राजा महेन्द्रको त्यो सहयोग, जसकारण आज जावलाखेल ग्रुप र विजय शाह अस्तित्वमा छन्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2022 | 04:43:35 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७५-०७६ मा व्यक्तिगततर्फ सबै भन्दा बढी कर तिर्ने व्यक्ति हुन् विजय कुमार शाह। उनी संलग्न ग्रुपले राज्यलाई १९ अर्ब १५ करोड रुपैयाँ राजश्व वापत बुझाएको थियो। 

संचालनमा आएको करिब ४५ बर्ष पुग्दा यो सँस्थाले अर्ब होइन खरबौं रुपैयाँ नेपाल सरकारलाई राजश्व तिरेको छ भने हजारौंलाई प्रत्यक्ष रोजगारी दिएको छ। 

बढी कर तिर्ने सँस्थाको रुपमा मात्रै नभई नेपालको व्यवसायीक क्षेत्रमा आफ्नो छुट्टै नाम र पहिचान बनाएको सँस्था हो, जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज। र यसका संस्थापक हुन् विजय कुमार शाह। 

तपाईलाई सुन्दा अचम्म लाग्ला, सन १९४८ मा जन्मेका ७४ बर्षिय विजय शाह आजका दिनमा पनि मदिराको क्षेत्रमा थप राम्रो कसरी गर्न सकिन्छ भनेर यसको अध्ययन अनुसन्धानमा लागिरहेका छन्। 

नेपालका अधिकांश ठुला व्यवसायहरु आजपनि कहीं न कहीं घरानाको रुपमा चलिरहँदा विजय शाहले स्थापना गरेको जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज अहिले पूर्ण रुपमा व्यवसायीक रुपमा अगाडी बढिरहेको छ। र यसको बागडोर सबल तथा सफल बैंकर सशीन जोशीले पछिल्लो ३ बर्षदेखि सम्हालिरहेका छन्, ग्रुप एक्ज्युकेटिभ डाइरेक्टरको रुपमा। 

संस्थापक तथा यस ग्रुपका अध्यक्ष विजय शाहले हाल पूर्ण रुपमा यस संस्थाबाट 'रिटायर्डमेन्ट' लिइसकेका छन्। र उनको यो लिगेसी अब व्यवसायिक रुपमा अगाडी बढिरहेको छ। आज जसरी शानका साथ यो कम्पनी र यसका संस्थापक विजय शाहको नाम लिइन्छ, त्यति सहज थिएन यस कम्पनीको स्थापना र यहाँसम्मको यात्रा। 

पुर्खौली पेशा, भट्टीलाई डीस्ट्रीलरीमा रुपान्तर गर्न तथा राजामहाराजाले देश चलाएको बेला निजि लगानीमा सँस्था चलाउने शाहस कमैले गर्थे । गर्ने मध्ये कै कम व्यक्तिहरुमा पर्छन् विजय शाह। 

२२ बर्षे अल्लारे शाह अमेरिकाबाट फर्केर नेपालमा के गर्ने भन्ने सोचिरहेका थिए तर उनलाई आफ्नो पुर्खाले चलाईरहेको भट्टीलाई नयाँ दिशा दिन्छु भन्ने कहिल्यै लागेको थिएन। भनिन्छ नि, सबै कुरा देखेर मात्रै हुदैन, भाग्यमा पनि लेखेको हुनुपर्छ। हो यस्तै भएको थियो विजय शाहको जीवनमा पनि।   

भर्खरै अमेरिकाबाट पढाई सकेर नेपाल फर्किएका विजय शाहलाई उनको बुबाले विकल्प दिए। राजा महाराजाको बेलामा ठेक्का जितेर मदिरा बेच्ने पुर्ख्यौली व्यवसाय 'भट्टी संचालन' लाई निरन्तरता दिने वा अन्य विकल्प रोज्ने विकल्प थियो। शाहसँग पुर्ख्यौली व्यवसायलाई निरन्तरता दिने वा अरु नै काम गर्ने भन्ने विकल्प थियो किनकि उनको बुबाबाट उनलाई यो व्यवसायमा हात नहाल्न सुझाव थियो। तर यति हुँदाहुँदै पनि शाहले पुर्ख्यौली व्यवसायलाई निरन्तरता दिने निर्णयमा पुगे। 

त्यो बेला विजय शाहका बुबाले उनलाई नयाँ व्यवसाय सुचारु गर्नलाई ब्याज तिर्नुपर्ने सर्त सहित २० लाख रुपैया दिएका थिए। त्यहि २० लाखबाट सुरु भएको व्यवसाय आज अरबौंमा पुगेको छ भने त्यो बेला विजय शाह र २० कामदारबाट सुरु भएको व्यवसायमा आज हजारौंले प्रत्यक्ष रोजगारी पाएका छन्।

बुबाबाट पाएको २० लाख रुपैयाँबाट कम भन्दा कम खर्च होस् भन्ने उदेश्यले विजय शाहले जावलाखेल इन्डष्ट्रिजको लोगो आफैं निर्माण गरे भने सुरुमा काम थाल्दा कामदार मार्फत जाने पैसा बचाउन आफैं सरसफाई गर्ने, आफैं पकाउने, आफैं कारखानामा काम गर्ने गर्दथे। हिमालयन डीस्ट्रीलरी संचालनमा ल्याउँदा आफु ९ महिना छाप्रोमा बसेको सुनाउछन्।   

भर्खर अमेरिकाबाट फर्केका २२ वर्षिय विजय शाहले बुबाले दिएको जिम्मेवारी सम्हाल्न तयार त भए तर यहाँको माहोल र अवस्था भने उनले भने जस्तो सहज थिएन। तर नेपालीले गर्न नसक्ने केहि छैन भन्ने आत्मविश्वास बोकेका विजय शाह आफ्नो पुर्खौली अर्थात खान्दानी 'भट्टी व्यवसाय' लाई आधुनिकीकरण गरेर अगाडी लैजाने निर्णयमा पुगे। 

राणा कालदेखि सुरु भएर राजा महेन्द्रको पालासम्म पनि देशभर हजारौं भट्टी संचालनमा थिए। जसले धेरै मुल्य कबोल गर्थ्यो उसैले तोकिएको ठाउँमा तोकिएको समय भट्टी संचालनको अनुमती पाउँथ्यो। र विजय शाहको परिवार पनि यो व्यवसायमा वर्षौंदेखि संलग्न थियो। तर यो व्यवसाय मौसमी र अनिश्चित थियो।

जसले धेरै मुल्य कबोल गर्थ्यो उसैले उक्त ठाउँको भट्टी संचालन गर्ने अनुमती पाउँथ्यो र यो व्यवसाय निश्चित समयको लागि हुन्थ्यो। त्यसैले कहिले कुनले भट्टी संचालन गर्न पाउने भन्ने निश्चित नभएकाले भट्टीको विकसित रुपमा मदिराको विकल्प हुने गरि एउटा निश्चित व्यवसाय गर्नुपर्छ भन्ने सोचमा थिए विजय शाह। त्यस कारण नै उनी डीस्ट्रीलरी संचालन गर्न तयार भए।   

त्यसैले पनि विजय शाह भन्छन्, अहिलेको डीस्ट्रीलरी त्यो बेलाको भट्टीको विकसित र आधुनिक रुप हो।     

पुरानो ढर्रा अर्थात ठेक्का  र मोलमोलाईबाट चलिरहेको भट्टी अर्थात मदिरा व्यवसाय नेपालमा केहि व्यवस्थित हुने क्रममा थियो र शाहले यो क्षेत्रमा कदम चाल्नु पहिल्यै भैरहवामा इंग्ल्याण्डको चर्चित कम्पनी स्नो ल्याण्डको लगानीमा भैरहवा डीस्ट्रीलरी संचालनमा थियो। उक्त डीस्ट्रीलरीले जिन, व्हिस्की र रम उत्पादन गरिरहेको थियो।        

त्यहि भएर पनि शाहले भैरहवा डीस्ट्रीलरीलाई चित्त नदुख्ने गरि सन् १९७० मा 'जावलाखेल डीस्ट्रीलरी' संचालनमा ल्याए। 'जावलाखेल डीस्ट्रीलरी' सम्भवत: नेपाली युवाले नेपाली लगानीमा सुरु गरेको पहिलो डीस्ट्रीलरी हो।       

थोरै लगानीमा व्यवसाय सुरु गरेर भैरहवाको डीस्ट्रीलरीलाई चुनौती दिनलाई बिजय शाहलाई आँट आएन र आउने कुरा पनि भएन। पृथ्वीनारायण शाहले किर्तिपुरमा पहिलो आक्रमणमा पाएको असफलता जस्तै हुने हो कि भन्ने डर शाहको मनमा थियो। त्यसैले उनले 'जावलाखेल डीस्ट्रीलरी' बाट भोड्का को उत्पादनमा धेरै जोड दिए। र मैदानमा एक्ला खेलाडी बने।

अध्ययन र खोजमा चासो राख्ने विशेष स्वभावका विजय शाहले विभिन्न देशमा पुगेर त्यहाँका लाइब्रेरी र अन्य ठाउँ पुगेर यस बिषयमा अध्ययन गर्थे। विभिन्न प्रकारका मदिराबारे उनले धेरै ठाउँमा अध्ययन गरे। 

त्यसैले पनि शाहलाई नजिकबाट चिन्नेहरुले भन्छन्, 'अरु मान्छे घुमफिरमा निस्किदा विभिन्न प्रकारका बस्तुहरु खरिद गरेर घर ल्याउँछन् तर शाहसँग मात्र किताबहरु हुन्छन्, उनी किताबका किरा हुन्।' 

प्रतिस्प्रधालाई स्वीकार्दै शाहले भोड्का संगै जिन, रम र व्हिस्कीको उत्पादन पनि थाले। उनले जिन, रम र व्हिस्कीको मुल्यलाई प्रतिस्पर्धीको भन्दा कम तोके र सबैको ध्यान खिच्न सफल भए। भोड्कामा जोड र अरु उत्पादनमा प्रतिस्पर्धीलाई अल्झाउने उनको व्यवसायिक रणनीति सफल भयो।

'जावलाखेल डीस्ट्रीलरी' संचालनमा ल्याउदै गर्दा अन्य व्यवसायीहरु झैं विजय शाह पनि नेपालका तत्कालिन कर्मचारीतन्त्रको शिकार नभएका भने होइनन्। तर भनिन्छ नि, 'दाने दानेमा लिखा हुवा होता है, खानेवालाका नाम'। हो, विजय शाहको भाग्यमा नेपालको मदिरा व्यवसायीको 'टाईकुन' को उपमा लेखेको थियो, त्यहि भएर पनि उनलाई यसले अघि बढ्न भने रोकेन।  

सम्पूर्ण तयारी सकेर पनि संचालनमा ल्याउने बेला शाहले उद्योग मन्त्रालयबाट 'जावलाखेल डीस्ट्रीलरी' को संचालन अनुमती पाएको 'कागज' हराउन पुगे। सक्कली दर्ता कागज हराएको भन्दै उजुरी दिएपनि उनले संचालनको अनुमति पाउन सकेनन्। सरोकारवाला मन्त्रालय र उद्योग   विभागका कर्मचारीकोमा पुगेर एक पटक होइन, सयौं पटक हात जोडेपनि कसैले पनि उनको काम गरेनन्। यसबाट झन्डै हार खाएर बसेका शाहले एक सार्वजनिक कार्यक्रममा बोल्ने मौका पाए। 

अमेरिकाबाट फर्केर व्यवसायमा हात हालेको सुरुवाती अवस्थामा कानुनी प्रकृया र कानुनी उल्झन नबुझेका विजय शाह भुलबस आफुले हराएको 'ओर्जिनल कपी' को मुल्य चुकाऊँन बाध्य भए। मागेको पैसा बुझाउन नसकेपछि उनलाई सकेसम्मको चाकरी गर्नु पर्यो। पुग्नुपर्ने सबै ठाउँ धाए। तर आँखामा आँसु चुहाउदै विभिन्न निकायमा उनले धाउदै गर्दाको अवस्था देखेर विजय शाहको श्रीमती म्यागी शाहले भाग्यमा नै यस्तै लेखेको रहेछ भन्ने ठानेर यो व्यवसायलाई बन्द गर्न सुझाव समेत दिईन।

यसै क्रममा त्यस ताका 'ह्वाट्स रंग विथ फाईभ एयर प्लान' शिर्षकमा आयोजित एक जना मन्त्री उपस्थित कार्यक्रममा बोल्ने क्रममा  'जावलाखेल डीस्ट्रीलरी' संचालनको अनुमती पाएको कागज हराएकै कारण आफुले यो उद्योग संचालन गर्न नपाएको बारे खुलेर मात्रै होइन, आँशुको धारा बगाएर उनले बोलेको कुरा त्यहाँ उपस्थित व्यक्ति हुदै विरेन्द्र बिर बिक्रम शाह (त्यो बेला उनी राजकुमार थिए) मार्फत राजा महेन्द्रको दरबारमा पुग्यो।

उनले त्यो बेला भनेका थिए, 'फाईभ एयर प्लान मा कहीं कतै पनि केहि गल्ति छैन, गल्ति हामि चोर छौं, फटाहा छौं र विकास चाहदैनौं'  

उनले बोलेको उक्त अडियो टेप राजा विरेन्द्र मार्फत महेन्द्रको दरबारमा पुग्यो र राजा महेन्द्रबाट विजय शाहलाई दरबारमा हाजिर हुन खबर भयो। 'नेपालमा मैले केहि गर्ने इच्छा थियो तर मैले यहाँ काम गर्ने माहोल पाइन, कर्मचारी तन्त्रबाट म आजित भए' भन्दै विजय शाहले ढाका टोपी र अमेरिकाको भिजा भएको आफ्नो नेपालको पासपोर्ट राजा महेन्द्रलाई चढाए। 

राजा महेन्द्रबाट त्यो बेलाका प्रधानमन्त्री कृतिनिधि बिष्टलाई यसबारे अध्ययन गरेर कारबाही अगाडी बढाउँन हुकुम भयो र यो घटना हेर्ने  जिम्मेवारी राजकुमार विरेन्द्रलाई दिइयो। अन्तत, सत्यको जित हुन्छ भने झैं विजय शाहले तत्कालै 'जावलाखेल डीस्ट्रीलरी' संचालनको अनुमती पाए।

यदि त्यो बेला विरेन्द्रबाट महेन्द्र दरबारमा विजय शाहको दुख पुग्थेन भने र विजय शाहले राजा महेन्द्रको साथ पाउथेनन् र  सायद आजको  'जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज' र विजय शाहलाई नेपालले संधैसंधैको लागि गुमाउथ्यो होला। 

आज 'जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज' अन्तर्गत झन्डै दर्जन कम्पनी रहेका छन् र यी कम्पनी मार्फत विभिन्न १८ प्रकारका मदिरा उत्पादन भईरहेका छन्। नेपालको प्रतिष्ठित ब्राण्ड रुस्लान भोड्काको सृजनानै विजय शाहले गरेका हुन्। यो कम्पनी मध्येको 'हिमालयन डीस्ट्रीलरी' नेपाल स्टक एक्सचेन्जमा सुचिकृत छ र सुचिकृत कम्पनीहरुमध्ये प्रतिफल र व्यवसायको हिसाबले उत्कृष्ट मध्येको सँस्था बन्न सफल भएको छ।   

मदिरा व्यवसायमा सफल मानिएका विजय शाहले अरु व्यवसायमा पनि हात नहालेका होइनन्। कपडा, कम्प्युटर सफ्टवेयर, सोयाबिन तेल, पुष्प  कल्चर लगायत दर्जनौ व्यवसायमा हात हालेपनि बिजय शाहलाई मदिरा बाहेक अरु व्यवसाय फापेन। र शाहले पनि मदिराको नयाँ उत्पादनमा अनुसन्धान तथा अध्ययनलाई निरन्तरता दिईरहेका छन् र यहि व्यवसायमा रमाईरहेका छन्। 

त्यसैले पनि होला, बिजय शाह भन्छन, 'अधिकांश समय हामि गल्ति गर्छौं, आफ्नो यथार्थ अस्विकार गरेर, तर गर्नुपर्ने त गल्तिबाट सिकेर अझ आफुलाई निखार्ने हो।'

अहिलेको आवश्यकता अनुसार अपग्रेड गरेर पुर्ख्यौली व्यवसाय अर्थात खान्दानी व्यवसायलाई निरन्तरता दिन सक्नेले अपवाद बाहेक व्यवसायमा सफलता पाउने विजय शाहको भोगाई रहेको छ अहिलेका युवा पुस्ताका लागि पनि यहि सन्देश दिन चाहन्छन् उनी।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved