'नयाँ वर्षसँगै सेयर कारोबार गर्दा यी २६ बुँदालाई मनन गरौ', नीरव पुडासैनीको लेख

नीरव पुडासैनी

नीरव पुडासैनी

Apr 14, 2022 | 12:12:41 PM मा प्रकाशित

laxmi  sunrise bank

वैश्विक महामारीले निम्याउँन सक्ने आर्थिक कहरको संशयका साथ २०७८ को सुरूवात भएको हामी सबैले महशुस गरेका थियौँ । जुन एक वर्ष पछि नयाँ वर्ष २०७९ को पहिलो दिनको पुर्वसन्ध्यासम्म आईपुग्दा पनि यथावत छ । तथापि सेयर बजारका अङ्कहरूले हामीलाई २०७८ सालका प्रत्यक कारोबार अवधि भरी उक्त संशयलाई चिर्न मद्दत गर्यो ।

उक्त आशंकागत संशयको कालो बादल हटिसकेको छैन भन्दा अन्यथा नहोला। त्यहि कालो बादलबीच आर्थिक मन्दीले देशको अर्थतन्त्रलाई थप रुग्ण बनाईरहेको छ।

महामारीले सिर्जित आर्थिक कहर  तथा विदेशी मुद्राले सृजित आर्थिक मन्दीले आगामी  दिनहरुमा कुन रूपमा अगाडि जान्छ र यसले अर्थतन्त्रको ऐना रूपी सेयर बजारमा कस्तो प्रभाव पार्छ भन्ने यकिनका साथ भन्न सक्ने अवस्था अझै छैन।

यद्यपि २०७८  साल भरिका कारोबारको आधारमा नैराश्य हुनु पर्ने स्थिती देखिदैन, तर प्रत्येक पल सजक हुनु अनिवार्य छ । किनभने उक्त वर्ष सेयर बजारमा धेरै खेलहरू खेलिएका थिए र आगामी दिनमा यसको सकारात्मक र नकारात्मक दुवै पक्षको बाछिटा पर्ने निश्चित छ । विभिन्न क्षेत्रहरुमा छरिएर रहेका धन सेयर बजारमा आएको कारण यसको कुनै पनि बेला बहिर्गमन हुने सम्भावना रही रहेको छ । यस पक्षलाई आत्मसाथ गर्दै आगामी दिनमा कारोबार गर्दा आफ्नो कारोबार रणनीति बनाउँन आवश्यक छ ।

 २०७९ को पूर्वसन्ध्यामा सबैमा नयाँ वषैको शुभकामना सहित यस वर्ष सेयर बजारमा अझ धेरै सुझबुझ, धैर्य र जोसकासाथ यहाँहरू सबैले कारोबार तथा लगानी गर्न सक्नुहोस् भन्ने शुभेच्छा सहित पुःन एक पटक नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छु ।

 सजग भएर कारोबार गरौँ, आगलागी झुपडि डेढ घडी भद्रा नहोस्,भद्रा नक्षत्रको दुहाई दिएर खरानी बनाउँने प्रयत्नको शिकार हुनबाट बचौँ । २०७९ सालमा पनि सदा झैँ सेयरबजारमा कारोबार गर्दा निम्न लिखित बुँदाहरूलाई आत्मसाथ गरौँ। 

१. सेयर कारोबार स्थिति आफ्नो लगानी र क्षमता अनुरूप छ, छैन भन्ने कुराको हिसाब राख्ने बानी बसालौँ । नाफा वा घाटाको हिसाब राख्न नहतारिऔँ ।

२. कुन कंम्पनीको सेयर किन्ने, उक्त कम्पनीको हालको अवस्था त्यसको वासलात, सरकारी निर्णयले त्यसलाई पार्न सक्ने असर आदिको अध्ययन गरौँ ।

३. कति कित्ता सेयर कुन कंम्पनीको किन्ने, यस यक्ष प्रश्नको उत्तर आफ्नो जोखिम बहन क्षमताको आँकलन गरेर मात्र सेयर किन्ने बानी बसालौँ ।

४. यदि सेयर ऋणमा वा मार्जिन सुविधा प्रयोग गरेर किन्ने हो भने उक्त सेयर कति समय सम्म आफ्नो स्वामित्वमा राख्ने (होल्ड गर्ने) त्यसको पूर्वानुमान गरेर मात्र किन्नु उपयुक्त्त हुन्छ ।

५. सेयर मूल्यको उत्तार चढाव एउटा नियमित प्रकृया हो, त्यसकारण आफुले किनेको सेयरको मूल्य घटेको छ भने थप जोखिम न्यूनीकरण गर्न आवश्यक परेको अवस्थामा थप रकमको व्यवस्था गर्न सक्नु पर्छ । यस्तो परिस्थितिमा सधैँ तयार रहौँ ।

६. सेयर बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरूले सेयर बजार सम्बन्धी आधारभूत विश्लेषणहरू तथा केही प्राविधिक पक्षहरूको अध्ययन गर्नु पर्छ । आफ्नो लगानीको सुरक्षा अरूले गरिदिदैन, स्वयम् आफैले गर्नु पर्छ ।

७. बजारमा अरूको कुरा सुन्नु पर्छ तर सेयर बेच्ने वा किन्ने निर्णय आफै गर्नु पर्छ ।

८. बेचिसकेको सेयरमा सधैँ पूर्वाग्रही हुने बानी आम लगानीकर्ताहरूको हुन्छ, त्यो अत्यन्त प्रतिउत्पादक बानी हो । यस्तो बानीको त्याग गरौँ । साथै आफूले किनेको सेयरप्रति आवश्यकता भन्दा धेरै आश्वस्त हुन पनि छोड्नु पर्छ ।

९. लगानीकर्ताको रूपमा सेयर बजारमा प्रवेश गर्ने हो वा कारोबारीको रूपमा त्यसको निर्णय सुरूमा नै गरौँ ।

१०. बजारको दिशा कता उन्मुख छ , वा कति अङ्कको वृद्धि हुन्छ भन्ने कुरा गौण हो । आफूले बजारबाट कतिसम्म नोक्सान वहन गर्न तयार रहेको वा कतिसम्म नाफा पर्खने भन्ने कुरा मनन गर्दै आ–आफ्नो क्षमता अनुसार करोबार गर्ने बानी बसालौँ ।

११. सेयर किने पछि आफूले किनेको सेयरको अध्ययन र विश्लेषण गर्ने बानी छोडौँ, त्यस्तो काम किन्नु भन्दा पहिले नै गर्ने गरौँ ।

१२. सेयरको मूल्य माथि जाँदा सेयर बजारमा आम धारणा अब समय गयो ढिला भयो भनेर किन्न वा बेच्न हतारो गर्ने बानी छ । तर यस्तो मनस्थितिको विकास नगरौँ । सेयर किन्ने बेला धेरै पटक आउँछ जसरी बेच्ने बेला आउँछ ।

१३. धेरै लगानीकर्ताहरू सेयर बजारको चक्रलाई नै चुनौति दिने हिसाबले कारोबार गर्ने कोशिस गर्छन् । सेयर बजार चक्र एउटा महत्त्वपूर्ण पेशा भएको कारण लगानी गर्दा यसको ख्याल राख्नु अत्यन्त आवश्यक छ । तसर्थ ठूला कारोबारीहरूको पछि लागेर सेयर बजार चक्रलाई परिवर्तन गर्न लाग्नु लाभदायक हुँदैन ।

१४. सेयर बजारको कारोबारमा विश्लेषणको आधारमा विवेकको प्रयोग गर्नु पर्छ । बजार ज्योतिषशास्त्रको  आधारमा चल्दैन तसर्थ त्यस तर्फ उन्मुख हुनु आवश्यक हँुदैन् ।

१५. व्यक्तिगत अनुभूति वा आधारहीन अनुमानको सेयर बजारमा कुनै अर्थ हुँदैन् । तसर्थ कसैलाई लागेको आधारमा सेयर कारोबार गर्नु मुर्खता हो । छैठौँ इन्द्रियको आधारमा करोबार नगरौँ ।

१६. सेयर बजारमा लगानीगर्दा आवेगलाई ठाउँ दिनु हुँदैन । तसर्थ सेयर किन्ने मूल्यसंगै राफसाफ कतिमा गर्ने भन्ने पनि निश्चय भएर लगानी गर्नु उत्तम हुन्छ ।

  माथिका बुँदाहरूलाई सेयर कारोबारको समयमा सधैँ मनन गरौँ । साथै सेयर कारोबारमा अनुशासीत हुन सहयोग पुर्याउने तलका थप बुँदाहरूलाई सधैँ आत्मसात गरौँ ।

क) हल्लाको आधारमा निर्णय नगरौँ ।

ख) आफ्नो जानकारी र क्षमताको आधारमा कारोबार गरौँ ।

ग) परिगणित जोखिम मात्र लियौँ ।

घ) अनावश्यक र बढी लोभ नगरौँ ।

ङ) धेरै भावनात्मक नहौँ ।

च) विश्लेषण र अध्ययन सधैँ गरौँ ।

छ) घाटा रोक्ने प्रयास गरौँ, राफसाफ मूल्य पहिलौँ तोकौँ ।

ज) आकस्मिक आर्थिक तथा राजनैतिक घटनाको कारण बजार धेरै प्रभावित हुने हुँदा यसबाट जोगीन सधैँ तयार रहौँ ।

झ) सेयर कारोबार सम्बन्धी आफ्नो गुनासो सधैँ सम्वोधन गर्ने बानी गरौँ ।

ञ) धितोपत्र दलालको चयन गर्दा सधैँ आफ्नो अनुकूलताको  आधारमा चयन गरौँ ।

आगामी दिनमा सेयर बजार अनुकुल हुनका लागि केहि समयको धैर्यता आवश्यक पर्छ।  देशका आर्थिक गतिबिधिहरु सहज नहुन्जेलसम्म बजारले धैर्यता खोजिररहन्छ। तसर्थ यसपटक आफ्नो आर्थिक जोखिमलाई आंकलन गर्नलाई ढिलाई नगरौं।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved