अर्थमन्त्री शर्माले दुखाए ४४ लाख सेयर लगानीकर्ताको मन, युवराज खतिवडा बन्ने चिन्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 29, 2021 | 11:57:02 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका जनार्दन शर्मा युबराज खतिवडाको बाटोमा लागेको विश्लेषण हुन थालेको छ। नेपालको सेयरबजारबाट एक सय जनाले मात्र कमाएको र अरु सबै लगानीकर्ता डुबेको अभिव्यक्ति दिएका अर्थमन्त्री शर्माका पछिल्ला क्रियाकलाप र अभिव्यक्तिले उनी सेयरबजारले नरुचाएका तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको लाइनमा अगाडी बढेको विश्लेषण हुन थालेको हो। 

मिनीसंसद मानिने अर्थसमितिको बैठकमा सार्वजनिक रुपमा नै नेपालको सेयरबजारबाट एक सय ठुला र बाठा लगानीकर्ताले मात्र कमाएका र अरु सबैले गुमाईरहेको अभिव्यक्ति दिएपछि शर्मा विवादमा तानिएका थिए। र उनको यो अभिव्यक्तिले नै सेयरबजारप्रति उनको बुझाई झल्किन्छ। 

त्यसो त अर्थमन्त्री शर्माले दिएको यो अभिव्यक्तिअनुसार नै नेपाल राष्ट्र बैंकले पनि सेयर धितो कर्जामा एउटा लगानीकर्ता (व्यक्तिगत तथा संस्थागत दुवै) ले एउटा बैंकबाट बढीमा ४ करोड र तीनवटा बैंकबाट १२ करोड मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको हो। 

पछि यहि व्यवस्थाका कारण सेयरबजारमा कारोबार रकम र नेप्से इन्डेक्सले निरन्तर रुपमा ओरालो लागेपछि सेयर लगानीकर्ताका नेताहरुले अर्थमन्त्री गुहार्न पुगेका थिए। त्यो बेला अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिसँग यो बिषयमा टेलिफोन संवाद गरेका थिए। र शर्माको सचिवालयबाट पनि त्यहिअनुसार प्रेस विज्ञप्ती बाहिर आएको थियो र मिडियाहरुले पनि त्यसलाई राम्रो स्थान दिएर कभरेज गरेका थिए। 

तर यसरी आफैंले गरेको संवादलाई पनि अर्थमन्त्री शर्माले पछि आफुले सेयरबजारको बारेमा नभई अरुनै बिषयमा कुराकानी गर्नलाई गभर्नरलाई फोन गरेको भनेर विवादित अभिव्यक्ति दिएका थिए। 

यति मात्र नभई उनले सेयरबजार भन्ने शब्द प्रयोग नगरी बजारमा केहि संस्थाको मुल्य बेलुन झैं फुकेको र यो कसरी हुन्छ भन्ने आशयले बोलेका थिए। र उनले बोलेको अभिव्यक्तिलाई केहि मिडियाले सेयर बजारकै बारेमा बोलेको भनेर समेत समाचार बनाए। यसको नकारात्मक असर सेयर बजारमा धेरै परेको थियो। 

त्यति मात्र नभई सेयरको दोस्रो बजार अहिले नेतृत्त्वविहिन अवस्थामा रहेको छ। ४४ लाख ४७ हजार लगानीकर्ता रहेका र दैनिक अरबौं रुपैयाँको कारोबार र करोडौं रुपैयाँको राजश्व उठ्ने बजारको नेतृत्त्व चयनमा पनि अर्थमन्त्री शर्माले ढिलासुस्ती गरेको पाइएको छ। 

छिटोभन्दा छिटो धितोपत्र बोर्ड र नेप्सेलाई नेतृत्त्व दिएर बजारलाई सहि ट्रयाकमा ल्याउनुपर्नेमा अर्थमन्त्री शर्माले बेला बेला विवादित बयान दिएर सेयरबजारलाई झनै घटाउने र आम सर्व सर्वसाधारण लगानीकर्तालाई अत्याउने काम गरेका छन्। 

कुनै एउटा कम्पनीले जारी गरेको आइपीओमा २४ लाख लगानीकर्ताले आबेदन दिएको र सेयरबजारमा ४४ लाख ४७ हजार लगानीकर्ता रहेको तथ्यलाई समेत बिर्सिएर पटक पटक गलत अभिव्यक्ति दिएर लगानीकर्ताको मन दुखाउने काम गरेकाले उर्जामन्त्री हुँदा नाम कमाएका शर्मा अब भने नरुचाईएका मन्त्रीको रुपमा परिचित युवराज खतिवडा बन्ने लाइनमा गएको विश्लेषण गरिएको हो। 

घट्दो बजारमा गभर्नर भन्दा अर्थमन्त्री जिम्मेवार 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेको व्यवस्थाका कारण सेयरबजारको अवस्था बिग्रिएको भनीएपनि यसको मुख्य दोषी अर्थमन्त्रालय नै भएको जानकारहरुको दाबी छ। 

जनार्दन शर्मा अर्थमन्त्री बनेपछि र उनले अर्थमा आफु निकट व्यक्तिलाई अर्थसचिवमा ल्याएपछि नै नेपाल राष्ट्र बैकले मौद्रिक नीति ल्याएको हो। यसअर्थमा अर्थमन्त्रालयको कन्सर्न र सहमति बिना राष्ट्र बैंकले मौद्रिक नीति नल्याएको स्पष्ट हुन्छ। त्यसमा पनि अर्थसचिव स्वयम राष्ट्र बैंकको संचालक समितिमा रहेको र उनको सहमति र हस्ताक्षर बिना राष्ट्र बैंकले सेयर तथा वित्तीय बजारलाई असर राख्ने नीति ल्याउन सक्दैन। त्यसैले पनि मौद्रिक नीतिमा गरिएका व्यवस्था र त्यसले सेयर तथा बैंकिङ क्षेत्रमा परेको प्रभावको मुख्य जिम्मेवार अर्थमन्त्रालय, अर्थमन्त्री र अर्थसचिव नै भएको अर्थविदहरुको भनाई छ।  

बिष्णु पौडेल बनुन् भन्ने लगानीकर्ताको चाहना 

हालका अर्थमन्त्री शर्मा नेकपा एमाले नेतृत्त्वको सरकारका अर्थमन्त्री बिष्णु पौडेल जस्तै बनुन् भन्ने आम सेयर लगानीकर्ताको चाहना रहेको छ। बिष्णु पौडेल अर्थमन्त्री रहंदा नेप्से इन्डेक्स अलटाइम हाई ३२०० को उचाईमा पुगेको थियो भने कारोबार रकम पनि दैनिक दश अर्ब नाघेको थियो। 

यति मात्र नभई अर्थमन्त्री रहंदा पौडेलले बजारमा तरलता कायम गर्ने र ब्याजदरलाई स्थिर राख्ने काम गरेका थिए। तर जनार्दन शर्मा अर्थमन्त्री बनेपछि यी सबै उपलब्धी खोसिएका छन्। र नीति नियम र वित्तीय व्यवस्था पनि त्यहि अनुसार बनिरहेको छ। नेप्से इन्डेक्स २६०० आसपासमा झरेको छ भने कारोबार रकम पनि ५ अर्बमा सिमित भएको छ। त्यस्तै ब्याजदर पनि दोहोरो अंकमा पुगेको छ भने तरलताको अवस्था अत्यन्त नाजुक रहेको छ। 

त्यसैले पनि लगानीकर्तामाझ जनार्दन शर्मा तत्कालिन अर्थमन्त्री युबराज खतिवडाको साट्टो सेयरबजारले रुचाएका बिष्णु पौडेल झैँ बनुन् भन्ने चाहना रहेको पाइएको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved