अर्थतन्त्र र पुंजीबजार सम्बन्धि लेखकको नाताले, यो सामाजिक (राजनीतिक) लेखको सुरुवात पनि यसैबाट गर्ने अनुमति चाहन्छु। यहाँहरु मध्ये कसैले पनि आफुले सुरुमा किनेको सेयर भनेर संधै त्यहीमात्र कम्पनीको सेयर कारोबार गरेर बस्ने पक्कै गर्नुभएको छैन होला। हो, पक्कै पनि छैन ! पुन: त्यो सेयर किन्नु त हुन्छ तर त्यो अभिमानले होइन, तर आफ्नो सुझबुझले।
यहि उदाहरणलाई हामी आ आफ्नो पालिकामा मतदान गर्दा किन लागू नगर्ने ? किन थर, समुदाय, विरासत, बाजेदेखी चली आएको आदी जस्ता कुराहरुबाट प्रेरित भएर मतदान गर्ने सोचको त्याग नगर्ने? त्यसो हो भने सधै एकै सेयर किन्नु पर्यो। हो, यस्तै सोचको कारण जसरी पनि चुनाव जित्नु पर्छ भन्ने मान्यता बोकेका दल र तिनका उम्मेदवार तथा तिनका सगोलका मतदाताहरुको कारण अहिले पनि जनहरुको हार हुने गर्छ।
उम्मेदवारले जित्ने, तर आम मतदाताले हार्ने, अनि त्यसैलाई लोकतन्त्र (प्रजातन्त्र) को सुन्दर पक्ष भनेर मानिदिनु पर्ने किन ? यस्तै हो भने भोलि जो कोहि चुनाव जित्न चाहन्छ र आज उठाईएको बिषय 'जसरी पनि चुनाव जित्न पर्छ' यो स्थापित हुनेछ। र एउटा भाष्यको निर्माण हुनेछ 'यदि हामीले चुनाव हारे लोकतन्त्र संकटमा पर्नेछ।' लोकतन्त्रलाई संकटग्रस्त हुन् नदिन जसरी पनि चुनाव जित्नुपर्छ । हो त्यहि 'जसरी पनि' भित्र लुकेको छ अहिलेको चुनाव जित्ने सुत्रको क्रुर तस्विर। जसलाई यो देशका ठुला साना सबै खालका हामीले नेता मानिदिनुपर्ने नेताहरुले प्रदर्शन गरिरहेका छन्। आगामी पुस्तालाई सिकाई रहेका छन्। देशलाई क्षणीक कृतिम उज्यालो देखाई रहेका छन्, चिनी मिश्रित कफास भाषण मार्फत ।
बालेनले जित्नुपर्छ। उनले यसकारण पनि जित्नु पर्छ कि ति पतित राजनेताहरुलाई ठुलो झापट महशुस होस् । उनले पाउने हरेक मतले ति नेताहरुलाई झापड हानेको अनुभूति हुनेगरि उनले जित्नुपर्छ। उनले यसकारण पनि जित्नुपर्छ कि भोलि देशभरी, गाउँगाउँमा शहरवस्ति सबैतिर सयौं बालेनहरुको आवाज बुलन्द हुन् पनि उनले जित्नुपर्छ।
हुनत यो भन्दा अगाडी पनि वैकल्पिक र स्वतन्त्र उम्मेदवार नउदायैका होइनन्। तर यिनीहरुको मिलन गलत नेता दल वा झनै पुरातन सोचका जानिफकारसँग हुनु नै दुखद भयो। त्यसकारण उनीहरुप्रति आश्वस्त हुन सकिएन । बालेनको हकमा भोलि के हुन्च्छ थाहा छैन तर हामीले यो जोखिम उठाउनु पर्ने बाध्यता छ। कारण यहाँहरु सबैलाई प्रष्ट छ।
यद्यपि उनका अन्तर्वार्ताहरु मार्फत उनले राखेका तर्कहरुका आधारमा यस्तो नहोला भनेर विश्वस्त हुने धेरै आधारहरु छन्। उनी एक मात्र निर्विकल्प उम्मेदवार हुन्। हुनत हामीसँग न राइट टु रिजेक्ट मार्फत पतित उम्मेदवारलाई रिजेक्ट गर्ने अधिकार नै छ, नत अहिले उनी बाहेक अरु कुनै भरोशायोग्य उम्मेदवार नै। राइट टु रिजेक्टको व्यवस्था भएको भए राजनीतिक दल र तिनका नेताहरुप्रति कति प्रतिशत घृणा उत्पन्न भएको रहेछ त्यसको प्रष्ट तस्विर देखिन्थ्यो। तथापि त्यो छैन, तर यस पटक त्यो नैराश्यता प्रकट गर्न पनि बालेनलाई मौका दिनुको विकल्प छैन। त्यसकारण अहिलेको अवस्थामा उनको विकल्पमा अरु कोहि छैनन् वा भनौ वा उक्त पदको लागि अरु योग्य देखा परेका छैनन् ।
उनको विचारमा प्रष्टता छ। उनले कतै भनेको सुनेको थिएँ ' हामी नेवा: संस्कृतिबाट सिंचित सभ्यतामा छौँ, जहाँ आपसी सद्भाव र विविधताको सम्मान गरिन्छ।' यति गहीरो कुरा बुझेका उनलाई बाहिरी (बाहिर्या) भनेर आक्षेप लगाइन्छ। भित्रिया हुन कति पुस्ताको साइनो हुनुपर्ने हो ? त्यसको मापदण्ड के ?
के सयौं बर्षदेखि बस्दै आएका, काठ क्षेत्रका बासिन्दा (विभिन्न जातजाति) जो मल्लकालदेखि यहीं छन्, तिनीहरु के बाहिर्या हुन् त्। के काठमाडौँको हुनलाई चार किल्ला भित्रको र अमुक थर भएकै हुनै पर्ने हो र ? बाहिर्या बाहेक उनलाई लगाउने अरु आक्षेप छैन, तर उनलाई यो देशको कानुनले अधिकार दिएको छ। यती काफी छ। उनका सा-साना योजनाहरु काफी छन् यस नगरलाई महानगर बनाउन। अमुख थरको दम्भमा देशको राजधानीको मेयर पदलाई टिकाउन खोज्नु मै दलहरुको ठुलो भुल हो। थर होइन, उम्मेदवारको विचार, कार्ययोजना, निष्ठा, इमान्दारिता मतदाताले मतदान गर्नु पर्छ।
(लेखक पुँजीबजार तथा अर्थतन्त्रका जानकार हुन् । यो लेखमा उल्लेख बिषयवस्तु लेखकको नितान्त व्यक्तिगत विचार हो)