'राष्ट्र बैकका कारण बैंकहरु 'प्यानिक' भए, दशैं अगाडीसम्म अवस्था सुधार हुन्छ' : बैंकर क्षेत्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 21, 2021 | 09:17:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ प्रणालीमा तरलता अभाव भएसंगै बैंक वित्तीय सँस्थाहरुले एक साथ नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। असोज १ देखि लागू हुनेगरि सार्वजनिक गरिएको ब्याजदरका कारण बैंकहरुको ब्याजको लागत बढ्ने र यसले आधार दर बढाउने भएकाले कात्तिक १ देखि पुराना ऋणीहरुको समेत ब्याज बढ्ने देखिन्छ।

तरलता अभाव र ब्याजको दर बढ्नुमा धेरै कारणहरु रहेको अग्रज बैंकर परशुराम कुवंर क्षेत्री बताउँछन्। उनकाअनुसार सरकारको खर्च गर्ने क्षमता,  नेपाल राष्ट्र बैंकको नीति र कर्जा र निक्षेपको असन्तुलन अवस्थाका कारण अहिलेको अवस्था सृजना भएको हो।   

एकातर्फ कर्जा र निक्षेपको असन्तुलन बढेको र अर्कातर्फ सरकारले आफुले खर्च गर्नुपर्ने सरकारी खर्च पनि समयमा गर्न नसकेको र राजश्वको रुपमा उठेको पैसा सरकारी ढिकुटीमा थुप्रिंदा बजारमा तरलता अभाव बढेको हो। 

नेपाल सरकारको पछिल्लो तथ्यांक हेर्ने हो भने पनि यस आर्थिक बर्षमा मात्रै १७० अर्ब राजश्व उठेको छ। यस मध्ये ९० अर्ब खर्च भएको छ भने ८० अर्ब रकम ढुकुटीमा बचतमा रहेको छ। 

त्यस्तै भुक्तानी सन्तुलन पनि बिग्रिएको अवस्था छ। अघिल्लो आर्थिक बर्ष असार मसान्तसम्म २८२ अर्ब बचत भुक्तानी सन्तुलन रहेको थियो तर गत आर्थिक बर्ष ११५ अर्ब बचत भुक्तानी सन्तुलन देखिएको छ।   

अर्को तर्फ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कर्जा पुंजी निक्षेप अनुपात खारेज गरि कर्जा निक्षेप अनुपात लागु गरेकाले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव भएको अर्थात भएकै रकम पनि लगानी गर्न नसक्ने अवस्था पुग्दा तरलतामा दबाब बढ्न गई ब्याजदर बढेको हो।

सिसिड़ी रेसियो खारेज नभएको भए बैकंहरुले अहिलेको तुलनामा २ खर्ब बढी कर्जा लगानी गर्न सक्थे तर राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सिसिड़ी खारेज गरेपछि बैंकहरुको लगानी गर्ने क्षमतामा १२० अर्बको असर परेको छ। 

त्यस्तै यहि भदौ मसान्तसम्मको तथ्यांक हेर्ने हो भने पनि बैंकिङ प्रणालीमा १६ अर्बले निक्षेप बढेको छ भने ११ अर्बले कर्जा प्रवाह बढेको छ। बिगतको तुलनामा यो अवस्था फरक हुने क्षेत्रीको भनाई छ। क्षेत्रीकाअनुसार पहिले डिपोजिट घट्ने लोन बढ्ने हुन्थ्यो तर अहिले दुवै बढेको छ।    

ब्याजदर बढाउँन बैंकहरुको हतारो किन ? 

सरकारले प्रतिस्थापन बिधेयक पारित गरेपनि बजेट पारित गर्न नसक्दा नेपालले झन्डै नेपालकै इतिहासमा पहिलो पटक बजेट होलिडे भोग्नु पर्यो। सरकारले पनि गर्न नसकेको, सिसिडी खारेज हुँदा लगानीयोग्य रकम खुम्चिएको र कर्जाको माग र आपूर्तिमा पनि असन्तुलन देखिएको जस्ता कारणले बैंकहरु भएको निक्षेप जोगाउनकै लागि पनि ब्याजदर बढाउँन बाध्य भएको क्षेत्री बताउँछन्। 

सबै बैंकहरुले एकै पटक ब्याजदर बढाउँनु पर्ने बाध्यता पनि राष्ट्र बैंककै कारण सृजना भएको उनको दाबी छ। आउने महिनाको ब्याजदर अग्रिममै घोषणा हुनुपर्ने र त्यो पनि महिनाको एक पटक र तोकिएको समयमा गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाकै कारण सबै बैंकहरुले एकै पटक ब्याजदर सार्वजनिक गर्न बाध्य भएको उनको तर्क छ। 

आफुलाई आवश्यक पर्दा ब्याजदर सार्वजनिक गर्नुपर्ने नीति भएको भए अहिले सबै बैंक वित्तीय सँस्थाहरुले एकै पटक ब्याजदर सार्वजनिक गर्नुपर्ने बाध्यतामा नरहने र यसले बजारमा पनि ब्याजदर बढ्यो भन्ने संदेश नपुग्ने उनको भनाई छ।

एउटा बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्ने बित्तिकै अरु बैंकहरुले पनि आफुसंग भएको निक्षेप जोगाउन र सिडी रेसियो व्यवस्थापन गर्नका लागि ब्याजदर बढाउँन बाध्य भएको उनको भनाई छ। 

आफुले ब्याजदर नबढाए भएको निक्षेप पनि अरुले खोसेर लैजाने, बिभिन्न नियमाकीय व्यवस्थामा समस्या हुने भएकाले बैंकहरुमा 'मर्ता नहीं क्या कर्ता' को अवस्था देखिएको र यसको कारण राष्ट्र बैकको नीति नै भएको उनले बताए।   

कहिलेसम्म कसरी हुन्छ समस्याको समाधान ?

क्षेत्रीकाअनुसार दशैं अगाडीसम्म अहिले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाब र ब्याजदरमा तिब्र प्रतिस्पर्धाको अवस्थामा सुधार आउनेछ। तर यसका लागि सरकारले सरकारी खर्च गर्न सक्नुपर्ने र नेपाल राष्ट्र बैंकले पनि पर्याप्त रुपमा पुनर्कर्जाको रकम लगानी गर्नुपर्ने उनले बताए। 

प्रतिनिधिसभाबाट बजेट पारित भईसकेकाले राष्ट्रिय सभाबाट पनि पास हुने र सरकारले तिब्र रुपमा सरकारी खर्च गर्ने भएकाले यसले बजारमा तरलता अभावको अहिलेको अवस्थामा केहि सुधार आउनेछ। 

सरकारले खर्च गर्न सक्ने अवस्था भएपछि स्थानीय तहमा पनि पैसा जाने र त्यहाँ पनि खर्च बढ्ने भएकाले बजारमा तरलता हुने र त्यसले समग्र बैंकिग प्रणालीमा लगानीयोग्य रकमको अवस्था सहज हुने उनले बताए।        

त्यस्तै नेपाल राष्ट्र बैंकले पनि पुनर्कर्जा बापतको लगानी गर्ने र यसले बैंकिग प्रणालीमा लगानीयोग्य रकम थप हुने अवस्था आउने उनले बताए। बैंकहरुले राष्ट्र बैंकबाट करिब-करिब ९० अर्ब रुपैयाँ पुनर्कर्जा लिन बाँकी छ र यसका लागि बैंकहरुले आबेदन दिने क्रम र राष्ट्र बैंकले स्वीकृत गर्ने क्रम पनि तिब्र रुपले अगाडी बढेको छ।

उनकाअनुसार अवस्थामा सुधार आएपनि गत बर्षहरुको झैं पर्याप्त रुपमा लगानीयोग्य रकम हुन्छ र ब्याजदर पनि तल्लो तहमा आउँछ भन्ने चाहिं होइन। अहिलेपनि सिडी रेसियो दैनिक रुपमा घट्दै गएकाले यसले अवस्था विस्तारै सुधार हुँदै जाने संकेत देखाएको उनको भनाई छ। 

तरलता अभाव र बढेको ब्याजदरको असर सेयरबजारमा कहिलेसम्म 

आफु सेयर बजारको बिज्ञ नभएको बताउदै क्षेत्रीले संसारका सबै सेयर बजारले नयाँ उचाई लिएका र नेपालको पनि त्यो अवस्था आउनेमा कुनै दुई मत नभएको बताए। तर यो अवस्था कहिले आउँछ भन्ने कुरा गौण बिषय रहेको उनको भनाई छ। 

घट्ने र बढ्ने बजारको स्वभाव नै भएकाले अहिले घटेको बजार एउटा निश्चित समयमा गएर माथि जाने उनले बताए। अहिले बैकिङ प्रणालीमा देखिएको तरलता अभाव र ब्याजदर बढेको बिषय पनि एउटा समयमा पुगेर समाधान हुने भएकाले अहिले सेयरबजारमा देखिएको अवस्था 'सर्टटर्म प्यानिक' मात्रै भएको उनको भनाई छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved