'राष्ट्र बैंकको स्पेसिफिक सर्कुलरले ५-७ महिना ब्याजदरमा स्थायित्व आउँछ, प्यानिक हुनुपर्दैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2021 | 11:24:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंकहरुले आत्तिएर ब्याज बढाएकाले स्पेसिफिक सर्कुलर ल्याउनु परेको बताएका छन्।बैंकहरुले बैंकिंङ प्रणालीलाई नै बिथोल्ने गरि ब्याजदरमा मनलाग्दी वृद्धि गर्दा पनि राष्ट्र बैंकले केहि नगरेको भन्ने आलोचना गरिएकोप्रति असन्तुष्टि जनाउदै राष्ट्र बैंकले स्पेसिफिक सर्कुलर ल्याएको मिश्रले बताए।

२०७८ साउन १ गते आधार दरमा कर्जा जारी गर्नलाई अनुमती मागेका बैंकहरुले ९५ दिनको अन्तरालमै डबल डिजिट माथि पुगेर ब्याजदर बढाएकाले राष्ट्र बैंकले ब्याजदर वृद्धिमा कडाई गर्नुपरेको समेत मिश्रले बताए।

६ प्रतिशतको बचतको ब्याज घटाएर डेढ प्रतिशतमा झार्न एक महिनापनि नलाग्ने र डेढ प्रतिशतको बचतको ब्याज दुई महिनामै ८ प्रतिशत पुर्याउन समय नलिने बैंकहरुको गलत प्रवृतिकै कारण बिशेषगरि मुद्दतिको ब्याज १० प्रतिशत भन्दा गर्न नपाइने बनाउन राष्ट्र बैंक बाध्य भएको समेत मिश्रले स्पष्ट पारे। 

अहिले बैंकहरुमा एक महिनाको मात्रै व्यवस्था गर्छु, अर्को महिना देखा जाएगा भन्ने स्थिति देखिएको र यो प्रवृति सहि नभएको समेत मिश्रले बताए।

"अहिले बैकहरुमा अलिकति अप्ठ्यारो हुने बित्तिकै झ्याल खोलेर हाम्फाल्ने प्रवृति बढ्यो, यहि प्रवृति रही रहंदा समग्र बैंकिंङ प्रणालीमै समस्या आउने देखेर राष्ट्र बैंकले 'स्पेसिफिक सर्कुलर' ल्याएको हो" डेपुटी गभर्नर मिश्रले भने, "एम.ओ.बि.आई.सी अर्थात अगाडीको मात्र देख्ने तर अलिपरको पनि नदेख्ने आँखाको रोग जस्तै बैंकहरुमा पनि समस्या देखियो तर स्पेसिफिक सर्कुलरले ५-७ महिना ब्याजदरमा स्थायित्व कायम गर्ने हाम्रो बिश्वास छ।"

यो पनि: ब्याजदर बढाएको बिषयलाई लिएर डेपुटी गभर्नरले पोखे आक्रोश, सीईओहरुलाई पढाए पाठ (भिडियो)

राष्ट्र बैंकले जारी गरेको तीन बुंदे स्पेसिफिक सर्कुलरप्रति केहि संघ सँस्थाले असन्तुष्टि जनाएकोप्रति इंकित गर्दै मिश्रले पब्लिक पलिसी जारी गर्दा शतप्रतिशत सहमत र सबै खुसि हुने अवस्था नरहने समेत स्पष्ट पारे। यद्दपी सकेसम्म सबैलाई मिलाएर अगाडी बढ्ने राष्ट्र बैंकको कोसिस हुने उनले बताए।  

केहि बैंक वित्तीय सँस्थाले ब्याजदरको प्रतिस्पर्धामा उग्र भएकोप्रति समेत डेपुटी गभर्नर मिश्रले आफ्नो धारणा व्यक्त गरेका छन्। एकै जहाजमा हिडेपछि जहाजका सबै कोठामा जोखिम उत्तिकै हुने बताउदै मिश्रले एउटा कोठामा प्वाल पर्दा अर्कोले खुसि हुनुपर्ने अवस्था नरहेको स्मरण गराए।

राष्ट्र बैंकले केहि गरेको छैन र सर्कुलर पनि हचुवाको भरमा ल्याएको छ भन्ने भ्रममा नपर्न समेत मिश्रले चेतावनी दिए। धेरैबर्षदेखि उपचार गरिरहेको डाक्टरलाई बिरामी हेर्ने बित्तिकै उसको समस्या थाहा भए झैं राष्ट्र बैंकमा पनि आफुहरुले बर्षौंदेखि काम गरिरहेकाले कुन बैंकमा के समस्या छ भन्नेबारे राम्रोसँग थाहा भएको समेत उनले बताए।

त्यस्तै बजारमा ब्याजदर अचाक्ली बढ्यो भनेर केहि ब्यवसायीले गरेको आलोचनाको समेत डेपुटी गभर्नर मिश्रले तथ्य सहित खण्डन गरेका छन्। २०७० सालमा कर्जाको औशत ब्याजदर ११.४५ प्रतिशत रहेकोमा अहिले ८.५० प्रतिशत मात्रै रहेको र आधारदर पनि घटेर ६.८३ प्रतिशतमा आएकाले ब्याजदर बढ्यो भन्नु गलत भएको मिश्रले बताए। यद्दपी ब्याजको दर घट्दै घट्दैन वा बढ्दै बढ्दैन भन्ने मानसिकता बोकेर नहिड्न उनले आग्रह गरे।  

"राष्ट्र बैंकले कोभिड १९ को महामारीमा समेत तरलता सहजता र ब्याजदरमा स्थायित्व कायम गर्न सफल भएको छ, अहिले पनि बेश रेट बढेको छैन, ब्याजदरमा अचाक्ली वृद्धि हुन नदिनलाई राष्ट्र बैंकले धेरै टुल्स प्रयोग गरिरहेको छ, कोहि पनि प्यानिक हुनुपर्दैन" मिश्रले बिजपाटीसँगको कुराकानीमा बताए।  

केहि व्यक्ति तथा सँस्थाहरुले तरलता अभाव भयो 'लिक्वीडीटि क्रंच' भयो भनेर बोल्नु सामान्य बिरामीलाई आइसीयुमा राख्नु पर्यो भनेर अस्पतालमा भन्नु जस्तै भएको उनले बताए। 

तथ्यांकलाई हेर्दा कुनै पनि हालतमा अवस्था प्यानिक हुने नरहेको दाबी गर्दै डेपुटी गभर्नर मिश्रले बैंक वित्तीय सँस्थाहरुलाई आत्तिएर सर्वसाधारणलाई अत्ताउने गरि निर्णय नलिन र मनलाग्दी तरिकाले ब्याजको दर नबढाउनलाई सपष्ट रुपमा चेतावनी दिएका छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved