अढाई करोडको लागि हत्या घटना : रिलायन्स लाइफका सीइओदेखि विमा समिति पनि तानिने खतरा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2022 | 11:35:52 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा रकम हत्याउन बाँके कोहलपुरमा एक जना बीमित युवकको हत्या भएको घटनालाई लिएर बीमा क्षेत्र तरंगित बनेको छ । दुई करोड पचास लाख बराबरको बीमा रकमको लागि एउटा गिरोहले एक २१ वर्षीय युवकको सुनियोजित हत्या गरेको घटनाले बीमा क्षेत्रमा लामो समयदेखि काम गरिरहेकालाई तर्साएको छ । 

केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरिरहेको यो घटनामा अहिले बीमा समितिसमेत तानिएको छ। बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्सलाई घटनाबारे विस्तृत विवरण बुझाउन दिएको २४ घन्टे अल्टिमेटमपछि रिलायन्सले 'पोलिसी डकेट' बुझाएको छ । बीमा समितिले उक्त 'पोलिसी डकेट' मा अध्ययन गरेर आवश्यक कारबाही बढाउने समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । 

तर यो घटनाले बीमा क्षेत्र धेरै तरंगित र त्रसित हुनुपर्ने अवस्था आएको लामो समयदेखि बीमा क्षेत्रमा काम गर्दै आएका एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बताउँछन् । 

उनले यो घटनालाई 'बुढी मरी भन्दा पनि काल पल्क्यो' भन्ने उक्तिलाई पुष्टि गरेको बताए । 'जसरी बीमा गरिएको छ र जुन प्रकारले दाबी गरी त्यसको भुक्तानी भएको छ, यसले धेरै प्रश्नहरु खडा गरेको छ,' ती सीईओले भने, 'यो घटनामा को-को कसरी संलग्न छन् भन्ने जति महत्त्वपूर्ण छ, त्यो भन्दा पनि बढी महत्त्वपूर्ण यस घटनाको प्रमुख कारण के हो भन्ने छ ।' 

२ करोड ५० लाख को जीवन बीमा आफैंमा सानो रकम होइन । यत्तिको ठूलो रकमको बीमाको स्वीकृति प्रक्रिया बीमा अभिकर्ता र शाखा प्रमुखसम्म मात्र सीमित रहँदैन । यत्तिका ठूलो रकम बराबरको बीमालेख स्वीकृतिका लागि संस्थाका सीईओ, डेपुटी सीईओ, अन्डरराइटिङ हेड लगायतको स्वीकृति आवश्यक पर्दछ । 

यस घटनामा समातिएका ६ जनाले कानुनअनुसारको सजाय पाउनेनै छन् । तर सामान्य ज्याला मजदुरी गर्ने व्यक्ति, जसको वार्षिक आय दुई लाख पनि पुग्दैन, त्यस्तो व्यक्तिको १ करोड २० लाखको सावधिक र ७० लाखको म्यादी गरी १ करोड ९० लाखको जीवन बीमा प्रस्ताव रिलायन्स लाइफले स्वीकार कसरी गर्यो भन्ने प्रश्नको उत्तर आवश्यक छ।  

केन्द्रीय अनुसन्धान ब्युरोको अहिलेसम्मका अध्ययनबाट बाहिर आएका जानकारीलाई मात्र आधार मान्दा पनि यो जीवन बीमा सहजै भएको देखिएकाले यसमा सम्बन्धित कम्पनीले मात्र नभई नियामक बीमा समितिले समेत आँखा चिम्लिएको आशंका गर्ने ठाउँ छ।

बीमा कम्पनीलाई व्यवसायको स्वार्थ र बिमा अभिकर्तालाई कमिसन र इन्सेन्टिभको स्वार्थले यस्ता घटनालाई प्रोत्साहन गरेको देखिन्छ । यस्ता प्रकारका बीमा हुनलाई बीमा समितिको पछिल्लो 'कदम' पनि जिम्मेवार देखिन्छ। 

कुन बीमा कम्पनीले कति बीमालेख बिक्री गर्यो र कसले कति ठूलो भोल्युममा व्यवसाय गर्यो भन्ने प्रतिस्पर्धालाई बीमा समितिले महिना महिनामा सार्वजनिक गर्ने बीमा कम्पनीको व्यवसायले यस्ता घटना घट्न थप प्रोत्साहित गरेको देखिन्छ। 

बीमा कम्पनीलाई जसरी पनि बीमा गराएर धेरै कारोबार गरेको देखाउनुपर्ने, अभिकर्तालाई २५ प्रतिशत कमिसन र १८ प्रतिशत लिगल इन्सेन्टिभ लिनुपर्ने अनि कम्पनीका संचालक तथा सेयरधनीलाई डबल डिजिटमा ठुलो अंकको लाभांश पुग्नुपर्ने जस्ता स्वार्थकै कारण बीमा कम्पनी व्यवस्थापनमा ठूलो दबाब बढ्ने गरेको हो । 

त्यही कारण पनि पछिल्लो समय बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ र यसले यस्तै घटनाहरु जन्माउन प्रोत्साहन गरेको चर्चा बीमा क्षेत्रमा चलेको छ । 

एक तथ्यांकअनुसार बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धाकै कारण गत आर्थिक वर्ष कूल ३८ अर्ब रुपैयाँ बराबरको जीवन बीमा हुँदा १२ अर्ब रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएका छन्। सरेन्डर पछाडिका कारण खोज्ने हो भने विमा क्षेत्रमा सुधारको धेरै खाँचो देखिन्छ। यी लगायत बीमा क्षेत्रका धेरै बेतिथीहरु बेलैमा समाधान र निराकरण नभए रिलायन्स लाइफमा भएको यो घटना फरक स्वरुपमा अन्य जीवन बीमा कम्पनीमा पनि नदोहोरिएला भन्न नसकिने अवस्था छ ।


बीमा गरिएको अढाई करोडको लोभमा बिमितको हत्या, पुनर्बीमालाई शंका लागेपछि खुल्यो पोल

अढाई करोड जीवन बीमाको लोभमा आफ्नै कर्मचारीको हत्या, मुख्य योजनाकार सहित ६ पक्राउ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved