
अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा
प्रवेश गराएर राजश्वका दरहरू फेरबदल गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले
अन्ततः राजीनामा दिएका छन् । जेठ १५ गते बजेट वक्तव्य आउनु अघिल्लो दिन मन्त्रालयमा
निश्चित उद्योगी र व्यवसायीका एजेन्ट छिराएर करको दर हेरफेर गरेको आरोप पुष्टि
हुने गरी त्यसदिनको सीसीटीभी फूटेजसमेत डिलेट भएको भन्दै अर्थमन्त्रालयको वक्तव्य
जारी गरेपछि थप अप्ठेरोमा परेका शर्मामाथि राज्यद्रोहको मुद्दामा छानबिन र कारवाही
गर्नुपर्ने माग सर्वत्र उठेको थियो ।
उनीविरुद्ध छानबिन गर्न प्रतिनिधि सभाले ११ सदस्यीय संसदीय छानबिन समितिसमेत
गठन गरेको छ । आज सभामुख अग्निप्रसाद सापकोटाले
११ सदस्यीय विशेष समिति गठन गर्दै बजेटमा करका दर हेरफेर
गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा
पेश गर्नुपर्ने कार्यादेश
दिएका छन् ।
शर्मामाथि
राज्यद्रोहको आरोपमा छानबिन गर्नुपर्ने भन्दै संविधानविद तथा वरिष्ठ अधिवक्ताहरूलेसमेत
बिजपाटीमार्फत आफ्नो आवाज उठाएका थिए । चौतर्फी दबाब झेल्न नसकेर शर्माले राजीनामा
दिएका हुन् । ढिलै भएपनि राजीनामा त आयो तर शर्माले बजेटमार्फत निश्चित उद्योगी र
व्यापारीको पक्षपोषण गर्दै अन्य उद्योगीलाई देशभित्र उद्योग चलाउन गाह्रो पार्ने
जुन हर्कत गरे, त्यसको क्षतिपूर्ति राजीनामाले मात्र पूरा हुन नसक्ने निश्चित छ ।
शर्माले पक्कै
पनि नैतिकता देखाएर राजीनामा गरेका होइनन् । आफूले गरेको राज्यद्रोह र आर्थिक
अपराध लुक्नै नसक्ने भएपछि बाध्य भएर उनले सिंहदरबार छोड्नुपरेको हो । उनले
सिंहदरबार छोड्ने निर्णय लिएकै आधारमा आर्थिक अपराध जस्तो संवेदनशील विषयलाई
यत्तिकै छोड्नु हुँदैन ।
गत साल
अर्थमन्त्री बनेपछि उनले प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरन आयातमा लाग्ने
शुल्कमा छुट दिएर आफूनिकट व्यवसायीक घरानालाई अर्बौं पोस्ने नीति लिए, त्यतिबेलै
देखि उनी पारदर्शी छैनन् र पैसाका लागि जे पनि गर्न तयार हुने मन्त्री रहेछन्
भन्ने आम जनतामाथि छाप गरेको थियो । आगामी आर्थिक बजेटमार्फत त्यसलाई सच्याउलान्
भनेर गरिएको आश थप बेकार बनेको थियो । यसविषयमा सार्वभौम संसदको उद्योग समितिले
प्रतिस्थापन विधेयकअघिकै प्रावधान ल्याउन निर्देशनसमेत दिएको थियो तर शर्माले त्यसलाई
नकार्दै आइरहेका थिए ।
पछिल्लो समय
अर्थसचिव मधुकुमार मरासिनीले समेत शर्मालाई साथ दिएनन् । शर्मा मन्त्रालय रहुन्जेल
विदामा बस्ने निर्णय गरेर मरासिनी मन्त्रालयमा हाजिर हुन नआएपछि शर्मालाई थप नैतिक
संकट परेको थियो । मन्त्रालयमा अनाधिकृत व्यक्तिको पहुँच त्यससम्बन्धी सीसीटीभी
फूटेज डिलेट गरेर प्रमाण नै नष्ट गराउने कुकर्ममा सामेल शर्मा र उनका मतियारहरूलाई
तत्काल छानबिनको दायरामा ल्याएर सम्बन्धित निकायले यथार्थ छानबिन गर्न तत्काल
आवश्यक छ ।
यसअघि पनि यस्ता
घटनाहरू नेपालको राजनीतिक इतिहासमा नघटेका होइनन् । तर अधिकांश घटनामा संसदीय
समितिलाई 'कर्मकाण्डी' समितिका रूपमा मात्र लिइयो । संसद सार्वभौम निकाय भएकाले संसदीय
छानबिन समितिमा प्रश्न उठाउनु हुँदैन तर आर्थिक अपराधको पाटोलाई छानबिन गर्न अन्य
निकायहरूलाईसमेत यतिबेला सक्रिय बनाउन जरुरी छ ।
शर्माका कारण
देशभरिका उद्योगी व्यवसायीले भोग्नुपरेको नोक्सानीको हिसाबकिताब तत्काल हुन जरुरी
छ भने समग्रमा देशको अर्थतन्त्रमा परेको नकारात्मक असरको पनि फेहरिस्त बाहिर आउन
जरुरी छ । छानबिन प्रक्रियामा शर्मा साँच्चिकै दोषी देखिए भने कुनै पनि हालतमा
राजनीतिक पहुँचका आधारमा उनलाई उन्मुक्ति दिनुहुँदैन ।
आफूमाथिको आरोपलाई
कहीं कतैबाट गलत सावित गर्न नसकेपछि ढिलै भएपनि शर्माबाट आएको राजीनामालाई
सकारात्मक रूपमा लिनुपर्छ । छानबिन शर्मामाथि मात्र होइन, उनलाई आर्थिक अपराध र
राज्यद्रोह गर्न सघाउने अन्य राजनीतिक नेतृत्व, सरकारी कर्मचारी र स्वार्थि उद्योगी व्यवसायीमाथि पनि गर्नुपर्छ । यसका लागि संसदीय समिति मात्र होइन, अख्तियार, राजश्व
अनुसन्धान विभाग जस्ता सबै निकायलाई सक्रिय बनाएर अघि बढ्नुपर्छ ।
बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ः
- अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा
- फुटेज प्रकरण सेलाउन नपाउँदै शर्मालाई अर्को आपत: बाहिरियो साहिलसँगको अर्को कनेक्सन
- - अर्थमन्त्रीले नभई बिचौलिया ब्यापारी दिपक भट्टले लेखेका थिए बजेट
- राज्यमन्त्री उमेश श्रेष्ठको घरमा अर्थमन्त्रीसहित प्रधानमन्त्रीका छोराको ‘ककटेल पार्टी’
-अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार
-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई
-दोस्रो बजेटमा पनि कर छुटको नाममा अर्थमन्त्रीको ब्रह्मलुटस् दुई व्यापारीलाई २ अर्ब छुट
- मोबाइल अफ गरेर अनिश्चित समयका लागि बिदामा बसे अर्थसचिव
- अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई
- जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’
- साहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटे
- अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा
- अर्थमन्त्री शर्माले स्वास्थ्य र सुरक्षाको लागि घातक प्रविधि छोड्न मानेनन्, कसको छ स्वार्थ ?
- जगदम्बाको गुणस्तरहीन डण्डी फिर्ता, बनिसकेका घरको जिम्मा कसले लिने ?
- गुणस्तरहीन डण्डी उत्पादन गरेको विशाल ग्रुप स्पष्टिकरण बुझाएर पन्छिँदै