महासंघमा ठूला व्यवसायीको हस्तक्षेप होईन, सद्भाव छ, सबै पदमा सहमति गरौँः महासचिव दाहाल

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2022 | 12:48:40 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माण व्यवसायीहरुलाई संगठित गर्ने अभियानको अभियान्ताका रुपमा चिनिन्छन् । देशभरका कयौँ जिल्लाहरुमा निर्माण व्यवसायीको संगठन नभएको अवस्थामा काठमाडौँ उपत्यकाबाट महासंघको जग बसाल्ने काम भएको थियो । यो अभियानको एक अभियान्ता हुन्  रोशन दाहाल

दोलखामा जन्मिएका दाहालको कर्मथलो काठमाडौँ बन्यो । आर.डी. एण्ड निर्माण सेवाका प्रवन्ध निर्देशक रहेका उनले निर्माण व्यवसाय भने २०४८ सालबाट सुरु गरेका हुन् । काठमाडौँ उपत्यकाका ३ जिल्लाका निर्माण व्यसायीहरु संगठित भएर बनेको ‘काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघ’को तदर्थ समितिको सचिव बनेपछि दाहाल नेतृत्वदायी भूमीकामा उदाए ।

१ पटक निर्विरोध र २ पटक निर्वाचित गरि उनी उपत्यका निर्माण व्यवसायी संघको ३ पटक अध्यक्ष बने । त्यसपछि सह–कोषाध्यक्षको रुपमा निर्माण व्यवसायी महासंघमा प्रवेश गरे । २ कार्यकाल कोषाध्यक्ष बने र, अहिले बहालवाला महासचिव छन् । संघारमै आएको महासंघको अधिवेशनमा उनी पुनः एक कार्यकाल महासचिवमै दोहोरिन चाहेका छन् । उनले उम्मेदवारी पनि घोषणा गरिसकेका छन् । 

बिजपाटीका निरोजकुमार थापासँग महासचिव दाहालले गरेको कुराकानी उनकै शब्दमा:

‘महासचिवमै दोहोरिन चाहन्छु’

हामीले कोरोनाको तेस्रो लहरका कारण २३औँ साधारणसभा तथा १२औँ अधिवेशन समयमै गर्न सकेनौँ । अनि हाम्रो विधानमा भएको व्यवस्था अनुसार कार्यसमितिको म्याद ६ महिना थप गर्यौ । थपिएको ६ महिना पनि चैत ७ गते सकिँदैछ । त्यसैले अहिले हामी साधारणसभा र अधिवेशनको तीव्र तयारीमा छौँ ।

अब मेरो उम्मेदवारीको कुरा गर्नुहुन्छ भने मलाई देशभरका साथीहरुले एक पटक महासचिवमै बसेर अहिले सुरु गरेका कामहरुलाई अन्तिम टुंगोमा पुर्याउँन भूमीका खेलिदिनुहोस् भन्नु भएको छ । म त उहाँहरुको शुभेच्छाले महासचिव भएको हुँ । अब उहाँहरुको चाहना फेरि एक पटक महासचिवमै बसेर महासंघले अहिले सुरु गरेका कामलाई अन्तिम टुंगोमा पुर्याउन सहयोग गरोस् भन्ने भएपछि मैले महासचिवमै उम्मेदवारी घोषणा गरेको हुँ ।

‘सार्वजनिक खरिद ऐनलाई संसदबाट पास गराउँछौँ’

२४औँ वर्षदेखि हामीले उठाएका मागहरु अहिलेसम्म पनि पूरा हुन सकेका छैनन् । जस्तो एउटा उदाहरण दिउँ, सार्वजनिक खरिद ऐनको । यो ऐन निर्माण व्यवसायमा सबैभन्दा बढी जोडिने ऐन हो । यहीँ ऐनमा जोडिएर हाम्रा सबैजसो काम हुन्छन् । यो ऐन संशोधनको मुद्दा हामीले बारम्बार उठाईरह्यौ । केपी ओली नेतृत्वको सरकारकै पालामा यो विषयमा संसदमा गएको छ । यसलाई टुंगोमा पुर्याउनु छ । यो टुंगोमा पुगेपछि हाम्रा व्यवसायी साथीहरुका धेरै समस्या समाधान हुने हामीले देखेका छौँ ।

अर्कोकुरा भनेको, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनमार्फत पनि महासंघले उठाएका धेरै मागहरु सम्बोधन गरेको छ । तर, दुःखको कुरो, सरकारले मन्त्रिपरिषदबाट पास गरिसकेको भएपनि यो अहिलेसम्म राजपत्रमा आएको छैन । यसलाई कार्यान्वयनमा ल्याईएको छैन । यो विषयमा हामीलाई दुःख लागिरहेको छ । हाम्रो साधारणसभा भन्दा अगाडी नै यसलाई राजपत्रमा प्रकाशित गरिदिन म सरकारसमक्ष अनुरोध पनि गर्दछु । कदम कदाचित ल्याइएन भने, साधारणसभाको हाम्रो हालले अप्रिय निर्णय पनि लिनुपर्ने हुन सक्छ ।

अहिले, एक जना व्यवसायीले जति पनि काम लिए हुने, जत्रा पनि काम लिए हुने, काम गरे पनि हुने, नगरे पनि हुने भन्ने जस्तो जनतामा निर्माण व्यवसायीलाई हेर्ने नजर छ, यसलाई सुधार गरेर जानुपर्ने छ । अहिलेको वर्तमान कार्यसमितिले यसमा केही हदसम्म राम्रो सुरुवात गर्न सकेको छ।

‘महासंघलाई राजनीतिभन्दा बाहिर राखौँ’

देशमा सरकार चलाउने राजनीतिक दलहरुले नै हो, यसमा दुई मत छैन । पेशाकर्मी, व्यवसायीहरु, कर्मचारीहरुले राजनीतिक दलको झोला बोक्नु भएन । झोला बोक्ने भएकै कारण अहिले विकृति देखिएको हो कि भन्ने आम मानिसलाई परेको छ ।

निर्माण व्यवसायीको पेशलाई पनि राजनीतिकभन्दा बाहिर राखेर विशुद्ध पेशाका रुपमा मात्रै हेर्नुपर्छ भन्ने मलाई लाग्छ । निर्माण व्यवसायको क्षेत्रमा केही ऐन नियमहरुलाई समय सापेक्ष बनाउँदै लैजाने हो भने यो आफैँ हुँदै जान्छ । अहिले कानुन, नियम, ऐनहरु व्यवसायी मैत्री बनाउनुपर्ने भएकाले व्यवसायीहरु राजनीतिक दलसँग निकट हुन बाध्य पनि हुनु परेको छ ।

वास्तवमै भन्ने हो भने त, राजनीतिक दलहरुले देखेको देश बनाउने, विकास गर्ने सपना पूरा गर्ने त निर्माण व्यवसायीहरुले नै हो नि । यहाँ बाटो बन्छ, यहाँ पुल बन्छ, यहाँ खानेपानीको धारो बन्छ, टनेल बन्छ भनेर राजनीतिक दलका नेताहरुले देखेको सपना साकार पार्ने त हामी नै हौँ । 

अहिलेको लोकतान्त्रिक युगमा राजनीतिक पार्टीमा आस्था नभएको आवद्ध नभएको मान्छे त छैन होला । सबै जना कुनै न कुनै रुपमा राजनीतिक पार्टीमा जोडिएकै हुन्छन् । तैपनि, निर्माण व्यवसायको क्षेत्रलाई स्वतन्त्र रुपमा एउटा पेशा, उद्योग र व्यवसायको रुपमा अघि बढाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

‘ठूला व्यवसायीको महासंघमा हस्तक्षेप होइन, सद्भाव छ’

एउटा संस्था, संगठनमा ठूला भोलुममा काम गर्ने, सानो भोलुममा काम गर्ने सदस्यहरु हुन्छन् नै । तर, साना सदस्यहरुको बाहुल्यता बढी छ । ठूलो आकार र कारोबारमा काम गर्ने सदस्यहरुको जिल्ला जिल्लामा नेटवर्क हुन्छ, उहाँहरुले यो व्यक्ति चाहिँ आईदिए हुन्थ्यो भन्नु स्वभाविक हो । यसलाई हस्तक्षेप नै भन्न मिल्दैन, यो उहाँहरुको महासंघप्रतिको सद्भाव हो । 

वास्तवमा म ठूलो र सानो भनेर भन्नै चाहन्न । ठूलो आकारमा काम गर्ने र सानो आकारमा काम गर्ने व्यवसायी जुनसुकै क्षेत्रमा हुनुहुन्छ । आफ्नो क्षमताभित्र रहेर काम गर्ने हो । ठूला र साना भनेर मुखै खोलेर नभनिएपनि केही केही विभेदका बाछिट्टा देखिएका छन् । सबैलाई समेटेर लैजानुपर्छ भन्ने पक्षमा म छु । अब आउने नेतृत्व पनि ठूला र साना सबैलाई जोडर लैजान सक्ने खालकै आउँछ भन्ने आशा पनि व्यक्त गर्दछु ।

म पनि ठूला र साना सबैलाई जोडर लैजान सकियोस् भनेरै एकपटक महासचिवमै दोहोरिन खोजिरहेको छु । यो सुखीको व्यवसाय बनाउने अभियानमा हामी छौँ । निर्माण व्यवसायको क्षेत्र अहिले वास्तवमा दुखीको व्यवसाय छ । घर, घडेरी, सम्पत्ति सबै बैंकमा धितो राखेर काम गर्नुपरेको छ । अहिले ३० प्रतिशतभन्दा बढी घट्नुपर्ने बाध्यता छ । यो अवस्थाको अन्त्यका लागि पनि महासंघमा कुशल टिम चाहिएको छ । 

हाम्रा ९० प्रतिशत प्रतिनिधिहरु जिल्लामा हुनुहुन्छ । उहाँहरु साना र ठूला भनेर विभेद नगर्ने नेतृत्व चाहनुहुन्छ । उहाँहरु अहिले कामको अभावमा हुनुहुन्छ । केही साथीहरुलाई काम गरेर फुर्सद छैन । यो प्रकारको असमानता हुनु भएन । कामको समानुपातिक वितरण प्रणाली होस्, काम सबैलो पाउन्, सहज रुपमा काम पाउने वातावरण बनोस्, सहज वातावरणको दर रेट कायम होस् भन्ने जिल्लाका साथीहरुको चाहना छ ।

‘निर्विरोध रुपमा नेतृत्व चयन गरौँ’

साधारणसभा र अधिवेशन नजिकिएको छ । लामो समय काम गर्नु भएका साथीहरु विभिन्न पदमा आकांक्षी हुनुहुन्छ । सकेसम्म सबै पदमा निर्विरोध रुपमा नेतृत्व चयन गरेर जानुपर्छ भन्ने पक्षमा म छु ।

यदि जति नै प्रयास गर्दा पनि सर्वसम्मत हुन सकेन भने लोकतान्त्रि प्रक्रियामै जाँदा पनि निर्माण व्यवसायीहरुको एकतालाई मजबुत बनाएरै जानुपर्छ। 

महासचिव पदको उम्मेदवार भएको हुनाले कम्तीमा यो पदमा चाहिँ म निर्विरोध नै भईदिए हुन्थ्यो भन्ने लाग्छ । मेरो चाहना पनि निर्विरोध नै हुन पाउँ भन्ने नै छ । तर, म प्रतिस्पर्धामार्फत नै आएको व्यक्ति हुनाले प्रतिस्पर्धालाई विश्वास गर्छु । यदि चुनाव नै भएछ भने पनि म नै आउनेमा विश्वस्त छु । 

अध्यक्षका आकांक्षी साथीहरु हुनुहुन्छ, म कसको प्यानलबाट महासचिवमा उठ्छु भन्ने कुरा अहिले नै भन्नु उचित्त हुँदैन । बस्छौँ, छलफल गर्छौँ, टुंगोमा पुग्छौ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved