आज आर्थिक वर्षको समाप्ति बुढो घरमा ढिला आउँछ खाना बाहिरै खाएर आउँछ भन्ने त तिमिलाई थाहा नै छ । भोलि बिहानै बुढोको मोबाइलमा बोनसको घण्टी बज्ला, अनि मलाई सपिङ गर्न लैजाला भन्ने आशा गरेर बसेकी हौला मेरी प्रिय । तिमीले आशा गर्नु त स्वभाविक नै हो तर यो पालि बोनस आशा नगर प्रिय ।
बजारमा तरलताको हाकाहार छ । कर्जाको साँवा तथा व्याज असुल उपर हुने छाँटकाँट नै छैन । यस पालि कर्जा नोक्सानी व्यवस्थाबापत ठुलो रकम छुट्टाउनु पर्ने बाध्यता छ । बैंकको नै विजोग अवस्थामा मलाई बोनस दिन सक्ने सामाथ्र्य बैंकसँग छैन । त्यसैले बोनस नआउनेमा म ढुक्क छु । त्यसैले तिमिले पनि बोनस आश नगर प्रिय ।
देशमा बेरोजगारी बढीरहेको छ । देशको बजेट घाटा उच्च छ । विभिन्न संस्थाले कर्मचारी कटौती गरिरहेको सन्दर्भमा हामीलाई त बैंकले समयमा नै तलब भत्ता दिएको छ । दिन सक्ने सुविधा दिएकै छ । साउन १ गते देखि लागु हुने गरी थोर बहुत तलब बढाएकै छ । त्यसैमा नै खुसी हुनु पर्छ प्रिय ।
आर्थिक वर्ष सकिएपछि बोनसको आशा गर्नु ठिकै हो तर देशको अर्थतन्त्र अनि बजारमा देखिएको तरलता संकुचनले गर्दा कर्जा ग्राहकको भयावह अवस्था छ । यस्तो अवस्थामा एकले अर्कोलाई बचाउन सहयोग गर्नुपर्छ । बैंक वित्तीय संस्था र कर्जा ग्राहक एक अर्काका परिपूरक हुन । एकलाई समस्या पर्दा अर्कालाई अवस्य पनि समस्या पर्छ । बैंकलाई समस्या पर्नु भनेको हामीलाई समस्या पर्नु हो प्रिय । त्यसैले यो पालि बोनसको आशा नगर ।
अघिल्लो बर्ष आकर्षक बोनस दिएकै थियो । अर्को वर्ष पनि राम्रो नै दिन्छ भन्ने आशा गरौैं । निजामति सेवामा अधिकृत स्तरको तलब ४० हजार हुँदा पनि बैंकले त एक लाखको हाराहारीमा दिएकै छ । सक्ने ठाँउमा त बैंकले गरेकै छ नि ।
बैंकको जागिर अरुले हेर्दा टाई सुट लगाएको चिटिक्क परेर हिडेको, गाडी चढेकोमा डाहा गर्छन् । तर हाम्रो पिडा अरुलाई के थाहा । बैंकमा कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा अधिक भयो निक्षेप छिटो खोज भनेर एउटा विभाग भन्छ, कर्जाको साँवा असुल भएन, छिटो असुल गर भनेर अर्को विभाग भन्छ, खातापात सब चेक गरेर छिटो रिर्पोट पठा अर्को विभाग भन्छ । केही आशा अनि भरोसा लिएर ग्राहककोमा जान्छु । उनीहरुको समस्या सुनेर मन भारी हुन्छ । अनि आशालाई निरासामा परिणत गरेर न्याउरो अनुहार लगाउँदै अफिस फर्किन्छु ।
सक्दो मिहेनत गरेकै छु । कामप्रति लगाव देखाएकै छु । तर पनि केन्द्रिय कार्यालयबाट कहिले प्रोमोसन रोकिदिन्छु, कहिले सरुवा गरिदिन्छु भन्ने अभिप्रायका सूचना आउन कमी भएको छैन । बढुवाको सर्कुलर आउँदा, आफ्नो नाम पो आयो कि भनेर उत्साहित हुन्छु । दुई तिनपटक हेर्छु । नाम भेट्दिन मन खिन्न हुन्छ । सरुवाको सर्कुलर आउँदा, आफ्नो नाम पो छ कि भनेर हेर्छु, नाम नदेख्दा खुसी लाग्छ । यो पालि त बालवाल बाँचियो भनेर मन प्रफुल्ल हुन्छ ।
यस्तो विषम अवस्थामा देशनै समस्यामा रहेको बेलामा हाम्रो घरको चुलो नियमित रुपमा बलिरहेकोमा खुसी हुनु पर्छ प्रिय । संस्थाप्रति गुनासो गर्नु हुन्न । आज संस्था भएरै हाम्रो जीवीकोपार्जन भएको छ । त्यसमा हार्षित बनौं । यो पालि बोनसको आशा नगरौ प्रिय ।
उर्जाशील दिपक
लेखक पेशाले बैंकर हुन ।