शून्यबाट उठेका सागरको सपनाः साथीमार्टलाई १ खर्बको रिटेल चेन बनाउने, प्रिमियममा आईपीओ ल्याउने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 26, 2022 | 02:38:12 PM मा प्रकाशित

laxmi  sunrise bank

१६ वर्षको कलिलो उमेरमा ‘मार्केटिङ’, १८ वर्षको उमेरमा मार्केटिङ छोडेर आफ्नै उद्योग । झट्ट सोच्दा ‘यो साँच्चै सम्भव छ र ?’ वा ‘सम्भव हुन्छ र ?’ भन्ने आशंकाले भरिएका प्रश्नले एकछिन मथिङ्गल रिङ्ग्याउँछ ।

तर, जब सागर पोखरेलको नाम आउँछ, तब यो असम्भव देखिँदैन । किनकी, विद्यालय तहको पढाई सकेर कक्षा ११ मा पढ्दा विभिन्न नयाँ बस्तुको मार्केटिङ गर्न थालेका सागर कक्षा १२ को परीक्षा दिने समयसम्म त उद्योग चलाउने पो भईसकेका थिए ।

सागर पोखरेल उनै हुन्, जो ‘लार्जेस्ट रिटेल चेन’ ‘साथीमार्ट’को संस्थापक÷प्रमुख कार्यकारी अधिकृत छन् । बल्ल ३१ वर्ष पार गरेका सागरसँग मार्केटिङ, उद्योग, रिटेल विजनेश, सहकारी तथा वित्त क्षेत्र र चेन विजनेशको समेत अनुभव छ ।

पृष्ठभूमी

सामान्य किसान परिवारमा २०४६ सालमा धनकुटामा जन्मिएका सागर सानैदेखि तत्काल निर्णय गर्ने क्षमता राख्थे । सामान्य किसान परिवारभित्र सन्तानको सफलता कहाँ र कति सम्म सोचिन्छ र ? त्यहीँ न हो, एसएलसी पास गरोस्, ११÷१२ पढोस्, त्यसपछि जागिरे होस्, ब्याचलर (स्नातकोत्तर) गरोस्, गाउँकै स्कुलमा शिक्षण पेशा गरोस्, स्थायी शिक्षक बनोस् वा सुब्बा÷खरिदार बनोस् । यो नसके विदेश जाओस् ।

सागरको हकमा पनि परिवारको चाहना यस्तै यस्तै थिए । ब्यापार गर्नुपर्छ, उद्योग खोल्नुपर्छ, उत्पादनमा लाग्नुपर्छ भन्ने थिएन । सागरले परिवारको साथमै रहेर कक्षा १० सम्म धनकुटामै अध्ययन गरे ।

तर, १६ वर्षको अल्लारे उमेरमा उनी विराटनगर झरेर मार्केटिङ गर्न थाले । त्यतिबेला कक्षा ११ मा पढ्थे । यो कुरा उनको परिवारलाई मन परेको थिएन । मार्केटिङ गर्ने, व्यवसाय गर्ने भन्ने कुरा परिवारले मन नपराएपछि उनलाई यो कामबाट छुटाउने प्रयास पनि परिवारले गर्यो ।

तैपनि पढाई खर्चको जोहो र व्यसायिक दक्षता आर्जन गर्दै ‘मध्यम वर्गीय परिवारले व्यापार गर्न सक्दैन, उद्योग खोल्न सक्दैन’ भन्ने वैचारिक परिधीलाई चिर्न उनले निरन्तर खटेर काम गरे । कम्पनीले दिने नयाँ नयाँ उत्पादन बोकेर उनी हरेक दिन पसल पसल, घरघरमा पुग्थे । २०६३ साल तिरको कुरा हो, उनले पहिलो तलब र कमिशन जोडेर ६ हजार जति कमाए ।

उक्त कम्पनीमा १ वर्ष मार्केटिङ गरेपछि सागरको बढुवा भयो । त्यसपछि उनले कम्पनी छोड्ने मनस्थिती बनाए । तर, कम्पनीले सेयरमा पार्टनशीपको अफर गर्यो । सागरले स्वीकार गरेनन् । फलस्वरुप, उनी उक्त कम्पनीबाट बाहिरिए ।

‘नयाँ सर्कलमा गएर काम गरौँ भन्ने मनस्थितीमा थिएँ, त्यसैले सेयर पार्टनरशीपसहित बसौँ भन्ने प्रस्ताव स्वीकार गरिँन’ सागरले बिजपाटीसँग भने, ‘सायद म रिक्स लिन मानसिक रुपमा पनि तयार भईसकेको भएर होला ।’

त्यसपछि उनी उक्त कम्पनी छोडेर कहिल्यै नगएको ठाउँ बुटवल गए ।

‘न्यू जर्नी’को सुरुवात

बुटवलमा पुगेर उनले नयाँ ‘टिम’ बनाए । १८ वर्षको भर्खरको युवा उमेरमा उनले ‘ग्लोबल ट्रेड लिंक’ नामक कम्पनी खोले । १५ जनालाई रोजगारी दिए । २ लाख जति लगानीमा खोलेको कम्पनीले पहिलो वर्षबाटै आम्दानी दिन थाल्यो ।

उनी मासिक सबै खर्च कटाएर १ लाख जति कमाउन थाले । कामसँगै अनुभव बटुलिरहेका सागर रातमा मुस्किलले ४ घण्टा सुत्थे । रातको समयमा सोच्दासोच्दै अनेकौँ नयाँ ‘आइडिया’ फुर्थ्यो उनलाई । सफल बनेका अन्तराष्ट्रिय ‘विजनेश म्यान’का जीवनी पढ्थे । त्यस्तै बन्ने सपना देख्थे ।

‘ग्लोबल्ली सक्सेस पर्सनको स्टोरी पढ्ने बानी नै बस्यो, ती सफलताका कथाहरुले मलाई पनि मोटिभेट गरे’ सागर सम्झन्छन्, ‘एप्पलका पूर्वसीइओ स्टिभ जब्स, विश्व चर्चित व्यवसायी ज्याक माको किताब धेरै पढेको छु ।’

राती राती पढ्थे, योजना बनाउँथे, बिहान सबेरै उठेर उनी दाङसम्म सामान लिएर पुग्थे । खटाई अनुसारको प्रतिफल पाउँदै पनि गए । ७/८ महिनामा १० लाख बढी बचत पनि गर्न सफल भए । तर, एकाएक साथीभाईबाट आफैँ उद्योग चलाउने सल्लाह पाए । त्यसपछि हौसिएर लगानी गर्ने मनस्थिती बनाईहाले ।

अनि हण्डर र ठक्करको यात्रा प्रारम्भ

मानिस सफल हुनुका पछाडी उसले विगतमा असफलताको लामो श्रृङ्खला पार गरेको हुन्छ । असफलतामा सफलताको बासना महशुस गर्नेले नै सफलताको गर्विलो सोपान चढ्न सक्छ । फलस्वरुप, उ देश तथा विदेशमा प्रेरणाको स्रोत बन्न पुग्दछ ।

यस्तै भए सागर पनि । विगतमा कयौपटक हण्डर र ठक्कर खाए । त्यसैले त आज उनी समाजका आम युवाहरुको प्रेरणाको स्रोत बनिरहेका छन् ।

२०६५ सालको सुरु तिरको कुरा हो, साथीहरुले अब अरुका उत्पादन बेच्ने नभई आफैँ उत्पादन गरौँ भनेपछि उनी काठमाडौँ आए । काठमाडौँ आएर जग्गा खोजे, मेशिन औजारको प्रवन्ध मिलाउन लागे, बजारको अवस्था थप मजबुत बनाउने योजना बनाउन थाले । काटेश्वरमा जग्गा लिए, २५ हजार भाडा तिर्ने गरी ।

तर, सबै ध्यान यता मात्रै केन्द्रित हुँदा बुटवलको मार्केटिङको काम क्रमशः सुस्ताउँदै गयो । यता ठूलो लगानी फसाएको हुनाले उनले उता ध्यान दिन पनि सकेनन् । अन्ततः ग्लोबल ट्रेड लिंक कम्पनी घाटामा जान सुरु गर्यो । त्यसपछि भौतिक बस्तु लिएर बुटवलको मार्केटिङ कम्पनी सधैँका लागि बन्द गरे ।

‘आफू नभएपछि बजारबाट कति पैसा उठेन’ सागर स्मरण गर्छन्, ‘उता कमाएकोले यता आफैँ उत्पादन गरौँ भन्ने थियो, तर उताको उतै डुब्यो, जीरोबाट माइनसमै पुगियो । यो हुनुमा म आफैँलाई चाहिँ मसँग त्यतिबेला म्याच्युडनेश कम रहेछ भन्ने लाग्छ । अलिअलि इगोले पनि काम गर्यो होला त्यतिबेला, भर्खरको केटो न थिएँ ।’

त्यसपछि काठमाडौँमा सुरु गर्न ठिक्क परेको उद्योगलाई अन्तिम रुप दिएर चलाउने पैसा पनि भएन । अनि, डिलर्सहरुसँग अग्रिम पैसा लिएर उद्योग सुरु गरे, ‘नेशनल ड्रग्स इन्डस्ट्री’ । साबुन, स्याम्पो, लोशन लगायतका ‘बाथ एण्ड ब्यूटी केयर’का सामानहरु उत्पादन सुरु गरे ।

‘धेरै ठाउँमा मिटिङमा जानुपर्थ्यो, कतिपय ठाउँमा त चिन्दैनथे, म फलानो कम्पनीबाट आएको हुँ भन्दा कतिले त पत्याउँदैनथे’ घुटुक्क एक घुट्को पानी पिउँदै सागर थप्छन्, ‘त्यसैले म गर्मीमा पनि कोट छुटाउँदैनथेँ, म्याच्युअड देखियोस् भनेर’ उनी मुस्कुराउँछन् ।

सामानहरु सबैतिर रुचाईन थाले । आम्दानी पनि बढ्न थाल्यो ।

तर, उनी पुनः फेरि ‘जीरो’ मा झरे । किनकी, उनी नयाँ केही गरिहालौ भन्ने निर्णयमा चाँडै पुग्थे । नयाँ थाल्दा पूरानो भत्किँदै गयो ।

‘म सँग छोटो अवधिमा अनुभव भएपनि म्याच्युरीटी पुगेनछ भन्ने लाग्छ’ सागर भन्छन्, ‘अलिअलि घमण्ड पनि पलायो, पैसा थियो, सर्कल थियो । त्यतिबेलाका डिलर्सहरु अहिले हरेक करोडपति छन्, तर म फेरि जीरोमा झरेँ, यतिसम्म कि कमाएको सिध्याएर पनि ५० लाख माथि माइनसमा गएँ, डिलर्स जीरो, मार्केटिङ जीरो र कम्पनी पनि जीरो भयो ।’

त्यसपछि फेरि सागर मार्केटिङमा फर्किए । आफ्नो अनुभव, आफूमा आएको निखारताले उनलाई अब ‘पार्टनरशीप’ गर्नुपर्छ भन्ने सिकायो । उनले जीवनमा पहिलोपटक विजनेशमा पार्टनरशीप गरे । र, जन्मियो, ‘नेशन इन्नोभेटिभ कम्पनी’ ।

हण्डर र ठक्कर खाएर मार्केटिङमा फर्किएका सागरलाई मार्केटिङले फेरि उत्पादनमा फर्कायो । त्यसपछि उत्पादनहरु रसिया, चीन, जापान लगायतका देशमा निर्यात गर्न पनि थाले । प्राप्त प्रतिक्रियाले प्रफुल्ल थिए उनी ।

त्यससँगै उनी सहकारी पनि आवद्ध भए । सहकारीलाई बढाउँदै बैंक बनाउने सपना देख्न थाले । तर, त्यो पूरा नहुने भएपछि अबको केही वर्षमा वाणिज्य बैंकको ठूलो हिस्सा सेयर खरिद गर्ने मनस्थितीमा पुगेका छन् ।

फेरि जीरोमा झर्न कुनै डर छैन

अनुभव, दौडधूप, हण्डर र ठक्करबाट परिपक्व बनेका सागर पोखरेल यतिमै सिमित रहेनन् । सन् २०१८ मा सफल साथी नामक कम्पनी बनाए । अनलाइनमार्फत सामानहरु बेच्न थाले । साना साना स्टोरहरु खोले ।

‘हामीले स–साना स्टोरहरु खोल्यौँ, स्टोर टू अफिस पनि होस्, स्टोर टू होम पनि होस् भन्ने चाहना थियो’ सागर भन्छन्, ‘हामीले रिटेल इको सिस्टम आवश्यक छ भनेर यो सुरु गरेका हौँ । यसले राज्यलाई योगदान दिन्छ, युवालाई यहीँ केही गर्न प्रेरणा मिल्छ ।’

काम गर्दै जाँदा २०२० मा साथी इन्कर्पोरेट कम्पनी प्रा.ली.को उदय भयो ।

‘यो मेरो नवौँ भेन्चर हो’ सागर भन्छन् ।

रिटेलको चेन, गाउँ गाउँमा मार्ट कल्चर, आफ्नै हातले समातेर, त्यहाँ लेखिएका कुराहरु पढेर सामान किन्नुपर्छ भन्ने बानीको विकासका लागि साथी इन्कर्पोरेट कम्पनीको जन्म भएको हो । तर, साथी मार्टका लागि १० स्थानमा स्टोर खोल्न ठाउँसमेत भाडामा लिएपछि मुलुकमा लकडाउन भयो ।

लकडाउन खुलेपछि भटाभट स्टोर खोल्न थाले । १८ महिनामा १०९ वटा स्टोर खुले । हरेक ५ दिनमा एउटा स्टोर खुल्दै आएका छन् । बैंकिङ प्रणालीमा तरलता अभाव नभएको भए २०७९ बैशाखभित्रमा साथी मार्टका ३ सय आउटलेट खुलिसकेका हुन्थे । अबको केही वर्षमै देशभर १ हजार आउटलेट पुर्याउने उनको महत्वकांक्षी लक्ष्य छ ।

‘३ सय वटा आउटलेट पुगेपछि बल्ल हाम्रो पहिलो दिन सुरु हुन्छ भन्ने लक्ष्यका साथ काम गरिरहेका छौँ, १ हजार आउटलेट खोल्छौँ’ सागर भन्छन्, ‘यो मेरो १४/१५ वर्षको अनुभवको कम्बाईन भेन्चर हो साथी मार्ट । प्रोडक्ट, मार्केटिङ, रिटेल, निर्यात सबै एकै ठाउँमा । गाउँ गाउँमा मार्ट पुर्याएका छौँ । लमजुङ होस् कि सुर्खेत, जिरी होस् की रुकुम, हामी देशैभर पुग्दैछौँ ।’

आध्यात्मिक चिन्तन भएका सागर हरेक दिन आधा घण्टा ‘मेडिटेशन’ गर्छन् । उनलाई आध्यात्मिक चिन्तनले सम्पत्ति, पैसा भन्ने कुरा केही होइन भन्ने बोध भएको छ ।

‘मैले पैसा कमाउन सक्दो रहेछु, कमाएको सिध्याउन पनि सक्दो रहेछु भनेपछि पैसा, सम्पत्ति के नै रहेछ र ?’ सागर प्रश्न गर्दै भन्छन्, ‘म त जीरोबाट सुरु गरेर पटक पटक सयमा पुगेर फेरि जीरोमा झरेर  आएको छु, मलाई अब पनि जीरोमा जानुपर्छ भने त्यसमा पनि कुनै डर छैन । च्यालेन्जेज जर्नीमा मज्जा लिँदा नै आनन्द आउँछ । त्यसैले अहिले मैले मेरो व्यक्तिगत जीवनका लागि होइन, नेपालको उत्पादन बढाउन, नेपाली जनशक्तिलाई स्वदेशमै उत्पादन र रोजगारीसँग जोड्न खोजिरहेको हुँ । पैसा भनेको सक्सेस बाई प्रोडक्ट हो ।’

१ खर्बको कम्पनी बनाउने लक्ष्य

सागर पोखरेल नेपाललाई चाहिएको ‘उत्पादन, बजार र निर्यात’ हो भन्छन् । आयातित बस्तुको बिक्रिले ‘इकोनोमिक साइज’ बढाएपनि त्यसले महँगी मात्रै थोपर्ने उनको अध्ययन छ । त्यसैले उत्पादन, उत्पादनको बजार र उत्पादनको विश्व बजारमा निर्यात अहिलेको नेपालको आवश्यकता रहेको उनको भनाई छ ।

यसैलाई टेवा दिन साथी मार्टमा अहिले ‘इन हाउस’ १३० जना कार्यरत छन् । देशैभरी गरेर ९ सय जनाले रोजगारी पाएका छन् । कम्पनी चालु आर्थिक वर्षबाट नाफामा जाँदैछ ।

‘मस्ट इन्सपाएरिङ, इन्नोभेटिभ एण्ड इन्टरप्रेनर अफ दि वर्ल्ड’ बन्नुपर्छ भन्ने लागेको छ सागरलाई । उनले देखेको यो सपना र लक्ष्यलाई पछ्याउँदै आजसम्म आर्जन गरेको सफलतालाई परिवारले ‘गर्व’ गर्न लागेको छ ।

२०७७ भदौमा बौद्धमा पहिलो आउटलेट खोलेर सुरु भएको साथी मार्ट ३ करोडबाट सुरु भएको थियो । आजसम्म आईपुग्दा २६ करोड नाघेको छ ।

भर्खरै ३१ वर्ष पार गरेका सागर आफ्नो उमेर ४० वर्ष पुग्दासम्म कम्पनीलाई बिलियन डलरको रिटेल चेन बनाउने सपना बुनेर काम गरिरहेका छन् । फुड चेन, मेडिशिन चेन लगायतका नयाँ नयाँ काम पनि सुरु हुने चरणमा छन् ।

‘अहिले पनि हामी सकेण्ड लार्जेस्ट इकमर्श हौँ’ कुराकानीलाई बिट मार्दै सागरले भने, ‘३ करोडबाट सुरु भएको कम्पनी अहिले २६ करोडको भएको छ, म ४० वर्ष हुँदा कम्पनीको पूँजी १ खर्ब पुर्याउने लक्ष्य छ, ३ वर्ष लगातार नाफा गरेर आईपीओमा जाने पनि सोचेका छौँ, आईपीओमा जाँदा प्रिमियममा जाने हो । यो प्रक्रिया ३ वर्षपछि सुरु गर्छौँ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved