कोरोनाको मृत्यु दर सरकारले भनेको भन्दा बढी छ: डा. भुषालको अन्तरवार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 05, 2021 | 03:26:29 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएको छ । यसको ‘चेन ब्रेक’ गर्न सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू गरेको छ । विभिन्न जिल्लामा स्थानीय प्रशासनले बन्दाबन्दीको घोषणा गरेका छन् ।

दोस्रो भेरियन्ट पहिलाको भन्दा शक्तिशाली भएको भन्दै मानिसहरुमा त्रास पनि उत्तिकै छ । संक्रमित र मृत्यु हुनेको संख्या दिनानोदिन बढ्दै छ ।

यसै विषयमा आधारित रहेर हामीले जनरल फिजिसियन डा. खेमराज भुषालसँग कुराकानी गरेका छौँ ।

कोरोनाको नयाँ भेरियन्ट के हो ? 

भाइरसको आफ्नो गुण हुन्छ । जति लामो समय बस्छ, त्यो त्यति नै फरक हुँदै जान्छ । आनुवंशिक गुणका कारण जुनसुकै भाइरस पनि वातावणमा जति लामो समय बस्छ, त्यति नै फरक हुँदै जाने गर्दछ । यसको मतलब, पर्यावरणमा भाइरस बाँचिरहे झनझन बलियो हुँदै जान्छ र सजिलै नमर्ने अवस्थामा पुग्छ । अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट पनि त्यही हो ।

भारतमा डबल न्युट्रेनको भेरियन्ट देखिएको छ । यो भनेको भाइरस शक्तिशाली हुँदै गएको अवस्था हो ।

यसले अहिले कसरी असर गरिरहेको छ ?

भाइरस शक्तिशाली हुँदै गएपछि यसले गर्ने असर पनि बढी नै हुन्छ । कमजोर हुँदा जति ‘केयर’ गर्दा पुग्थ्यो, अब त्यतिले पुग्दैन । असर गर्ने प्रकृति उस्तै भएपनि निको हुन समय लाग्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि छिटो छिटो सरेर अहिलेको भेरियन्टले असर गरिरहेको छ ।

कुन उमेर समुहलाई नयाँ भेरियन्टले बढी सताएको छ ? 

यस अघिको कोभिड भाइरसले ६० वर्षमाथिका उमेर समूहलाई बढी अट्याक गरेको देखिन्थ्यो । लाग्न त सबै उमेर समूहका व्यक्तिहरुलाई लाग्ने गरेको भएपनि बढी असर इम्युनिटी पावर कम भएकालाई हुन्थ्यो ।

तर, अहिलेको भाइरसले ४० देखि ६० वर्ष उमेर समूहकालाई बढी अट्याक गरेको देखिन्छ । सबै उमेर समूहका मानिसहरुलाई यसले आक्रमण गर्छ ।

नयाँ भेरियन्टको कोरोना भाइरस किन युवाहरुमा बढी देखिएको छ ?

युवाहरुमा इम्युनिटी पावर बढी हुन्छ । तर, युवाहरुमा भएको इम्युनिटी पावरले पनि अहिलेको भेरियन्टसँग लड्न सकेको देखिँदैन । पहिला जुन लेवलको इम्युनिटी पावरले प्रोटेक्ट गर्थ्यो, अहिले त्यो पावरले नपुग्ने देखिएको छ ।

अर्को कुरा के हो भने, युथहरुको मुभमेन्ट बढी हुन्छ । उनीहरु आफ्नै उमेर समूहसँग बढी घुलमिल हुन्छन् । भाइरस भनेको जो सँग बढी घुलमिल भइन्छ, उसैलाई सर्ने कुरा हो । त्यसैले युथहरुमा बढी संक्रमण देखिएको छ ।

नयाँ भेरियन्टले मानिसहरुको कुन कुन अंगमा बढी हिर्काईरहेको छ ?

यसको मुख्य असर फोक्सोमै हो । श्वासप्रश्वास सम्बन्धि रोग भएकाले यसले पहिलो अट्याक फोक्सोमै गर्छ । अक्सिजनको मात्रा कम गर्दै लैजान्छ । 

अहिलेको भाइरसले मुटुमा पनि हिर्काउने गरेको देखिएको छ । संक्रमितहरुमा पखाला लाग्ने, बान्ता हुने, जीउमा खटिरा आउने पनि भईरहेको पाइन्छ ।

यद्यपी, शरीमा अक्सिजनको मात्रा कम गराउँदै लैजाने खालको भाइरस भएकाले यसले प्रमुख रुपमा फोक्सोलाई असर गर्छ । 

कोरोना भाइरसले फोक्सोको मांशापेशीमा हिर्काउछ, जसका कारण हार्ट फेलियर, ब्लड प्रेशरमा समस्या आइरहेको छ, खासमा यो कुरा के हो ?

यो कुरा सत्य हो, फोक्सोमा हिर्काउनु भनेको श्वास फेर्न असजिलो हुनु हो । ब्लडको सर्कुलरमा नै बाधा पुगेपछि श्वास फेर्न मुस्किल हुन्छ नै । त्यसपछि ब्लड प्रेशरमा समस्या हुने नै भयो ।

कोरोना लागेको कति औँ दिनमा फोक्सोको प्रहार गर्न थाल्छ ?

अहिलेका बिरामीको अवस्था हेर्दा ५ दिनसम्म लगातार ज्वरो आएको खण्डमा फोक्सोमा असर गरेको देखिन्छ । २ दिनभन्दा बढी लगातार ज्वरो आयो भने यसले फोक्सोमा हिर्काउन सुरु गरेको छ भनेर बुझ्नुपर्छ र स्तरीय उपचार सुरु गर्नुपर्छ ।

कोरोना लागेर मृत्यु भएकालाई जलाउन वा गाड्नमध्ये कुन उचित हुन्छ ?

यसमा यो ठिक यो बेठिक भन्ने हुँदैन । लासले खोक्ने, हाँच्छ्यु गर्ने गर्दैन । मुखभित्र रहेको र्यालमा भाइरस रहने जोखिम हुन्छ, त्यसमा पनि अहिलेको प्रोटोकलले हावासमेत बाहिर नआउने गरी शवलाई छोपिएको हुन्छ ।

भाइरस आफैँ पनि निश्चित समयपछि मर्छ । गाड्दा पनि मर्छ, जलाउँदा त झन मर्ने नै भइहाल्यो ।

दैनिक जसो कोरोनाबाट मर्नेको संख्या यति उति भन्ने आईरहेको छ, के अहिले दैनिक सार्वजनिक हुने मृतकको संख्या वास्तविक हो त ?

यो त धेरै कम हो भन्छु म । किनभने, पहिला मानिसहरु अलिअलि लक्षण देखिनासाथ परीक्षण गराउथे । अहिले परीक्षण गराउनै मानिसहरु गएका छैनन् । 

मृत्यु हुनेको संख्या अहिले धेरै छ । कोरोना परीक्षण नगराएकाहरुको पनि कोरोनाका कारण मृत्यु भईरहेको छ । अहिले देखिएको पिक्चर रियल होइन, यो अत्याधिक बढी छ । किनकी, हाम्रोमा टेष्ट नै कम छ ।

अहिले बच्ने उपाय मास्क लगाउने, बेला बेलामा साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने,  सन्तुलित भोजन गर्ने भन्ने छ, अरु के के छन् उपाय ?

सामान्य ज्वरो आउँदा घरमै बस्ने हो । आत्तिने होइन । सिटामोल प्रयोग गर्ने । घरेलु उपचार विधि अन्तर्गत तातोपानी पिउने, गेडागुडी खाने गर्नुपर्छ ।

यसबाहेक मास्क लगाउने, नियमित हात हुने, दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता हाम्रा प्रोटोकल त छँदै छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved