किन बैंकिङ प्रणालीमा तरलता अभाव ? कहिलेसम्म रहन्छ समस्या ? एडीबीका सीईओ उपाध्यायको विचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 10:21:16 AM मा प्रकाशित

laxmi  sunrise bank

कमर्शियल बैंकहरुका सीईओ हरुको छाता संगठन नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बिभिन्न कारणले तरलतामा संकुचन आएको तर लगानी गर्नै नसक्ने अवस्था भने नरहेको बताएका छन्। 

बैंकहरुले नेपाल राष्ट्र बैंकले दिएको सीमा भन्दा बढी 'क्रेडिट ग्रोथ' गर्दा निक्षेप र कर्जा प्रवाहको सन्तुलन भत्किएकाले अहिले तरलतामा संकुचन देखिको उनले बिजपाटीसँगको कुराकानीमा बताए। 

कोभिड १९ को पहिलो लकडाउन पश्चात अवस्था सामान्य हुँदा बैकहरुले आक्रामक रुपमा कर्जा लगानी विस्तार गर्दा त्यहि अनुसार बैंकिङ प्रणालीमा निक्षेप नआउँदा सन्तुलन बिग्रिएको उनको भनाई छ।

अवस्था अप्ठ्यारो भएपनि सेयरधनी तथा आम लगानीकर्ताले प्रतिफलको अपेक्षा गर्ने भएकाले त्यसको दबाब बैंकको व्यवस्थापनलाई हुने भएकाले सकेसम्मको कर्जा लगानी विस्तार गर्न बैंकहरु बाध्य हुने उनको भनाई छ।  कोभिड १९ को पहिलो लकडाउन पछि बैंकहरुले आक्रामक भएर लगानी विस्तार गर्नुको मुख्य कारण पनि यहि नै भएको उनको भनाई छ। 

यो पनि: 'कृषि बोण्डले बैंकको व्यवसाय मात्र होइन, सेयरधनीको प्रतिफल पनि बढाउँछ' अन्तर्वार्ता

तर लगानी बिस्तार भएझैं निक्षेप जम्मा नहुँदा तरलता सन्तुलन बिग्रिएको उनको भनाई छ। उनकाअनुसार रेमिट्यान्स घट्नु, सरकारले राजश्व बापत झन्डै १५० अर्ब रुपैयाँ उठाएर ढुकुटीमा राख्नु, नेपाल सरकारले बजेट र कार्यक्रम खर्च गर्न नसक्नु, दशैं जस्ता चाडपर्व पनि यहि बेला पर्दा ठुलो मात्रामा नगद बाहिरिनु, बचतकर्ता र व्यवसायीले पनि दशैँ जस्ता चाडपर्वका लागि नगद होल्ड गर्नु, सरकारी कर्मचारीको तलब रोकिनु, आयात बढ्दा पैसा बाहिरनु, आयात भएको सामान बिक्रि भई नसकेकाले आयात बापतको पैसा होल्ड हुनु जस्ता कारणहरुले बैंकिङ प्रणालीमा निक्षेप घट्न गई कर्जा र निक्षेपबीचको सन्तुलन बिग्रिएको उनको भनाई छ। 

तरलतामा सकुचन आएपनि बैंकहरु लगानी गर्न नसक्ने अवस्थामा नरहेको सीईओ उपाध्यायको भनाई छ। गत आर्थिक बर्ष जस्तो अधिक तरलता पनि नरहेको तर लगानी गर्नै नसक्ने अवस्थामा पनि बैंकहरु नपुगेको उनको भनाई छ। 

कहिलेसम्म रहन्छ तरलता को समस्या ?

यो आर्थिक बर्ष गत आर्थिक बर्ष जस्तो अधिक तरलताको अवस्था नरहेपनि दशैं सकिदै गर्दा अवस्था अहिलेको भन्दा अझ सहज हुने सीईओ उपाध्यायको भनाई छ। 

चाडपर्वको लागि बाहिरिएको पैसा पनि विस्तारै बैंकिङ प्रणालीमा फिर्ता हुने, रेमिट्यान्स पनि बढ्ने र सरकारी खर्च पनि अब बढ्ने, पुनर्कर्जाको पैसा पनि आउने भएकाले अवस्था सहज हुँदै जाने तर गत बर्ष जस्तो अधिक तरलता नहुने उनको भनाई छ। 

बजारमा सस्तो दरमा सहज रुपमा पैसा उपलब्ध हुँदा त्यसले उपभोग र अनुत्पादक क्षेत्रमा खर्च हुन सक्ने डर भएकाले राष्ट्र बैंकले पनि सन्तुलन नीति लिएको उनको भनाई छ। रिपो, पुनर्कर्जा जस्ता टुल्स प्रयोग गरेर आवश्यकताअनुसार बैंकिङ प्रणालीमा पैसा पठाउने र बढी भए त्यहि अनुसार झिक्ने नीति लिइरहेकाले राष्ट्र बैंक पनि कर्जा प्रवाह र निक्षेप संकलनमा सन्तुलन चाहेको देखिन्छ। 

राष्ट्र बैंकले सिसिडी खारेज गरेर सिडी रेसियो लागु गर्दा तरलता अभाव भयो भन्नु पूर्ण ठिक नभएको उनको भनाई छ। अन्तराष्ट्रिय मुल्य मान्यतालाई नेपालका बैंकले पनि मान्नु पर्ने र त्यहिअनुसार सिडी रेसियो लागू गरिएकाले यहि कारणले मात्र तरलता अभाव भएको भन्न नमिल्ने उनले बताए।         

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved