडि लगाउँनु पर्ने देखिन्छ । सिद्धान्त कस्तो भन्दा पनि व्यवहार कस्तो गरिन्छ , के बोलिन्छ भन्दा पनि के गरिन्छ र आफूमा इमानदारिता र नैतिकताको खडेरी लाग्न नदिएमा पक्कै पनि हाम्रै पालामा समृद्ध नेपाल सम्भव छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved