एनसीएचएलको नेशनल पेमेन्ट स्वीच: यसले के के गर्छ र आम नागरिकलाई के फाइदा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2021 | 01:22:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यन्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा विभिन्न प्रकारका सेवाहरु उपलब्ध गराउने भएको छ। पैसा प्राप्त गर्न तथा भुक्तानी गर्नलाई छरिएर रहेका सेवा प्रदायकहरुलाई एक ठाउँमा ल्याएर सहजरुपमा कारोबार गर्न मिल्नेगरि संचालनमा ल्याउन लागिएको नेशनल पेमेन्ट स्वीचमा विभिन्न प्रकारका नयाँ सेवाहरु थप गर्न लागिएको हो। 

केहि अपवाद बाहेक आ आफ्नै प्रणालीमा रहेर स्वतन्त्र रुपमा संचालनमा रहेका सेवाप्रदायकहरुलाई एक ठाउँमा ल्याएर एउटा प्रणालीबाट संचालन हुने गरि कार्यन्वयनमा ल्याउन लागिएको नेशनल पेमेन्ट स्वीचमा थपिएका यी सेवाले आम सर्वसाधारणहरुको जीवन सहज हुने अपेक्षा गरिएको छ। 

अहिले स्वतन्त्र रुपमा आ आफ्नै प्रणालीबाट संचालन भईरहेका सेवाप्रदायकहरुलाई भोलिका दिनमा एक ठाउँमा ल्याएर एक अर्काको सेवालाई जोड्नका लागि नेशनल पेमेन्ट स्वीच कार्यन्वयनमा ल्याउन लागिएको हो। 

अहिले संचालनमा रहेका कार्ड सेवा प्रदायक जस्तो भिजा, एससिटी, नेप्सहरुले आ आफ्नो नेटवर्क प्रयोग गरेर आफ्ना ग्राहकलाई सेवा दिईरहेकोमा नेशनल पेमेन्ट स्वीच कार्यन्वयन पश्चात भने यी सेवाहरु एकै ठाउँमा र एकै नेटवर्कमा आउनेछन्। यसले गर्दा एउटा कम्पनीको ग्राहकले पनि आफु ग्राहक नभएको कम्पनीको सेवा एकै नेटवर्कबाट सेवा लिन पाउनेछन। 

त्यस्तै अहिले संचालनमा रहेका वालेट सेवा प्रदायकहरु भोलिका दिनमा नेशनल स्वीचमा आवद्द हुँदा एउटा वालेट सेवा प्रदायकको ग्राहकले अर्को वलेट सेवा प्रदायकको ग्राहकलाई पैसा भुक्तानी गर्न तथा प्राप्त गर्न सक्नेछन्। अहिले एउटा वालेटबाट अर्को वालेटमा सिधै पैसा पठाउन वा भुक्तानी पाउन नसकिने अवस्था छ। 

भुक्तानी प्रणाली र कार्डको लागि चाहिने नेशनल पेमेन्ट स्वीचको प्रणाली अलग अलग हुने गर्दछ। सुरक्षा, अन्तराष्ट्रिय मान्यता जस्ता कुराहरुले गर्दा पनि यी दुई प्रणाली (कार्डसँग सम्बन्धित र कार्डसँग असम्बन्धित कारोबार प्रणाली) लागि चाहिने नेशनल पेमेन्ट स्वीचको पूर्वाधार अलग अलग हुने गर्दछ। 

एनसीएचएलले आफूसंग पहिल्यैदेखि भएको कार्डबाहेकका कारोबार प्रणालीलाई नै पुन प्रयोग गरेर अहिले नेशनल पेमेन्ट स्वीच कार्यन्वयनमा ल्याउन लागेको हो। एनसीएचएलमा आबद्द संस्थाहरुलाई अहिलेकै प्रणालीमा राखेर नेशनल पेमेन्ट स्वीच संचालन गर्न सकिन्छ तर आवद्द नभएका बैंक, पीएसओ तथा अन्य सँस्थाहरु पनि नेशनल पेमेन्ट स्वीचमा आवद्द हुनुपर्ने हुन्छ। 

नेशनल पेमेन्ट स्वीच आफैमा एउटा ८ लेनको हाइवे जस्तो हो। हाइवे मात्र भएर हुदैन। यसमा चल्ने सवारीहरु पनि हुनुपर्यो र के के सवारी चल्ने र के के नचल्ने भन्ने स्पष्ट हुनुपर्छ। त्यसमाथि पनि कुनै पनि सवारी सिधै हाइवे पुग्ने होइन त्यहाँसम्म पुग्न उसलाई अर्को कुनै बाटोको आवश्यक पर्दछ। यसैगरि कारोबार प्रणालीपनि संचालनमा हुन्छन्। 

हाइवे बनाउदा प्रयोगकर्तालाई सहज होस् भन्ने उदेश्यले जसरी विभिन्न ठाउँमा आकाशे पुल बनाइन्छ, साइडमा अर्को सहायक बाटो बनाइन्छ, हाइवेको साइडमा सवारी रोक्न मिल्ने ठाउँ बनाइन्छ त्यसैगरि विभिन्न कारोबार प्रणालीलाई जोडेर सहज कारोबार गर्ने गराउने मात्र नभई नेशनल पेमेन्ट स्वीचले आफैले केहि सेवा सुविधा उपलब्ध गराएको हुन्छ । 

ती सेवाहरु मध्ये एउटा हो, वालेट टु वालेट सेवा। यस मार्फत अहिले संचालनमा रहेका वालेटहरुमा एउटा वालेट कम्पनीको ग्राहकले आफु ग्राहक नभएको अर्को वालेट कम्पनीमा सिधै पैसा पठाउन तथा प्राप्त गर्न पाउँछ। तर यसका लागि वालेट कम्पनीहरु नेशनल पेमेन्ट स्वीचमा आवद्द हुनुपर्दछ। जस्तो यदि नेशनल पेमेन्ट स्वीचमा इसेवा र खल्ती आवद्द छन् भने इसेवाका ग्राहकले खल्तीका ग्राहकसँग सिधै कारोबार गर्न सक्दछ। 

यति मात्र नभई भोलिका दिनमा आवश्यक नीतिगत व्यवस्था भएमा रेमिट्यान्स, तलब तथा अन्य आम्दानी पनि सिधै वलेट खातामा पठाउन मिल्छ। यसले गर्दा ग्राहकले वालेटमा पैसा पठाउन कुनै बैंक वा कुनै अर्को सँस्था जोड्नु पर्दैन। 

त्यस्तै नेशनल पेमेन्ट स्वीचमा थप्न लागिएको अर्को सेवा हो, सर्भिस इन्टिग्रिटी। नेशनल पेमेन्ट स्वीचमा आवद्द भुक्तानी सेवा प्रदायककै 'प्ल्याट फर्म' बाट पनि एनसीएचएलको सेवा सुविधा उपलब्ध हुने गरि एनसीएचएलले आफुसंग आवद्द सँस्थाहरुलाई यो सेवा दिने गर्दछ। जसले गर्दा एनसीएचएलबाट प्राप्त हुने सेवा सुविधाका लागि एनसीएचएलमै आउनु पर्ने झन्झट हट्ने र सम्बन्धित अर्थात आफु ग्राहक भएको सँस्थाबाटै एनसीएचएलको सेवा उपलब्ध हुँदा समय र पैसा दुबैको बचत हुनेछ।

त्यस्तै नेशनल पेमेन्ट स्वीचमा जोडिएको अर्को सेवा हो, सेटलमेन्ट सर्भिस। नेशनल स्वीचमा आवद्द भएका भुक्तानी सेवा प्रदायक नेप्स, एससिटी, पीएसपी जस्ता सँस्था जोसंग आफ्नै अलग्गै नेटवर्क र सदस्यसंस्था छन् उनीहरुको लागि ल्याइएको सेवा हो सेटलमेन्ट सर्भिस। 

त्यस्तै नेशनल पेमेन्ट स्वीचमा जोडिएको अर्को सेवा हो, क्युआर कोड। भुक्तानी तथा कारोबारको लागि एउटा साझा नेटवर्क भएझैं भुक्तानीको लागि पनि नेशनल स्वीच पेमेन्टमा साझा क्युआर कोड सुविधा हो। अहिले फोन पे, तथा एससिटिको क्युआर कोड संचालनमा छन् र एनसीएचएलले पनि आफ्नो छुट्टै क्युआर कोड भुक्तानी प्रणाली ल्याउदैछ। 

अहिले संचालनमा रहेका क्युआर कोडको प्रयोग यी दुई संस्थाका आ आफ्ना नेटवर्कको प्रयोगमा भईरहेको छ। तर नेशनल पेमेन्ट स्वीच कार्यन्वयनमा आउँदा एउटा साझा क्युआर कोड र एउटा साझा नेटवर्कको मात्र प्रयोग हुन्छ। उक्त क्युआर कोडको प्रयोगबाट सबै क्युआर कोड सेवा प्रदायकको सेवा एकै ठाउँमा हुनेछ। नेशनल पेमेन्ट स्वीचमा यो सेवा हुँदा एक ठाउँमा कम्पनी अनुसार अलग अलग क्युआर कोड हुने झन्झटबाट मुक्ति मिल्छ।  

त्यस्तै नेशनल पेमेन्ट स्वीचमा जोडिएको अर्को सेवा हो, डाइरेक्ट डेबिट रिक्वेस्ट टु पे। अधिकांश समय पैसा तिर्नुपर्नेले अग्रता लिएपछि मात्रै भुक्तानी प्रकृया अगाडी बढ्ने गर्दछ। तर डाइरेक्ट डेबिट रिक्वेस्ट टु पे यस्तो सेवा हो जहाँ लिनुपर्नेको आग्रहमा पैसा भुक्तानी हुन्छ। यो सुविधा मार्फत लिनुपर्नेले दिनुपर्नेसंग पैसा माग गर्दछ र माग भेरीफाईड भएपछि पैसा भुक्तानी हुन्छ। 

अर्कोतर्फ कसैले कहिँ पैसा तिर्नुपर्नेछ र उसले थर्ड पार्टी भुक्तानीको मोडलमा स्वत पैसा काटिने सेवा लिएको छ भने पैसा तिर्नुपर्ने ठाउँमा स्वत खाताबाट सम्बन्धित मितिमा पैसा झिकिन्छ। तर यसका लागि यस सम्बन्धि अटो डेबिटको लागि ग्राहकले अनुमति दिनुपर्ने हुन्छ। इन्टरनेट, जिम, इन्स्योरेन्सको प्रिमियम, कर्जाको ब्याज वा तिर्नुपर्ने पैसा जस्तो भुक्तानी गर्नका लागि पनि यो यो प्रणालीको प्रयोग हुनेगर्दछ। यो सुविधा सम्भवत: नेपालमै पहिलो पटक हो।   

कार्यान्वयमा ल्याउन लागिएको नेसनल पेमेन्ट स्वीचमा उपलब्ध हुन लागेको अर्को सुविधा भनेको भर्चुअल पेमेन्ट हो। कसैलाई पैसा पठाउ भन्दा उसलाई आफ्नो पुरा नाम र सम्पूर्ण बैंक खाता विवरण दिनुपर्ने अवस्थालाई हटाएर एउटा नम्बरहरु भएको विवरण हुन्छ। अर्थात बैंक खाताको विवरणको ठाउँमा भर्चुअल नम्बर हुने गर्दछ। यो सुविधाले जुनै व्यक्ति वा सँस्थालाई आफ्नो बैंक खाताको विवरण साट्टो यो भर्चुअल नम्बर दिँदा हुन्छ। यसले भुक्तानी प्रणालीमा सम्बन्धित व्यक्ति वा संस्थाको व्यक्तिगत विवरणको गोपनियता कायम राख्नलाई मद्दत गर्दछ।

(नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेश मान प्रधानसँगको कुराकानीमा आधारित ) 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved