उपचार नपाई मर्नु पर्ने कस्तो दुर्भाग्य ?

सुजन दाहाल

सुजन दाहाल

May 07, 2021 | 04:43:30 PM मा प्रकाशित

laxmi  sunrise bank

‘हस्पिटलमा वेड नपाएर अस्पताल चहार्दा चहार्दै संक्रमितको मृत्यु’ जस्ता समाचार हरेक दिन हेर्नु र पढनु नेपालीको दैनिकी भएको छ । जस्लाई चोट पर्छ उसलाई मात्र पीडा थाहा हुन्छ । अमुल्य जीवन अनाहकमा गुमाउनु परिरहेको छ । यस्ता घटनाले नेपालीलाई मनोवैज्ञानिक रुपमा त्रसिद बनाएको छ । कोरोनाको ग्राफ निरन्त्तर उकालो लाग्दै जादा मृत्युदर पनि बढेर गएको छ । कोरोनाको पहिलो लहर भन्दा अहिले मानिस बढी आत्तिएका पनि छन् । 

काठमाण्डौ लगाएत देशका केही नीजि हस्पिटलहरुले कोरोनाको उपचारको नाममा मनोमानी उपचार शुल्क निर्धारण गरेका छन् ।  सरकार रमिते बनेको छ । उक्त उपचार शुल्क हेर्दा त गरीब बेहोस हुने अवस्था छ । कोरोना लागेर हस्पिटल भर्ना हुनु परो भने के होला भन्ने ठूलो चिन्ताले गरीबलाई त पिरोलेकै छ, मध्य र निम्न मध्यमवर्गीयहरुको समेत आदी मासु भएको छ । गरीब नै गरीबले भरिएको देशमा कोरोना लागेर हस्पिटल भर्ना हुनु पर्ने अवस्था आएमा वा बेड पाएमा घरखेत नै जाला भन्ने चिन्त्ताले मन पिरोलेको छ ।

राज्यमा संकट आउँदा सबै भन्दा बढि मारमा पर्ने असहाय, अशक्त, कमजोर र गरीबहरु नै हुन् । कोरोनाले गरीबी दर बढाउँदै लगेको छ । आर्थिक गतिविधि ठप्प प्रायः छ । व्यापारी र उद्योगपतिहरु आर्थिक संकट तर्फ जादैछन् । कोरोनाले गर्दा  आर्थिक मन्दीको चपेटामा समाजका हरेक वर्ग, तह र तप्का परेको छ । आर्थिक गतिविधि ठिक ढंगले चलायमान हुन नसक्दा परिणामतः देश नै आर्थिक संकट तर्फ जाने अवस्था रहन्छ ।

खान नपाउने गरीबलाई एक मुढी चामल सम्म दिएको छैन । सरकार निकृष्ट बनेको आभास हुन्छ ।   

सरकार सबैको साझा हो । कुनै हनुमान र भजन मण्डलेको मात्र होइन । तर विडम्बना यो बिषम परिस्थितिमा सरकारले जसरी काम गर्नु पर्ने हो त्यो गर्न सकेको छैन । सरकारले सम्पूर्ण कोरोना संक्रमितलाई उपचारको व्यवस्था गर्नु पर्ने तर गरेन । व्यापारी, उद्योगपतिलाई आर्थिक अनुदान वा भनौ कुनै प्याकेज दिनु पर्ने, दिएन । खान नपाउने गरीबलाई एक मुढी चामल सम्म दिएको छैन । सरकार निकृष्ट बनेको आभास हुन्छ ।   

कोरोनाको अघिल्लो संस्करणमा त गरीबलाई चामल, चिनी, लुगा फाटो लगायतका सामग्री बाडी टोपल्ने मौसमी छद्मभेसी समाजसेवी थिए र गरीबले अलिअलि भए पनि पेट भर्न पाए । राहतको नाममा चटक देखाउने र कमाउने पनि यो पाला दुलो पसे । अहिले त गरीबको सहारा न राज्य छ न अरु कोही । कोही छैन । 

अहिले कोरोना संक्रमितले हस्पिटलमा उपचारका लागि बेड सम्म पाउने अवस्था छैन । हेर्दा हेर्दै संकट बढेर गएको छ । हस्पिटलको भुई, बरण्डा, कौसी जताततै संक्रमित उपचारका लागि ओठ कलेटी लाएर पालो पर्खिएर बसेका छन् । नागरिकले उपचार नपाएर मर्नु पर्ने विडम्वना छ । ठूला ठालु, सोर्स फोर्स वाला संक्रमित भए बेड उपलब्ध हुने तर सामान्य नागरिक संक्रमित भए बेड त के उपचार सम्म नपाएर मर्नु पर्ने स्थिति छ । यही हो समाजवाद ? समाजवादी सरकार यसैलाई भनिन्छ ? पक्कै भनिदैन । राज्य लुटेर भुढी भर्नेहरू जनताको नाममा जनतालाई नै दुःख दिई रहेका छन् । सबै नागरिकको उपचार गर्नु राज्यको दायित्व हो । तर राज्य कर्तव्यबाट च्युत हुदा नागरिकले कति सम्म दुःख व्यहोर्नु पर्छ भन्ने उदहरण अहिले देखिएको छ ।

सगरमाथा भन्दा ठुला सपना बाढ्ने प्रधानमन्त्री र उनको दलको जनताप्रतिको जवाफदेहिता कमजोर हुँदा अनाहकमा मानिसले आफ्नो अमुल्य जीवन गुमाउनु पर्ने अवस्था छ ।

  कोरोनाको दोस्रो लहरले देश आक्रान्त्त भएको बेला प्रधानमन्त्री र उनको पार्टी जात्रा देखाउनमा नै व्यस्त छ । नागरिकलाई रोग र भोकले सताएको बेला सरकारवादी दल लाप्पा खेल्नमा व्यस्त छ । प्रमुख प्रतिपक्ष र अन्य  दलहरु पनि सत्ताको च्याखे थाप्नमा व्यस्त हुँदा नागरिक भोक भोकै र उपचार नपाई मर्नु पर्ने अवस्था आएको छ ।  

सगरमाथा भन्दा ठुला सपना बाढ्ने प्रधानमन्त्री र उनको दलको जनताप्रतिको जवाफदेहिता कमजोर हुँदा अनाहकमा मानिसले आफ्नो अमुल्य जीवन गुमाउनु पर्ने अवस्था छ । प्रधानमन्त्री कोरोना महामारीसँग लड्न नीति निर्माण गर्ने भन्दा विश्वासको मत लिन नै तातेका छन् । उनकै पार्टीका अन्य नेता कार्यकर्ता प्रधानमन्त्रीलाई राज्य संचालनमा सहयोग गर्ने भन्दा प्रधानमन्त्रीलाई कोखे हान्नमा नै टोपी खोलेर लागेका छन् । प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर राजकाजको काम राम्रोसँग गर्न नदिने विदेशीका दलाल र गोटीहरुका कारण पनि सरकारले नागरिकलाई आशादित सेवा दिन नसकेको होला । तर नेतृत्वले यो सबै कुराहरुलाई चिर्न सक्नु पर्छ । 

कोरोनाको बहानामा माफिया र दलालहरुले देशलाई लुटिरहेका छन् । खोप वा अन्य मेडिकल इक्युपमेन्ट आदीमा चरम लुटतन्त्र चलेको छ । देशका धेरै जिल्लामा अहिले निषेधाज्ञा छ । जसको प्रत्यक्ष मारमा सर्वसाधारण नै पर्छ । कोरोनाका कारण मानिसहरु विचलित छन् । देशमा स्वास्थ्यको अवस्था अत्यन्त नाजुक छ । सरकारले राज्य चलाउनु पर्ने तर माफिया र दलालहरुले सरकार नै कब्जा गरेर बसेका छन् । सरकारको नियन्त्रणमा अस्पताल हुनु पर्ने तर अस्पतालको नियन्त्रणमा सरकार भएको भान हुन्छ । नियामक निकाय स्वास्थ्य मन्त्रालय निरिह बनेको छ । जसले गर्दा मानिसहरू काल नै नआई मरिरहनु परेको स्थिति छ । 

सरकारमा व्यक्ति परिवर्तन भए, प्रवृत्ति परिवर्तन भएन । शासक परिवर्तन भए, संस्कार परिवर्तन भएन । 

कोरोनारुपी महायुद्धमा देश छ । सरकार आफ्नो डम्फु बजाउनमा मात्र व्यस्त छ । नागरिकलाई ढाटढुट पार्ने बाहेक कुनै काम गर्न सकेन । सरकारमा व्यक्ति परिवर्तन भए, प्रवृत्ति परिवर्तन भएन । शासक परिवर्तन भए, संस्कार परिवर्तन भएन । फलस्वरुप पुरानो मानसिकता बोकेका नयाँ राजाहरुबाट नागरिकले आश गर्नु नै बेकार छ । यस्ता शासक र शासकीय प्रवृत्तिका कारण नोपालीले अझ दुःख खेप्दै जानु पर्ने निश्चित छ ।   

हिजोे भुकम्पमा जस्तापाता खाने लुटेराहरु, कोरोना एकमा स्वास्थ्य सामग्रीमा लुट मच्चाउनेहरु र अहिले खोपमा लुटने तानाबाना र योजना बनाउनेहरुलाई मलजल गर्ने सरकारपक्षीय व्यवहारका कारण देश चरम संकट तर्फ जादैछ भन्ने प्रष्ट हुन्छ । कुनै पनि राजनैतिक दल काम लाग्ने भएनन् । आफनो सत्ता स्वार्थ सिद्ध गर्न हनुमान र गरीबलाई प्रयोग मात्र गरे तर सत्तामा पुगे पछि गरीबलाई लात हाने भने भजने र हनुमानेलाई काखी च्यापेका छन् । 

आज मानवतालाई तिलाञ्जली दिएर आफ्नाे कुण्ठित उद्देश्यपरिपूर्तिका लागि राज्य सञ्चालक राजनैतिक दलहरू लागि परेका छन् ।

सबै दलका टाउके मिलेर मोज मस्ती गरेकै छन् । तीन तहका सरकारका ठालुप्रसादहरु एकमुख भएर आफ्नो भूढी भरेकै छन् । भ्रष्ट्राचार गर्ने र खानेकुरामा सबैको सल्लाह मिल्छ तर देश बनाउने र नागरिकलाई बचाउने कुरामा कोही मिल्दैनन् । यो नै नेपालीको दुर्भाग्य हो । कोरोना आएसँगै राज्यको उच्च ओहोदामा बसेर राज्यसत्ता दोहन गर्ने छुट र अधिकार कसैलाई छैन । महामारीको आवरणमा देशलाई खोक्रो बनाउने र आफ्नो मक्सद पुरा गर्ने ध्याउन्नमा शासक लागेका कारण यो महामारी वा बिपत्ती दलाल र माफियाका लागि मलिलो बन्यो भने गरीब, असहाय, अशक्तका लागि अभिषाप बन्यो । 

आज मानवतालाई तिलान्जली दिएर आफ्नाे कुण्ठित उद्देश्य परिपूर्तिका लागि राज्य सञ्चालक राजनैतिक दलहरू लागि परेका छन् । प्रजातन्त्र र लोकतन्त्रको खिल्ली उडाएर ब्रम्हलुटमा लिन भएकाहरू अब यो देशको शासन चलाउन योग्य पनि छैनन् । अहिलेका शासकहरुको प्रवृत्ति र व्यवहार हेर्दा, दुर्घटना भएको ठाउँबाट घाइतेको सुनका सिक्री चोरेर भाग्ने जस्ता छन् । यस्ता पापी र अधोरी शासकहरू मानवतालाई बिर्सिएर संकटको यो महाविपत्तीमा सक्ताको फोहोरी राजनितिमा उघुम मच्चाइ रहेका छन् । यो किमार्थ राम्रो होइन । तर अहिलेलाई राजनैतिक लडाइलाई केही महिना थाती राखेर सबैजना कोरोनाको प्रकोप विरुद्धमा लड्नै पर्छ । विजय हासिल गरी छाड्नै पर्छ । यो महाबिपत्ती सकिए पछि सबै नेता र राज्य सञ्चालक ठालुप्रसादहरू जति लाप्पा खेले पनि हुन्छ । 

तत्काल देशभरीका सबै अस्पताल सरकारले केही समयका लागि लिएर संक्रमितको उपचार गर्नु पर्छ । अस्पताल सञ्चालक पनि यो संकटमा सरकारलाई साथ दिई नागरिक बचाउँन लाग्नु पर्छ । कमाउने बेला यही हो भनेर दाउ हेर्ने होइन । अहिले बाँचे र बचाँउन सके भविष्यमा पैसा कमाइन्छ भन्ने सोच्नु चै अहिलेलाई बुद्धिमानी हुन्छ । नत्र नेपाल र नेपालीले भयावह अवस्था भोग्नु पर्ने निश्चित छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved