वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य उमेरले ८० वर्ष पुगे । तर, उनले कर्म छोडेका छैनन् । मानिसमा सकारात्मक सोचको विजारोपण गर्ने अभियानमा उनी लागिरहेका छन् । ५ वर्षदेखि सकारात्मक सोच र नागरिक शिक्षाको अभियान लिएर उनी गाउँ गाउँ र स्कुल स्कुलमा पुग्दै आएका छन् ।
ठमेलमा कुमारनरसिंह राणाको दरबारमा काठमाडौँ गेष्ट हाउस सञ्चालनमा ल्याएर आधुनिक ठमेलको जग बसालेका कर्ण शाक्य ‘मैले मुलुकलाई योगदान दिन सकिँन’ भन्छन् । पर्यटनसँगै पर्यावरणविद समेत रहेका शाक्यले ‘सोच’ किताबबाट पाठकको मनग्य शुभेच्छा पाए । त्यसपछि पनि धेरै किताब तथा पत्रपत्रिमा लेखेका उनका लेखहरुले उनलाई लेखकको परिचय दिलाईरहेकै छन् ।
तर, पनि शाक्य देशलाई योगदान दिन के गर्न सकिन्छ भनेर हर समय सोचिरहन्छन् ।
‘पर्यटन मेरो व्यवसाय हो, मैले पैसा कमाउन गरेको हो’ शाक्य भन्छन्, ‘होटल बनाएर मैले पैसा कमाए, यो मेरो व्यक्तिगत कमाई हो । हो, देशभित्रै बसेर कमाई गर्दा देशकै कमाई पनि भयो । तर, मैले होटल बनाएर कमाएको पैसा त राष्ट्रलाई दिएको छैन, अनि कसरी मैले मेरो देशका लागि योगदान गरेँ त ?’
उनी आफैँलाई प्रश्न गर्छन् ।
‘देश हामीले बिगार्यौँ’
देशले आर्थिक उन्नति नगर्नुमा, विदेशीको हस्तक्षेप बढ्नुमा नेताहरु मात्रै नभई ‘तपाईँ हामी पनि दोषी छौँ’ भन्छन् । अरुलाई गाली गरेको सुनेर रमाउने र आफैँ पनि अर्कालाई गाली गर्नै तम्सिने हाम्रो स्वभाव विकास र उन्नतिको बाधब भएको शाक्यको निष्कर्ष छ ।
‘हामीलाई अरुले गर्नुपर्ने सबै थाहा छ, फलानोले यसो गर्नुपर्थ्यो, उसो गर्नुपर्थ्यो भन्छौँ’ शाक्य भन्छन्, ‘तर, आफूले गर्नुपर्ने केही पनि थाहा छैन । आइसल्याण्डमा प्रहरी छैन, किनकी त्यहाँका मान्छेलाई आफूले गर्ने काम र कुरा थाहा छ ।’
‘केही बुद्धिजीविहरुलाई गाली गर्नबाहेक केही आउँदैन, यस्ता गाली गर्ने, जता पनि नकारात्मक मात्रै खोज्ने बुद्धिजीविबाट मुलुकले के पाउँछ ?’ उनी प्रश्न गर्दै भन्छन्, ‘समर्थन र हौसलाको चलन नै भएन, राम्रोलाई राम्रो भन्न सकौँ, अब सोच बदलौँ ।’
‘देशमा नागरिक नै छैनन्’
राजाको पालामा प्रजाहरु रैती मानिन्थे । प्रजातन्त्रपछि रैतीहरु जनता भए । तर, देश गणतन्त्रमा आईपुग्दा पनि जनताहरु नागरिक बन्न नसकेकोमा शाक्यको गुनासो छ ।
‘हाम्रो देशमा नागरिक नै छैनन् भन्छु म त’ उनी भन्छन्, ‘अब नागरिक उत्पादन गरेर देशमा योगदान गर्ने अभियानमा छु ।’
‘नागरिक शिक्षा अपरीहार्य’
उनी जनतालाई नागरिक बनाउन नागरिक शिक्षा अपरीहार्य भएको बताउँछन् । युवा भनेको जाँगर र जोशको खम्बा तथा भविष्यको आशा र विश्वास भएकाले युवालाई राजनीतिक दलको कार्यकर्ता मात्रै नभई नागरिक बनाउन आवश्यक रहेको शाक्यको भनाई छ ।
‘उमेरले ८० पुगियो, अब कति नै बाँचियला र, जति बाँचिन्छ मानिसहरुमा सकारात्मक सोच पैदा होस् भन्ने अभियानकै लागि समय दिन्छु’ शाक्य भन्छन्, ‘अब १० वर्ष मात्रै काम गर्न सके भनेपनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ र देशलाई योगदान हुन्छ भन्ने लागेको छ । १० वर्ष मेरो व्यक्तिगत हिसाबमा लामो अवधि होला, तर देशका लागि लामो अवधि होइन ।’
१०+२ को पाठ्यक्रममा नागरिक शिक्षा राख्दा केही वर्षभित्रै नायकहरु उत्पादन गर्न सकिने शाक्यको बुझाई छ । किनकी, यो उमेरको विद्यार्थी भनेको १६ देखि १८ वर्ष उमेर समूहका युवाहरू हुने भएकाले यो अपरीहार्य रहेको उनको भनाई छ । कामलाई सम्मान गर्ने किसिमको नागरिक शिक्षाको आवश्यकता रहेको र १०+२ को पाठ्यक्रममा यो राखेको १० वर्षभित्रै हरेक क्षेत्रका नायकहरुको उत्पादन हुने विश्वास शाक्यको छ ।
कर्ण शाक्य सँगको कुराकानीमा आधारित