
‘हरेक खबरमा आर्थिक कोण’लाई आफ्नो मन्त्र बनाएर अघि बढेको बिजपाटीले सातौ वर्ष पूरा गरी आठौ वर्षमा प्रवेश गरेको छ । जिम्मेवार पत्रकारिताका आधारभूत मान्यतालाई आजसम्म सँगै लिएर हिँडेको बिजपाटीको यो यात्राको प्रत्येक खुड्किलोमा साथ दिनुहुने देश तथा विदेशमा रहनुभएका आम पाठकप्रति शीर झुकाउन चाहन्छौं ।
आजको मितिसम्म आइपुग्दा बिजपाटीसँग पाठकवर्गको ठूलो साथ रहेको छ भने सोही अनुसारको दायित्व, जिम्मेवारी र कार्यभार हामीसामू बढेको छ ।
संविधान र कानूनले निर्दिष्ट गरेको र पत्रकारिताको आचारसंहिताले निर्देशन गरेको हाम्रो पत्रकारिता यात्रालाई अघि बढाउने क्रममा थप जिम्मेवार र जवाफदेही बन्नुपर्ने हामीलाई महसुस भएको छ ।
आर्थिक पत्रकारिता विशेष गरेर अर्थतन्त्रसँग सम्बन्धित रहेर देश र समाजका विविध पाटाहरूलाई आर्थिक सरोकारसँगै आम पाठकलाई जोड्ने कडी हो । यसमा बैंक, वित्तीय संस्था, इन्स्योरेन्स, पूँजीबजार मात्र नभएर हामीले अन्य धेरै क्षेत्रलाई पनि समेट्दै अघि बढ्न खोजेका छौं ।
हामीले लेखेकै समाचारका कारण कतिपय नीतिगत परिवर्तन भएको छ । त्यसैले हामी मिडिया उद्योगमा चलिरहेको एक आर्थिक अनलाइन मात्र होइनौं, परिवर्तनको संवाहक हुने योग्यता राख्ने संस्था हौँ भन्ने पुष्टि भएको छ ।
मिडियाको भीडमा हामी एउटा छुट्टै पहिचान बोकेर उभिएका छौं । स्थापनाको ६ वर्षमा हामी आर्थिक मिडियाको शीर्षस्थानको वरियतामा आउन सफल भएका छौं । यसको श्रेय पाठक, शुभेच्छुक, विज्ञापनदाता र सूचनादाता नै हुन् भन्नेमा हामीलाई द्विविधा छैन ।
आदरणीय पाठकवर्ग,
एजेण्डा सेटिङमार्फत कुनै निश्चित व्यापारिक समूहको पक्षमा वकालत गर्ने आजको मिडियाको चरित्रलाई बोकेर हिंड्ने बाटो हामीले स्थापनाकालदेखि नै अपनाएका छैनौं ।
नेपालमा संचालित आर्थिक मिडियाहरू कुनै न कुनै व्यापारिक स्वार्थ समूहको रिमोटमा चल्छ भन्ने जुन भाष्य अहिले स्थापित भएको छ, त्यो भाष्य पुष्टि गर्नेहरूलाई हामीले हाम्रो प्रतिस्पर्धीको तहमा समेत राखेका छैनौं ।
हामी हाम्रै ‘ले म्यान’हरू मिलेर बनेको टीमको बलमा चलिरहेका छौं । हामीलाई प्रभावित पार्ने कोशिस नभएको होइन, तर आम पाठकलाई सत्य र तथ्यका आधारमा जिम्मेवार पत्रकारितामार्फत सूचना प्रवाह गर्न हामीलाई कसैले रोक्न सक्दैन भन्ने हाम्रो दाबी रहेको हो । हामीले पस्कने समाचारहरूमा अरू कसैले होइन, हामीले नै राखेको ‘नुन’अनुसारको स्वाद तपाईंहरूले पाउनुहुनेछ ।
छैठौं वर्ष पूरा गरेर सातौँ वर्षमा लागिरहँदा हामी थप सल्लाह, सुझावको आवश्यकता छ । हामीले नियतवश गल्ती गरेकै छैनौं, तर भुलवश भएका गल्तीहरू तत्काल सच्याउने प्रण हामीले स्थापनाको शुरूदेखि नै गरिरहेका छौं । त्यसलाई अझ बढी निखार्नुपर्ने छ ।
नेपालको आर्थिक पत्रकारितामा खोजमूलक सामग्री हराउँदै गएको स्थितिप्रति हामी सचेत छौं । खोजमूलक समाचारलाई पाठकसामू राख्ने हाम्रो प्रतिबद्धता जारी छ, हाम्रा समाचार सामग्रीहरू पढेर हाम्रो प्रतिबद्धताको गुरुत्व पाठकहरूले महसुस गर्नुभएकै छ भन्ने हामीलाई लागेको छ ।
हरेक विषयलाई आर्थिक सरोकारसँग जोड्ने बिजपाटीको यो यात्रामा साथ दिनुहुने सम्पूर्णलाई हामीले यो अवसरमा धेरै धन्यवाद दिन चाहन्छौं । तपाईंहरूले हामीलाई दिने साथ र हौसला थप बढ्दै जाने अपेक्षा पनि हामीले गरेका छौं । धन्यवाद ।
मोहम्मद अज्मत अली, अध्यक्ष/सम्पादक